‘हरित जिल्लामा वातावरणमैत्री तरिकाले चुनावी प्रचारप्रसार गरौँ’
हेटौंडा- फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको चुनावलाई लक्षित गर्दै सोमबार हेटौंडामा निर्वाचनको तयारी र निर्वाचन आचारसंहिता कार्यान्वयन विषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।मुख्य निर्वाचन अधिकृत एवम् निर्वाचन अधिकृत कार्यालयको आयोजनामा भएको अन्तरक्रियामा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, क्षेत्र नं. १ र २ का उम्मेदवार, सञ्चारकर्मीलगायत विभिन्न सरोकारवाला व्यक्तिको उपस्थिति रहेको थियो । अन्तरक्रियामा बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठनले पालना गर्नुपर्ने आचारसंहिताको विषयमा प्रस्तुतीकरण राखेका थिए ।
दलहरुले एउटै समयमा एकै ठाउँमा कार्यक्रम गर्न नहुने, अरुको कार्यक्रममा बाधा पु¥याउन नहुने, तोकिएको समयसीमाभित्र गर्नुपर्ने, प्रशासनलाई २४ घण्टा अगावै जानकारी गराउनुपर्ने लगायतको विषयमा उनकोे प्रस्तुतिकरणमा उल्लेख गरिएको छ । ढकालका अनुसार निर्वाचनको समयमा सरकार र सार्वजनिक संस्थाका सवारीसाधन कुनैपनि उम्मेदवारको पक्षमा प्रयोग गर्न पाइँदैन । प्रयोग गरेको पाइए सवारीसाधन समेत जफत गरी १ लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी समेत खारेज हुने उनले बताए ।
त्यसैगरी उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा कम्तिमा एक घण्टाको अन्तरालमा चौबीस घण्टामा बढीमा चारपटक र एकपटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्ने, पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७÷७ इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सक्ने व्यवस्था गरिएको छ ।
निर्वाचन पर्यवेक्षणले प्रचलित कानून, आचारसंहिता उल्लंघन गरेमा, कुनै उम्मेदवार वा राजनीतिक दलप्रति झुकाव देखिने व्यवहार प्रस्तुत गरेमा आयोगले त्यस्तो संस्थाको अनुमतिपत्र खारेज गर्नसक्ने, सरकारी कर्मचारी, पदाधिकारी, प्राध्यापक, शिक्षक आदिलाई पर्यवेक्षकको रुपमा खटाउन नहुने व्यवस्था आचारसंहितामा गरिएको प्रमुख ढकालले बताए ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले आचारसंहितालाई पालना गराउन आयोग देखि प्रशासन कठोर ढंगले अघि बढ्नुपर्ने बताएका छन् । प्रमुख राजनीतिक दल र अन्य दलहरुबीच विभेदपूर्ण व्यवहार नहोस् भन्ने तर्फ पनि सचेत रहनुपर्ने उनीहरुको धारणा छ । राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहिताको पालनामा आफ्नो दल पूर्ण रुपमा प्रतिबद्ध रहेको बताए ।
‘आचारसंहिता विशुद्धरुपले उम्मेदवारको नैतिकतास“ग जोडिएको विषय’
निर्वाचनअधिकृत देवेन्द्र आचार्यले निर्वाचन आचारसंहिता उम्मेदवारको नैतिकतासँग सम्बन्धित रहेको बताए । आचारसंहितालाई दण्डात्मक भन्दा पनि सुधारात्मक पक्षको रुपमा बुझ्न उनले आग्रह गरे । उनले विगतको निर्वाचनहरु भन्दा यही धेरै सुधार हुँदै गएको बताए ।त्यसैगरी प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले आचारसंहिता कार्यान्वयनको सवालमा दलहरु जिम्मेवार बन्दै गएको बताएका छन् । हरित नगरी हेटौंडामा हरित आचारसंहिताको दलहरुले पूर्णकार्यान्वयनमा गर्नेमा पनि आपूm विश्वस्त रहेको उनले बताए । प्रजिअ अधिकारीले सरकारी सवारी साधन उम्मेदवारले प्रयोग गरेको पाइए प्रशासन कडा रुपमा प्रस्तुत हुने उल्लेख गरेका छन् ।
निर्वाचनको समयमा हुनसक्ने सम्भावित घटनादेखि काल्पनिक घटनाको विषयमा प्रशासनले दिनँहु जस्तो छलफल गरिरहेको उनले बताए । प्रजिअ अधिकारीले मकवानपुरमा भयरहित र निष्पक्ष ढंगले चुनाव सम्पन्न हुने बताउँदै सुरक्षाको दृष्टिकोणले प्रशासन पूर्णरुपमा सर्तक रहेको बताए । अन्तरक्रियामा मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले निर्वाचन आचारसंहिता विशुद्धरुपले उम्मेदवारको नैतिकता, आचरण र व्यवहारसँग सम्बन्धित विषय भएको बताइन् । हरित जिल्लामा वातावरणमैत्री तरिकाले चुनावी प्रचारप्रसार गर्न उनले आग्रह गरिन् ।
जात, धर्म, समुदायको नाममा द्वेषपूर्ण अपमानजनक व्यवहार गर्न नहुने उनको भनाई छ । मुख्य निवार्चन अधिकृत श्रेष्ठले विषम परिस्थितिमा हुन लागेको चुनावमा आचारसंहिताको विगतको तुलनामा व्यवस्थित तरिकाले परिपालना हुनेमा आफू विश्वस्त रहेको बताइन् । भ्रामक र मिथ्या प्रचारलाई रोक्नले सबैले आआफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने उनले जोड दिइन् । अधिकृत श्रेष्ठले आचारसंहितालाई धर्म सम्झेर पालना गर्न उम्मेदवारलाई आग्रह गरिन् । कानुनको दायरामा आएर जवाफ दिनुपर्ने गरी चुनावी प्रचारप्रसारको गतिविधि नगर्न पनि उनले अनुरोध गरिन् ।
निर्वाचनको समयमा आर्थिकक्षेत्रको अनुगमन गर्ने जिम्मेवारी प्रदेश कोष तथा लेखानियन्त्रक कार्यालय र व्यवहारगत् आचारणको अनुगमन सहायक प्रमुख जिल्ला अधिकारीले गर्ने उनले जानकारी दिइन् । २ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ४४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन क्षेत्र नम्बर १ बाट १३ राजनीतिक दलका उम्मेदवार र १० जना स्वतन्त्र गरी कुल २३ जनाको उम्मेदवारी परेको थियो भने निर्वाचन क्षेत्र नम्बर २ बाट १६ राजनीतिक दलका उम्मेदवार र ५ जना स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।







