बागमतीमा रिक्त राष्ट्रियसभा दुईजना सदस्यको लागि आज मतदान हुँदै

साझाकुरा
२०८२ माघ १२, आईतवार १३:३३

हेटौंडा- बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा दुई सदस्य पदको लागि आज हेटौंडामा निर्वाचन हुँदैछ ।राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा महिला तर्फ १ र अन्यतर्फ १ गरी दुई पदका लागि निर्वाचन हुँदैछ । भुटनदेवी माविमा ‘क’ केन्द्रमा बागमती प्रदेशसभा सदस्यले र ‘ख’ केन्द्रमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने व्यवस्था मिलाइएको छ । निर्वाचन आयोगले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकेको छ । दुवै केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायत ८–८ जना गरी १६ जना कर्मचारी खटाइएको सहायक निर्वाचन अधिकृत केशव कौशिकले जानकारी दिए । निर्वाचनमा खटिने कर्मचारीलाई निर्वाचन प्रक्रियासम्बन्धी जानकारी दिन नमूना मतदान गराइएको उनले बताए ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार राष्ट्रियसभा निर्वाचनको लागि बागमती प्रदेशमा कुल ३ सय ३८ मतदाता रहेका छन् । प्रदेशसभाका १ सय १० सदस्यमध्ये हाल १ सय ४ जना कायम छन् । ६ जनाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन राजीनामा दिएका थिए । यस्तै स्थानीय तहतर्फ ३ जना पालिका प्रमुखले पनि राजीनामा दिएका कारण मतदाता संख्या घटेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले बताएका छन् । मतदान सकिएसँगै मतगणना पनि आजै गरेर नतिजा सार्वजनिक हुने उनले बताए ।

स्थानीय तहतर्फ काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह, भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल र धुलिखेल नगरपालिका प्रमुख अशोक बेन्जुले राजीनामा दिई प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । प्रदेशसभातर्फ नेकपा एमालेका अमन मास्के र प्रकाश श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल र बसन्तप्रसाद मानन्धर, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुनिल केसी तथा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले राजीनामा दिएको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ ।

राजीनामा दिएकामध्ये कांग्रेसका काफ्लेले टिकट पाएका छैनन् भने अन्य प्रदेशसभा सदस्यहरु प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन् । स्थानीय तहका प्रमुख र उपप्रमुखतर्फ १ सय १९ पालिकाका २ सय ३८ मध्ये नागार्जुन नगरपालिकाका मेयर निलम्बनमा रहेका र ३ जनाले राजीनामा दिएका कारण २ सय ३४ मतदाता कायम रहेका छन् । प्रदेशसभातर्फ ५३ मतभारसहित ५ हजार ५ सय १२ र स्थानीय तहबाट १९ मतभारसहित ४ हजार ४ सय ४६ गरी कुल ९ हजार ९ सय ५८ मत रहेको प्रमुख ढकालले जानकारी दिए ।

निर्वाचनमा महिलातर्फ १ पदका लागि ३ जना र अन्यतर्फ १ पदका लागि ३ जना गरी कुल ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेपाल मजदुर किसान पार्टीबाट कविता महर्जन र विक्रम ढुकुछु, एमाले–कांग्रेस गठबन्धनबाट एमालेका प्रेमप्रसाद दंगाल र नेपाली कांग्रेसकी गीता देवकोटा उम्मेदवार छन् । यस्तै नेकपाबाट प्रेमप्रसाद सापकोटा र सरोजकुमारी झा उम्मेदवार छन् । हाल बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य रहेका तत्कालीन नेकपा (माओवादी केन्द्र) की गंगाकुमारी बेलवासे र तत्कालीन नेकपा (समाजवादी) का बेदुराम भुषालको पदावधि फागुन महिनामा सकिँदैछ । राष्ट्रियसभा चुनावमा नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेको छ भने बाँकी दलहरु एक्लाएक्लै चुनावी प्रतिस्पर्धा छन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक २ वर्षमा एकतिहाइ सदस्यको पदावधि सकिने र उनीहरुको ठाउँमा नयाँ चयन हुने व्यवस्था छ । सोही क्रममा अहिले राष्ट्रियसभाका १९ सदस्य पदरिक्त हुन लागेकोहो । तीमध्ये १८ जना निर्वाचनका माध्यमबाट राष्ट्रियसभा सदस्य भएका हुन् भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका हुन् । सोही अनुसार रिक्तहुने पदमा पूर्तिका लागि १८ जना निर्वाचनका माध्यमबाट र एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

२०७२ सालमा जारी नेपालको संविधानले प्रतिनिधिसभा र राष्ट्रियसभालाई संघीय व्यवस्थापिकाको व्यवस्था गरी यसलाई संघीय संसद्को रुपमा नामकरण गरेको छ । राष्ट्रियसभाका सदस्यको पदावधि ६ वर्षको हुने संविधानमै उल्लेख गरिएको छ । राष्ट्रियसभाका एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुईवर्षमा समाप्त हुने संवैधानिक व्यवस्था रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*