आचारसंहिता उल्लंघनमा आयोग निर्ममः २४ दल र उम्मेदवारद्वारा स्पष्टीकरण पेश
हेटौंडा- निर्वाचन आयोगले आचारसंहिता उल्लंघनका घटनामा नजरअन्दाज नगर्ने स्पष्ट पारेको छ । शुक्रवार नियमित पत्रकार भेटघाटका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले आचारसंहिता पालना गराउन र उल्लंघनकर्तालाई कारबाहीको दायरामा ल्याउन सक्रियता बढाएको बताएका छन् । भट्टराईले पछिल्लो समय जिल्ला तहबाटै उजुरी लिने र फस्र्यौट गर्ने क्रम बढेकाले केन्द्रमा उजुरीको चाप घटेको बताए । आयोगले हालसम्म ३४ वटाराजनीतिक दल र उम्मेदवारलाई स्पष्टीकरण सोधेकोमा २४ वटाबाट जवाफ प्राप्त भइसकेको जानकारी दिएको छ । भट्टराईकाअनुसार प्राप्त जवाफको अध्ययन गरी केन्द्रीय आचारसंहिता अनुगमन समितिले निर्वाचन कसुर तथा सजाय ऐन बमोजिम आवश्यक कारबाहीको निर्णय लिनेछ ।
प्रवक्ता भट्टराईले ६३ राजनीतिक दलका ५७ निर्वाचन चिन्हमा कुल ३ हजार १३५ उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहेको बताए । जसमा महिला उम्मेदवारको संख्या १ हजार ७७२ र पुरुषको संख्या १ हजार ३६३ रहेको छ । समानुपातिकतर्फ पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको आयोगको तथ्यांकले देखाएको छ । आयोगले निर्वाचन प्रक्रियालाई थप व्यवस्थित र सुधार गर्न आफूहरु सधैँ तयार रहेको प्रतिवद्धता जनाउँदै आचारसंहिताको पूर्णपालना गर्न सबै पक्षलाई आग्रह गरेको छ ।
आयोगले उम्मेदवार तथा राजनीतिक दलहरुले निर्वाचन प्रयोजनका लागि शुभेच्छुकबाट स्वेच्छिक सहयोग लिन पाउने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता भट्टराईले प्रचलित कानूनको परिधिभित्र रहेर निर्वाचन प्रचारप्रसारका लागि सहयोग संकलन गर्न बाधा नपर्ने बताएका छन् । प्रवक्ता भट्टराईका अनुसार उम्मेदवार वा दलले कसैलाई पनि निश्चित रकम तोकेर चन्दा माग्न भने पाउने छैनन् । उम्मेदवारले निर्वाचन प्रयोजनका लागि छुट्टै खाता खोल्नुपर्ने प्रावधान रहेको उल्लेख गर्दै प्रवक्ता भट्टराईले यो खातामा संकलित रकम व्यक्तिगत प्रयोजनमा खर्च गर्न नपाइने प्रष्ट पारे ।आयोगले निर्वाचनका लागि आवश्यक मतपत्र छपाई कार्यलाई तिब्रता दिएको छ ।
प्रवक्ता भट्टराईले हालसम्म ८४ लाख ४० हजार थान मतपत्र छपाई भइसकेको जानकारी दिए । छपाई भएका मतपत्रमध्ये ७ हजार १३७ वटा बाकस प्याकिङ भइसकेको आयोगले जनाएको छ । प्रवक्ता भट्टराईका अनुसार हालसम्म ३२ वटा जिल्लाका लागि आवश्यक पर्ने मतपत्रको छपाई र प्याकिङकार्य सम्पन्न भइसकेको छ । आयोगले बाँकी जिल्लाको मतपत्र छपाई र व्यवस्थापनको काम पनि युद्धस्तरमा भइरहेको जनाएको छ ।
आयोगले उच्चपहाडी तथा हिमालीक्षेत्रमा हिमपातले चुनाव प्रभावित हुनसक्ने आशंकाबीच आउँदो फागुन २१ गतेको मौसमले असर नपार्ने देखिएको जनाएको छ । आयोगका प्रवक्ता भट्टराईका अनुसार मौसम विज्ञान विभागले उपलब्ध गराएको मौसमको पूर्वानुमानमा फागुन २०, २१ र २२ गते हिमालीक्षेत्रमा सुक्खा रहनेछ । साथै ३ दिन वर्षाको सम्भावना पनि नदेखिएको रिपोर्ट विभागले दिएको आयोगले जनाएको छ । मौसम प्रतिवेदनअनुसार मतदानलाई मौसमका कारण कुनै समस्या नदेखिएको तर, अप्रत्याशित परिवर्तन भएमा सम्बन्धित निकायबाट आवश्यक पूर्वसूचना आउने आयोगले जनाएको छ ।







