मकवानपुरमा ८ उम्मेदवारले आफैंलाई मतदान गर्न नपाउने

साझाकुरा
२०८२ माघ १३, सोमबार १२:४३

हेटौंडा- प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मकवानपुरका दुई क्षेत्रमा ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तर, आठजना उम्मेदवारले भने आफैंलाई मतदान गर्न नपाउने भएका छन् ।निर्वाचन आयोगले आसन्न निर्वाचनमा अन्तरजिल्ला मतदानको व्यवस्था गरेको छैन । जसले गर्दा एउटा निर्वाचन क्षेत्रमा मतदाता नामावली रहेका उम्मेदवारले अर्को क्षेत्रमा उम्मेदवारी दिँदा मतदान गर्न नपाउने भएका हुन् ।मकवानपुरमा मतदान गर्न नपाउनेमा सानादेखि ठूला दलका उम्मेदवार छन् । नेपाली कांग्रेसबाट मकवानपुर–१ को उम्मेदवार बनेकी महालक्ष्मी उपाध्याय ‘डीना’ मकवानपुर–२ की मतदाता हुन् । मकवानपुरको भीमफेदी गाउँपालिका–७, शान्तिपथ स्थायी ठेगाना भएकी उपाध्यायले आफूलाई मतदान गर्न पाउँदिनन् ।

अघिल्लो पटक २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनी यसै क्षेत्रबाट उम्मेदवार बनेकी थिइन् । यसअघि चारपटक प्रत्यक्षतर्फ उम्मेदवार बनेकी उपाध्याय पराजित भएकी थिइन् भने दुईपटक समानुपातिकतर्फबाट सांसद बनेकी थिइन् । उनी नेपाली कांग्रेसको निवर्तमान सहमहामन्त्री हुन् । त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार रामेश्वर रानाले पनि आफैंलाई मतदान गर्न पाउँदैनन् । मकवानपुर–१ बाट उम्मेदवार बनेका रानाको स्थायी ठेगाना हेटौंडा उपमहानगरपालिका–११ हो । यो वडा मकवानपुर–२ मा पर्छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि रानाको टिकट खोसिएको थियो । एमालेले राप्रपा नेपालसँग तालमेल गरेपछि कमल थापाले एमालेकै चुनाव चिन्हमा उम्मेदवारी दिएका थिए ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार तेजप्रसाद उप्रेती (रमेश) ले पनि आफैंलाई मतदान गर्न नपाउने भएका छन् । हेटौंडा उपमहानगरपालिका–१९ स्थायी ठेगाना भएका उप्रेती मकवानपुर–२ का मतदाता हुन् । उनी मकवानपुर–१ बाट उम्मेदवार बनेका छन् । यसैगरी, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट मकवानपुर–१ मा उम्मेदवार बनेकी विद्या श्रेष्ठले पनि आफैंलाई मतदान गर्न नपाउने भएकी छन् । काठमाडौं महानगरपालिका–२१ माकगल्लीकी श्रेष्ठ काठमाडौँ क्षेत्र नं. ९ की मतदाता हुन् ।
श्रम संस्कृति पार्टीबाटै मकवानपुर–२ को उम्मेदवार बनेका युनेश लामा स्याङ्तानले पनि आफैंलाई मतदान गर्न पाउँदैनन् ।

हेटौंडा–१२ ठेगाना भएका स्याङ्तानमकवानपुर–१ का मतदाता हुन् । नेपाल मजदूर किसान पार्टी (नेमकिपा) बाट मकवानपुर–१ मा उम्मेदवारी दिएकी रञ्जना सुवालले पनि आफैंलाई मतदान गर्न नपाउने भएकी छन् । भक्तपुर–१० की सुवाल भक्तपुर–१ की मतदाता हुन् । नेमकिपाबाटै मकवानपुर–२ का उम्मेदवार बनेका सरोज तामाङले पनि आफैंलाई मतदान गर्न पाउँदैनन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का तामाङ पनि भक्तपुर–१ कै मतदाता हुन् ।

यस्तै, मकवानपुर–२ मा उम्मेदवारी दर्ता गराएका जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार छविलाल वाइबाले पनि आफैंलाई मतदाना गर्न नपाउने भएका छन् । हेटौंडा–१२ का बासिन्दा वाइबा मकवानपुर–१ का मतदाता हुन् । बागमती प्रदेश निर्वाचन कार्यालय, हेटौंडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार उम्मेदवारी दर्ता गर्ने उम्मेदवारको ठेगाना मतदाता नामावलीमा दर्ता भएको ठेगानालाई नै उल्लेख गरिएको छ । उनका अनुसार नामावलीमा दर्ता भएको ठेगाना अनुसार नै मतदान गर्न पाउने व्यवस्था निर्वाचन आयोगले गरेको छ ।

प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा ३८ को उपदफा १ मा कुनै गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावली नाम दर्ता भएका मतदाताले सोही गाउँपालिका वा नगरपालिकाको सोही वडाको निजलाई तोकिएको मतदान केन्द्रमा मतदान गर्नुपर्ने उल्लेख गरिएको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नम्बर १ मा बागमती गाउँपालिका, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिकाको वडा नं. १, २, ३ र ४ तथा हेटौंडा उपमहानगरपालिकाको वडा नंं. २, ४ देखि १० र १२ देखि १९ नम्बर वडा पर्छन् । मकवानपुर–२ मा राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिकाको वडा नं. ५, ६, ७ र ८ तथा हेटौंडा उपमहानगरपालिकाको वडा नं. १, ३, ११ र १९ पर्छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*