नेपालमा पहिलो पटक सालक सम्मेलन हुँदै

साझाकुरा
२०८२ माघ २१, मंगलवार १०:५१

हेटौंडा- नेपालमा पहिलोपटक सालक सम्मेलन हुने भएको छ । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजनामा यही माघ २६ गते सालक सम्मेलन गर्न लागिएको हो ।डिभिजन वन कार्यालयको संयोजनमा माडीमा सालक सम्मेलन गर्न लागिएको हो । कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार बागमती प्रदेशभित्रका डिभिजन वन कार्यालयका प्रमुख, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय निकुञ्ज, हरेक जिल्लाका सामुदायिक वनका प्रतिनिधि र संरक्षणकर्मीको सक्रियतामा सालक सम्मेलन गर्न लागिएको हो ।

संरक्षित वन्यजन्तु सालकको अहिलेको अवस्था, संरक्षण गर्नुपर्ने कारण, चुनौतीलगायतका विषयमा सम्मेलनमा छलफल गरिने छ । आचार्यका अनुसार संरक्षणमा हातेमालो गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधि, विज्ञसहित २०० भन्दा बढीको सहभागितामा सालक सम्मेलन गर्न लागिएको हो ।सम्मेलनमा सालकको अहिलेको अवस्था, संरक्षणमा देखिएका चुनौती र भावि कार्यदिशाका विषयमा छलफल गरिने छ । छलफलसँगै सालक संरक्षणका लागि ‘माडी घोषणापत्र’ जारी गर्दै सम्मेलन सम्पन्न हुने उनले बताए । सालक किसानको साथी भएकाले पनि यसको संरक्षण अपरिहार्य रहेको उनको भनाइ छ ।

राष्ट्रिय निकुञ्ज ऐन २०२९ ले संरक्षित वन्यजन्तुकारुपमा सालकलाई राखेको र सालक अहिले लोपोन्मुख अवस्थामा पुगेको पाइन्छ । यसको संरक्षणका लागि सबैको हातेमालो आवश्यक रहेको आचार्यले बताए ।बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव केदार बरालले नेपालमा पहिलोपटक सालक सम्मेलन गर्न लागिएको जानकारी दिए । बरालका अनुसार वन्यजन्तु संरक्षण भन्ने बित्तिकै ठूला वन्यजन्तुलाई प्राथमिकता दिइने गरिएको भएपनि साना वन्यजन्तु पनि उत्तिकै महत्वपूर्ण रहेको छ । उनले भने, ‘ठूला वन्यजन्तु संरक्षणमा धेरैको ध्यान जाने भएपनि प्रदेश सरकारले सालकको संरक्षणका लागि नीति तथा कार्यक्रम नै बनाएर काम अघि बढाइएको
छ ।’

आगामी वर्षदेखि नियमितरुपमा सालक संरक्षणका लागि काम गरिने उनले बताए । प्रदेशका सबै डिभिजन वनहरुमा सालक पाइने र यसको संरक्षणले प्रकृतिलाई फाइदा पुग्ने उनको भनाइ छ । केही वर्षपछि सालक हेर्नका लागि बागमती प्रदेश जाउँ भन्ने बनाउनका लागि यो कार्यक्रम महत्वपूर्ण रहेको बरालले बताए । सामुदायिक वन र सालक संरक्षणमा लागेका सबैलाई एकीकृत गर्न यो कार्यक्रम फलदायी हुने बिश्वास लिइएको छ । स्थानीय समुदाय, सामुदायिक वन उपभोक्ता समितिसँग सालकको बासस्थान, खानेकुरा संरक्षणलाई अभियानका रुपमा अघि बढाइने उनले जानकारी दिए । सालक मार्नेलाई निकुञ्ज ऐनअनुसार कारबाही हुने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*