दलहरुबीच गठबन्धन नहुँदा मतदातालाई आफ्नो रोजाईको नेतृत्व छान्न सहज : विश्लेषक
हेटौंडा- फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार तीव्ररुपमा सक्रिय बनेका छन् । घरदैलो अभियान, प्रत्यक्ष मतदाता भेटघाट तथा फोन गर्ने, सामाजिक सञ्जालमार्फत मतदातासम्म पुग्ने क्रम जारी रहेको छ । यसपटकको निर्वाचनमा अघिल्ला निर्वाचित सांसद र नयाँअनुहारबीच कडा प्रतिस्पर्धा देखिएको छ । प्रतिनिधिसभाअन्तर्गत दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा निर्वाचन क्षेत्र नम्बर १ मा १३ राजनीतिक दलका उम्मेदवार र १० स्वतन्त्र उम्मेदवार गरी कुल २३ जना प्रतिस्पर्धामा छन् । क्षेत्र नम्बर २ मा १६ दल र पाँच स्वतन्त्र उम्मेदवार चुनावीमैदानमा छन् । २०७९ सालको निर्वाचनमा क्षेत्र नम्बर १ बाट राप्रपाका दीपकबहादुर सिंह र क्षेत्र नम्बर २ बाट नेकपा एमालेका महेश वर्तौला निर्वाचित भएका थिए ।
दुवैजना यसपटक पुनः उम्मेदवार बनेका छन् । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा राप्रपाका सिंहसँगै नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डीना’, एमालेका रामेश्वर राना, नेपाली कम्युनिष्ट पाटीका विजय गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतम तथा उज्यालो नेपाल पार्टीकी रक्षा श्रेष्ठ मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् । २०७९ को निर्वाचनमा सिंहले २७ हजार ८१६ मत ल्याएर विजयी भएका थिए भने डीना २५ हजार ४३४ मतसहित दोस्रो स्थानमा थिइन् । पहिलो र दोस्रोबीचको मतान्तरमात्र २ हजार ३८२ थियो । यो क्षेत्रको निर्वाचन इतिहास हेर्दा २०६४ मा माओवादी, २०७० मा कांग्रेस, २०७४ मा एमाले र २०७९ मा राप्रपाले जित हासिल गरेका छन् ।
मतदाताले उम्मेदवारको व्यक्तिगत कार्यसम्पादन, चरित्र र समसामयिक राजनीतिक परिवेशलाई आधार मानेर निर्णय गर्ने प्रवृत्ति देखिएको राजनीतिक विश्लेषक घनश्याम घिमिरेको बुझाई छ । विगतको निर्वाचनलाई हेर्दा यहाँ तटस्थ मतदाता निर्णायक बन्दै आएका छन् । निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका महेश वर्तौला, कांग्रेसका बुद्ध लामा, नेकपाका लवशेर विष्ट र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशान्त उप्रेती मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् । विष्ट स्थानीय तह (थाहानगर) को नेतृत्व गरिसकेका शालिन तथा अनुभवी नेता हुन् । बिष्ट स्व. रुपचन्द्र बिष्टको आदर्शमा चुनावी मैदानमा उत्रिएका हुन् ।
लामा कांग्रेस मकवानपुरका जिल्ला सभापति हुन् । रास्वपाका उप्रेती २५ वर्षका सबैभन्दा कान्छा उम्मेदवार हुन् । २०७९ सालको निर्वाचनमा समानुपातिकतर्फ मकवानपुरमा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको थियो । कांग्रेस दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा थिए । दलहरुले यही तथ्यांकलाई आधार मानेर प्रत्यक्षतर्फको रणनीति तय गरेका छन् । अघिल्ला निर्वाचनमा गठबन्धनको राजनीतिले परिणाम निर्धारणमा ठूलो भूमिका खेलेको थियो । दलहरुले विचार, नीति र जनअपेक्षाभन्दा अंकगणितीय समीकरणका आधारमा गठबन्धन गर्दै आएका थिए ।
तर, यसपटक प्रमुख दलहरु आफ्नै बलमा चुनावीमैदानमा उत्रिएका छन् । यसले मतदातालाई रोजाइको पार्टी, उम्मेदवारको क्षमता, घोषणापत्र, योजना र नेतृत्व क्षमताको आधारमा स्वतन्त्ररुपमा मूल्यांकन गर्ने अवसर दिएको विश्लेषक घिमिरेको बुझाइ छ । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ५८ हजार ४३५ र क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८९९ मतदाता रहेका छन् । प्रतिनिधिसभा निर्वाचन २०७९ पछि मकवानपुरमा १४ हजार ६०१ जना मतदाता थपिएका छन् । सबैभन्दा धेरै मतदाता हेटौंडा उपमहानगरमा ७ हजार १६३ मतदाता थप भएका छन् ।
मनहरी गाउँपालिकामा एक हजार ४६८, थाहा नगरपालिकामा एक हजार ४१५ मतदाता थपिएका छन् भने बकैया गाउँपालिकामा ८१७, बागमती गाउँपालिकामा ८४०, मकवानपुरगढी गाउँपालिकामा ७५४ र भीमफेदी गाउँपालिकामा ६९३ मतदाता थपिएका छन् । इन्द्रसरोवर गाउँपालिकामा ३७३, कैलाश गाउँपालिकामा ३६३ र राक्सिराङ गाउँपालिकामा २३५ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ । मकवानपुरमा कुल १ सय ६७ मतदानस्थल र ३ सय ७४ मतदान केन्द्र तोकिएका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा ६२ मतदानस्थल र १ सय ७८ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नम्बर २ मा १ सय ५ मतदानस्थल र १ सय ९६ मतदान केन्द्र रहेका छन् । कुल १ सय ६७ मतदान स्थलमध्ये १९ वटा अतिसंवेदनशील, ६० वटा संवेदनशील र ८८ वटा सामान्य श्रेणीमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।







