थाहानगर उद्योग वाणिज्य संघको साधारणसभा सम्पन्न
हेटौंडा- थाहानगर उद्योग वाणिज्य संघको १० औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । थाहा नगरपालिकास्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सभाहलमा आयोजित साधारणसभा व्यवसायी, उद्योगी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सहकारी अभियन्ता तथा सरोकारवालाको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको हो । संघका अध्यक्ष पुरुषोत्तम ढकालको सभाध्यक्षता एवम् थाहा नगरप्रमुख विष्णु विष्टको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।
नगरप्रमुख विष्टले उद्योग वाणिज्य संघसँग स्थानीय सरकारको सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे । उनले थाहानगरको आर्थिक समृद्धिका लागि निजीक्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उद्योग, व्यापार, पर्यटन र कृषिको समन्वित विकास मार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउन सकिने धारणा राखेका छन् ।
नगरपालिकाले व्यवसाय मैत्री नीति, आवश्यक पूर्वाधार निर्माण तथा सहजीकरणमा जोड दिने बताउँदै संघसँग सहकार्य गर्दै अघि बढ्ने स्पष्ट पारे । वक्ताहरुले थाहानगरको आर्थिक, सामाजिक तथा व्यावसायिक विकासमा उद्योग वाणिज्य संघले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ सक्रिय, सशक्त र परिणाममुखी कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् । व्यवसायीको हकहित संरक्षण, स्थानीय उत्पादनको प्रवद्र्धन, उद्यमशीलताको विकास र लगानीमैत्री वातावरण निर्माणमा संघले अझ सशक्त पहल गर्नुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा सहभागी वक्ताले संघ र स्थानीय सरकारबीचको सहकार्यले मात्र दिगो विकास सम्भव हुने उल्लेख गर्दै थाहा नगरलाई व्यवसायिक केन्द्रकारुपमा स्थापित गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए । साधारण सभाको औपचारिक सत्रमा संघका महासचिव जर्म श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गतवर्ष संघले सञ्चालन गरेका कार्यक्रम, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत जानकारी गराए । उनले संघले व्यवसायीको समस्या समाधान, विभिन्न सरोकारवाला निकायसँग समन्वय, सीपमूलक तालिम, बजार व्यवस्थापन, कर तथा नीतिगत विषयमा परामर्श जस्ता क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताए ।
त्यसैगरी कोषाध्यक्ष प्रदीप प्रधानले गत आर्थिक वर्षको आयव्यय विवरणसहितको वित्तीय प्रतिवेदन प्रस्तुत गरे । प्रस्तुत प्रतिवेदनमा संघको आर्थिक अवस्था सन्तोषजनक रहेको जानकारी दिँदै पारदर्शिता, अनुशासन र जिम्मेवारीपूर्ण आर्थिक व्यवस्थापनलाई प्राथमिकता दिइएको उल्लेख गरे । सभाले प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मतरुपमा पारित गरेको थियो । सभाध्यक्ष तथा संघका अध्यक्ष ढकालले भावी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघको मूल उद्देश्य स्पष्ट पारे । उनले भने, ‘संस्थाको मूललक्ष्य व्यावसायिकमैत्री वातावरण निर्माण गर्नु, स्थानीय उद्योग तथा व्यापारको संरक्षण, संवद्र्धन र दिगो विकास गर्नु हो ।’
उनले संघको पहिलो प्रतिबद्धता व्यवसायमैत्री वातावरण सुदृढ बनाउने, प्रविधिमैत्री सीप विकास कार्यक्रम सञ्चालन गर्ने, पर्यटन, कृषि र उद्योगको एकीकृत विकासलाई जोड दिने, स्थानीय उत्पादन र लगानी प्रवद्र्धन गर्ने तथा समावेशी उद्यमशीलतालाई प्रोत्साहन गर्ने रहेको बताए । उनले थाहानगरलाई सम्भावनायुक्तक्षेत्रका रुपमा विकास गर्न निजीक्षेत्र र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै बजार व्यवस्थापन, पूर्वाधार विकास, डिजिटल प्रविधिको उपयोग, युवालाई उद्यमशीलतामा आकर्षित गर्ने कार्यक्रम तथा महिला र साना व्यवसायीलाई प्राथमिकतामा राख्ने नीति अवलम्बन गरिने बताए ।
सभामा नेकपा (एमाले) थाहा नगरअध्यक्ष सुरेन्द्रमान प्रधान, नेपाली कांग्रेस थाहा नगरउपसभापति नवराज कार्की, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष तथा थाहानगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कविराज खत्री, नेपाल उद्योग वाणिज्य संघ बागमती प्रदेशका सदस्य जीवनकाजी माकाजु, शिखर बचत तथा ऋण सहकारी संस्था अध्यक्ष मनोज रायमाझी, मकवानपुर उद्योग वाणिज्य संघ उत्तरीक्षेत्र समितिका संस्थापक अध्यक्ष विमलकुमार ढकाललगायत विशिष्ट व्यक्तित्वले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संघका वरिष्ठ उपाध्यक्ष शम्भुसिंह कार्कीले धन्यवाद ज्ञापनका क्रममा कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, विशिष्टअतिथि, वक्ता, सदस्य व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संघलाई अझ सशक्त, प्रभावकारी र सदस्यमैत्री संस्थाकारुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । १० औँ वार्षिक साधारणसभाले संघको विगतको कार्यसम्पादनको समीक्षा गर्दै भविष्यका लागि स्पष्ट नीति, कार्यक्रम र मार्गदर्शन तय गरेको छ । स्थानीय उद्योग, व्यापार तथा उद्यमशीलताको विकासमार्फत थाहानगरको समग्र आर्थिक उन्नतिमा संघले अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।







