प्रज्जवलको ३६ औं अभिभावक भेला

साझाकुरा
२०८२ माघ २६, आईतवार १३:२२

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–६ स्थित सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित प्रज्ज्वलशिक्षा सदन इंग्लिस स्कुलले ३६ औँ अभिभावक दिवस मनाएको छ । हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रकुमार श्रेष्ठको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा विद्यालयको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थी, उत्कृष्ट शिक्षक, उत्कृष्ट अभिभावक तथा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । उत्कृष्ट शिक्षक अस्मिता नेपालीलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष शम्भु थापा, शिक्षक अभिभावक संघका निवर्तमान अध्यक्ष सन्जिता थापा र पूर्वलेखापाल इशा गुरुङलाई सम्मान गरिएको थियो । नियमित शुल्क बुझाउने अभिभावक शर्मिला गौतम र उनीशा पाण्डे तथा बालबालिकालाई ताजा र स्वस्थकर खाजा पठाउने भगवती महत र सुस्मिता बर्तौलालाई सम्मान गरिएको विद्यालयका प्रिन्सिपल गणेशबहादुर श्रेष्ठले जानकारी दिए । नियमितरुपमा बालबालिकाको अवस्था बुझ्ने तथा सफा र सुग्गर बनाएर विद्यालय पठाउने अभिभावकलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीले विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नुका साथै विज्ञानसम्बन्धी प्रयोगात्मक अभ्यास प्रदर्शन गरेका थिए । विद्यालयका प्रिन्सिपल श्रेष्ठले विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय अवस्थाबारे जानकारी दिए । कार्यक्रमका वक्ताले सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित विद्यालयको सामाजिक महत्व उल्लेख गर्दै यस्ता विद्यालयले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए । उनीहरुले गुठीप्रणालीले शिक्षाक्षेत्रमा सामुदायिक सहभागिता बढाएको उल्लेख गर्दै सार्वजनिक उत्तरदायित्व बोकेका विद्यालयको भूमिकालाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए ।

गुठी विद्यालयको संरक्षण, व्यवस्थापन सुधार र गुणस्तरीय शिक्षाको निरन्तरताका लागि स्थानीय तह, अभिभावक, समुदाय र सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको उनीहरुको भनाइ थियो । कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर दाहाल, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मकवानपुरका अध्यक्ष विनोद सुवेदी, रानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष केशव धिताल, सञ्चारकर्मी भीमसेन पौडेल तथा विद्यालय बाल समूहकी अध्यक्ष सलिना मानन्धर लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*