मतपत्र छपाइकार्य तीव्र, ७२ लाख बढी मतपत्र तयार

साझाकुरा
२०८२ माघ २४, शुक्रबार १०:४७

हेटौंडा- आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि मतपत्र छपाइको काम तीव्रगतिमा भइरहेको छ । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा दुवै निर्वाचनप्रणालीका लागि मतपत्र छपाइकार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । बिहिबार प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि मतपत्र छपाइको प्रगतिबारे जानकारी लिएकी थिइन् । उनले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा अवलोकन निरीक्षण गरी मतपत्र छपाइबारे जानकारी लिएकी हुन् । गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त डा. जबरासहित निर्वाचन आयोगका पदाधिकारी पनि साथमा थिए ।

आयोगका अनुसार, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीका लागि पुस २२ गतेदेखि सुरु भएको नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको छ । १० लाख ९८ हजार २०० थान नमुना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको छ । त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि आवश्यक पर्ने दुई करोड आठ लाख ३० हजार थान मतपत्रको छपाइ माघ १३ गते नै सम्पन्न भएको छ । ती मतपत्रको रुजु र प्याकिङ कार्य सकिएर हाल ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ आवश्यक पर्ने दुई करोड तीन लाख २३ हजार मतपत्रमध्ये माघ २२ गते बिहान ८ बजेसम्म ७२ लाख ६० हजार थान छपाइ भइसकेको छ । हालसम्म ५ हजार ८२५ बाकस मतपत्र प्याकिङ भइसकेको आयोगको विवरणमा उल्लेख छ । हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगा र सुनसरी गरी २५ जिल्लाको मतपत्र छपाइ तथा प्याकिङको काम सकिएको छ । माघ २२ गते बिहानसम्म कुल ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइकार्य सम्पन्न भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*