सानाकिसानको जीवनस्तर उकास्न पशुउपहार कार्यक्रम ल्याउँछौं: मन्त्री पौडेल
हेटौंडा- बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले साना किसानको जीवनस्तर उकास्न प्रदेश सरकारले थप पशुउपहार कार्यक्रम ल्याउने घोषणा गरेका छन् । राष्ट्रिय कृषक समूह महासंघ नेपाल, बागमती प्रदेश कार्यसमितिद्वारा मकवानपुरको भीमफेदीमा आयोजित किसान चौतारी एवं प्रथम प्रदेश परिषद भेलालाई सम्बोधन गर्दै उनले सानाकिसानलाई व्यावसायिक बनाउन सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री पौडेलले अबको बजेट तथा कार्यक्रममा सानाकिसानलाई प्रत्यक्ष लाभ हुने गरी योजना समेटिने जानकारी दिए ।
एउटा गाई पालेका किसानलाई थप दुईवटा गाई किनिदिने र एउटा भैंसी पाल्नेलाई अर्को भैंसी थपिदिने गरी हामीले कार्यक्रम ल्याउन खोजेका छौँ, मन्त्री पौडेलले भने, निर्वाहमुखी खेती गरिरहेका सानाकिसानलाई व्यावसायिकता तर्फ डो¥याउनु नै हाम्रो मुख्य लक्ष्य हो ।प्रदेश सरकारले किसानको वर्गीकरण नहुँदा वास्तविक अनुदान वितरणमा समस्या भोगिरहेको स्वीकार गर्दै मन्त्री पौडेलले छिट्टै वर्गीकरण प्रक्रिया टुंग्याउने प्रतिबद्धता जनाए । वैदेशिक रोजगारीमा जाने युवालाई रोक्न बागमती प्रदेश सरकारले विशेष प्रोत्साहन कार्यक्रम ल्याएको उनले बताए । डिप्लोमासम्म अध्ययन गरेका युवा व्यावसायिक कृषिमा लागेमा प्रदेश सरकारले ८ देखि १० लाख रुपैयाँसम्म प्रोत्साहन अनुदान दिइरहेको जानकारी गराउँदै उनले युवालाई स्वदेशमै उद्यमी बन्न आह्वान गरे ।
‘नयाँपुस्ताको आकर्षण विदेशमात्र हुनु दुःखद हो । कृषि प्राविधिक शिक्षा पढेर व्यावसायिक कर्ममा लाग्ने युवालाई सरकारले ठुलो राशिको अनुदानमार्फत सहयोग गरिरहेको छ’ मन्त्री पौडेलले थपे । महासंघका प्रदेश अध्यक्ष विजय लामाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा सानाकिसानका समस्या, कृषिप्रविधिमा पहुँच र आगामी नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयमा छलफल भएको थियो ।







