लेखपानीको स्कुललाई किवानिजको ३५ बोरा चामल

साझाकुरा
२०८२ माघ १२, आईतवार १३:५१

हेटौंडा- हेटौंडा–१९ लेखपानीमा रहेको जीवनज्योति आधारभूत विद्यालयका विद्यार्थीका लागि किवानिज क्लव अफ हेटौंडाले खाद्यान्न प्रदान गरेको छ । विद्यालय परिसरमा भएको कार्यक्रममा क्लवले ३९ जना विद्यार्थीलाई खाजाका लागि ३५ बोरा चामल हस्तान्तरण गरेको हो । विद्यालयमा धेरै बालबालिका भोकभोकै विद्यालय आउने, घरमा खाना अभावको कारण पढ्न नजाने गरेको अवस्था देखेपछि समाजसेवी कमलचन्द्र सुमन र हिमा बिडारीले क्लवमा सम्पर्क गरेपछि आवश्यकता महसुस गर्दै क्लवले सहयोग गरेको जनाइएको छ । कार्यक्रममा किवानिज क्लव अफ हेटौंडाका अध्यक्ष रत्नदेव बज्राचार्यले हेटौंडा उपमहानगरपालिकाभित्रै यति दयनीय अवस्था रहेको भन्दै दुःख व्यक्त गरे । मानवीय समवेदनाका कारण आवश्यक परेको खण्डमा क्लवले आगामी दिनमा पनि सहयोग गर्ने बताए ।

किवानिज क्लवका अध्यक्ष बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष कालिबहादुर घलान, प्रधानाध्यापक कुमारसिंह गोले, विद्यालय ब्यवस्थापन समितिका सदस्य भीमलाल गोले, किवानिज क्लवका निवर्तमान अध्यक्ष गंगाप्रसाद पौडेल, सचिव श्रृजनराज बज्राचार्य, प्रथम महिला निजिला शाक्य, समाजसेवी कमलचन्द्र सुमन, हिमा बिडारी लगायतको उपस्थिति थियो । विद्यालयका प्रधानाध्यापक गोलेले दाताहरुको सहयोग आउन थालेपछि विद्यालयमा उल्लेख्य सुधार आएको बताए ।

विद्यार्थीको नियमितता बढेको र पढाइप्रतिको आकर्षण बढेको उनले बताए । क्लवका संस्थापक अध्यक्ष ज्योतिरत्न बज्राचार्य र हेटौंडा मोडल अस्पतालका सञ्चालक डा. वसन्तमान श्रेष्ठले खाद्यान्न सौजन्य गरेका थिए । किवानिज क्लव अफ हेटौंडा सन् २०२१ मा स्थापना भएको हो । किवानिज इन्टरनेशनल सन् १९१५ मा अमेरिकामा स्थापना भएको संस्था हो । बालबालिकाको क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापना भएको यो संस्था हाल नेपालका ६५ भन्दा बढी जिल्लामा विभिन्न क्लवमार्फत बालबालिकाको शिक्षा, स्वास्थ्य, नेतृत्व विकास, खेलकुद र वातावरणको क्षेत्रमा सक्रिय रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*