समय सीमामै योजना सम्पन्न गर्नुपर्नेः अध्यक्ष मुक्तान

साझाकुरा
२०८२ माघ १६, बिहीबार ११:४२

हेटौंडा- कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले समयसीमाभित्रै गाउँपालिकाभित्र सञ्चालित योजना सम्पन्न गर्नुपर्ने बताएका छन् । बुधबार गाउँपालिकाको अर्धवार्षिक समीक्षालाई सम्बोधन गर्दै जेठ मसान्तमा सबै योजना सम्पन्न गरिनुपर्ने निर्देशन दिएका हुन् । गाउँपालिकाले लिएको जुन लक्ष्य छ त्यस लक्ष्यमा पुग्नेगरी कार्यान्वयन गर्न कर्मचारी र वडागत जनप्रतिनिधिलाई आवश्यक समन्वय गर्न उनले आग्रह गरेका छन् । उनले शाखागत कार्यसम्पादन र मूल्याकंन राम्रो छ, वित्तीय सुशासन कायम राख्नु पर्ने भएकाले वडातहदेखि गाउँपालिकासम्म ध्यान दिनुपर्ने बताए ।

वडामा रहेका योजनालाई समयमै कार्य गर्न वडाअध्यक्षलाई समेत आवश्यक समन्वय र सहकार्य गर्न उनले आग्रह गरे । कार्यक्रममा उपाध्यक्ष बालकुमार मल्लले योजना निर्माणकार्यलाई तीव्रता दिनुपर्ने बताउँदै राजस्व संकलनमा पनि ध्यान दिनुपर्ने बताए । योजना कार्यान्वयन गर्न समस्या भए आवश्यक समन्वय र सहकार्य गरिने छ, विगतको भन्दा यसवर्ष खर्च प्रगतिमा कमी आएकोले त्यसतर्फ पनि ध्यान दिनु जरुरी रहेको उनले बताए ।

कार्यक्रममा सम्बन्धित शाखाप्रमुख, वडासचिवले चालु आवको पुस मसान्तसम्म भएका प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । गाउँपालिकाले संघीय सरकारबाट प्राप्त अनुदान निकासा खर्च २८.७२ प्रतिशत गरेको छ भने प्रदेश सरकारबाट प्राप्त अनुदानमा ५.६६ प्रतिशत भएको छ । त्यस्तै, गाउँपालिका तथा वडागत कार्यक्रम र अर्धवार्षिक खर्च प्रगतिमा १०.७८ प्रतिशत भएको छ । क्षेत्रगत बजेट तथा खर्च प्रगति भने २५ दशमलब ४८ प्रतिशत रहेको छ । सबै अनुदान तर्फको खर्च प्रगतिमा चालुतर्फ ३६ दशमलब ७९ प्रतिशत र पुँजीगत तर्फ ८ दशमलब ०२ प्रतिशत रहेका छ । समग्रमा भने २५.४८ प्रतिशत खर्च प्रगति रहेको देखिन्छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, १ नं.का वडाअध्यक्ष तेजबहादुर ब्लोन, २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, ७ का अध्यक्ष उदासकुमार भोलन, ८ का अध्यक्ष आषिश प्रजा, ९ का अध्यक्ष भूवनसिं घलान, १० का अध्यक्ष सूर्यबहादुर ब्लोन, कार्यपालिका सदस्य सुन्तली सुनार र गोरीमाया भुलुनको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*