हेटौंडा–काठमाडौं कान्ति लोकपथ सातदशकमा पनि सम्पन्न हुन सकेन
हेटौंडा- संघीय राजधानी काठमाडौँ र बागमती प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो सडककारुपमा रहेको कान्ति लोकपथको निर्माण सात दशकमा पनि सम्पन्न हुन सकेन । नेपालमा विकासको मोडल हेर्न टाढा जानुपर्ने अवस्था छैन । तत्कालीन राजा महेन्द्रले २०१६ सालमा आफैंले जीप हाँकेर काठमाडौंबाट हेटौंडा आएको यस लोकपथको निर्माण काठमाडौँ–वीरगन्ज जोड्ने त्रिभुवन राजपथको विकल्पकारुपमा २०१३ सालबाट सुरु भएको थियो । यो लोकपथलाई काठमाडौं–हेटौंडा जोड्ने छोटो दुरीको वैकल्पिक मार्ग मानिन्छ । करिव ९० किलोमिटर लम्बाइ रहेको मुलुककै पुराना सडक आयोजनामध्येको यो लोकपथको निर्माण सात दशकमा ७५ प्रतिशत सम्पन्न भएको छ । नेपाली सेनाले २०१३ सालदेखि २०१६ सम्म यसको ट्रयाक खोली निर्माण सुरु गरेको थियो ।
निर्माण सुरु भएदेखिहरेक वर्ष एक किलोमिटरका दरले पनि काम सम्पन्न गरेको भए अहिलेसम्म यो लोकपथको काम सम्पन्न भइसक्थ्यो तर, यो सडक आयोजनाले मुलुकको पूर्वाधार विकासको गतिलाई गिज्याइरहेको छ । यो लोकपथको निर्माण सुरु भएका बेला जन्मेका बच्चा अहिले वृद्ध भइसकेका छन् तर, यसको निर्माण सम्पन्न हुन सकेको छैन । कान्ति लोकपथ आयोजनाका इन्जिनियर राजन पाण्डेले आयोजनाको तीनतिहाइ काम सम्पन्न भइसकेको बताए । बजेटको अभाव तथा प्राकृतिक कारणले यो आयोजनाको काम सम्पन्न हुनमा ढिलाइ भएको बताउँदै आगामी आर्थिक वर्ष (२०८३÷८४) सम्म आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी दिए ।
पाण्डेका अनुसार कुल ९० किलोमिटर लम्बाइ रहेको यो लोकपथको अब चार किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी छ । कालोपत्रे गर्न बाँकी रहेको ठाउँमा अहिले एक लेनको मात्र सडक छ । चट्टान काटेर त्यहाँ दुई लेनमास्तरोन्नति गर्नुपर्छ । त्यही भएर दुरी कम भएपनि भौगोलिक कठिनाइका कारण काम सम्पन्न गर्न समय लाग्ने देखिएको छ । ‘यो लोकपथको सडक सीमा निर्धारण नगरिएकाले सडक सीमाभित्र घर÷टहरा, रुखबिरुवा, बिजुलीका खम्बा, खानेपानी, ढलका पाइपलगायत ‘युटिलिटी’ का सामग्री रहनुका साथै लोकपथको निर्धारित क्षेत्रभित्र नै ढुंगा, बालुवालगायतको उत्खननको समस्या छ’ उनले बताए ।
यो आयोजनाअन्तर्गत बागमतीमा पुल निर्माण भइरहेको इन्जिनियर पाण्डेले जानकारी दिए । उनका अनुसार दुई लेनको यो पुल ९० मिटर लामो हुने गरी डिजाइन गरिएको छ । १८ करोड रुपैयाँको लागतमा पुलको निर्माण भइरहेको हो । पुलको ‘पाइलिङ’ को काम सुरु भइसकेको छ । ठेक्का सम्झौता अनुसार पुलको निर्माणअवधि चालु आर्थिक वर्ष (२०८२÷८३) को असार मसान्तसम्म रहेपनि यो अवधिभित्र काम सम्पन्न हुन नसक्ने उनले स्पष्ट पारे । काठमाडौँतिरबाट यो लोकपथको शून्य किलोमिटर ललितपुरको टीकाभैरव रहेको छ भने हेटौंडातिरिबाट यसको शून्य किलोमिटर हेटौंडाको बुद्धचोक रहेको छ ।
टीकाभैरवदेखि बुद्धचोकसम्म कुल ७९ किलोमिटर लम्बाइ छ । सामान्य अवस्थामा यो सडकको चौडाइ दुई लेनको रहेपनि भौगोलिकरुपले साँघुरो भएको ठाउँमा यसको चौडाइ ‘इन्टरमिडियट साइज’ को अर्थात् ‘डबल लेन’ र ‘सि·ल लेन’ को बीचमा छ । हेटौंडाको बुद्धचोकदेखि मकवानपुरगढीसम्मको दुरी १६ किलोमिटर, मकवानपुरगढीदेखि बगुवासम्मको दुरी ३५ किलोमिटर र बगुवादेखि टीकाभैरवसम्मको दुरी २८ किलोमिटर छ । बुद्धचोकदेखि टीकाभैरवसम्मको सडक कान्ति लोकपथ सडक योजनाले हेर्ने गर्दछ भने टीकाभैरवदेखि सातदोबाटोसम्मको १० किलोमिटर सडक उपत्यका सडक विस्तार आयोजनाले हेर्ने गर्दछ ।
गत आवदेखि यस सडकको ‘एलाइन्मेन्ट’ परिवर्तन गरी टीकाभैरवदेखि ललितपुरको एकान्तकुना सम्म गरिएको छ । यो सडक ललितपुरमा ३९ किलोमिटर र मकवानपुरमा ४० किलोमिटर पर्छ । आयोजनाका लागि चालु आव (२०८२÷८३) मा ४६ करोड रुपैयाँ विनियोजन गरिएको थियो । अहिलेसम्म आयोजनामा करिब चार अर्ब रुपैयाँ खर्च भइसकेको इन्जिनियर पाण्डेले जानकारी दिए । आयोजनाको लागतअनुमान ६ अर्ब रुपैयाँ रहेकामा अहिले संशोधन गरेर कुल लागत अनुमान ८ अर्ब ८३ करोड रुपैयाँ पु¥याइएको छ ।
२०७६ जेठ ६ गतेको मन्त्रीपरिषद्को बैठकले कान्ति लोकपथलाई रामार्गमा विस्तार गर्ने निर्णय गरेको थियो । राष्ट्रिय राजमार्ग कम्तिमा दुई लेनको हुनुपर्ने राज्यको नीति रहेपनि यो लोकपथमा त्यो लागु हुनसकेको छैन । अन्य राजमार्ग जस्तो यसको सडक सीमा ११ मिटर छैन । यसको सडक सीमा नालीसहित आठदेखि साढे आठ मिटरसम्म मात्र रहेको छ । सन् १९५४ मा राजा महेन्द्रले सडक निर्माण सुरु गरेपछि सुरुमा सडकको नाम टीकाभैरव–हेटौंडा सडक राखिएको थियो तर, सन् १९६२ मा नेपालकी महारानी कान्तिको नामबाट कान्ति राजपथ नामकरण गरिएको हो ।
सन् १९९० को दशकको अन्त्यतिर नेपाल सरकारले यस सडकलाई नेपाल–भारत सीमामा रहेको काठमाडौंदेखि वीरगन्ज जोड्ने त्रिभुवन राजमार्ग (एच०२) को वैकल्पिक राजमार्गकारुपमा मान्यता दिएको थियो । कान्ति लोकपथ निर्माण भए तराईबाट काठमाडौँ प्रवेश गर्ने १३२ किलोमिटर दुरी छोटो हुनेछ । अहिले तराईबाट काठमाडौं प्रवेश गर्ने मुख्य मार्ग हेटौंडा–नारायणगढ–मुग्लिङ–नागढुंगा हो । यसको दुरी २३२ किलोमिटर छ । कान्ति लोकपथ निर्माण पछि ८० किलोमिटरमै हेटौंडाबाट काठमाडौं यात्रा गर्न सकिन्छ, जसले आमयात्रुको समय र सवारीको इन्धन दुवैको बचत गर्छ । त्यसैगरी मुग्लिङ–नारायणगढ–हेटौंडा र १५८ किलोमिटरको त्रिभुवन राजपथको जोखिमपूर्ण यात्राको बाध्यता हट्ने विश्वास गरिएको छ ।







