थाहामा निर्वाचन प्रहरीको तालिम

साझाकुरा
२०८२ माघ २७, सोमबार १२:०५

हेटौँडा- आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै थाहा नगरपालिकामा निर्वाचन प्रहरीको तालिम सुरु गरिएको छ ।नेपाल प्रहरीतर्फको इलाका प्रहरी कार्यालय पालुङको आयोजनामा सञ्चालन गरिएको तालिममा २ जना महिला र ३२ जना पुरुष गरी जम्मा ३४ जना निर्वाचन प्रहरी सहभागी छन् ।निर्वाचन प्रहरीमा दरखास्त दिई मुख्यतर्फ उत्तीर्ण उम्मेदवारको नियुक्तिसँगै इलाका प्रहरी कार्यालय मातहतमा परेकाहरूलाई तालिम दिइएको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख रुक्सा बज्राचार्यले जानकारी दिएका छन् । उनका अनुसार तालिममार्फत् निर्वाचन अवधिमा आवश्यक पर्ने सुरक्षा व्यवस्थापन सम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिँदैछ ।

तालिममा शारीरिक व्यायाम, लाठी चलाउने तरिका, निर्वाचन अवधिमा सुरक्षा निकाय र निर्वाचन प्रहरीको काम, कर्तव्य तथा अधिकार, मतदान स्थल र मतदान केन्द्रको संरचना, सम्भावित विपद् जोखिम तथा त्यसबाटबच्ने र बचाउने उपाय, भिड नियन्त्रण र प्राथमिक उपचारसम्बन्धी आधारभूत प्रशिक्षण समावेश गरिएको छ ।जिल्लाभर निर्वाचन प्रहरीका लागि हेटौंडा–४ हुप्राको चौर, भुटनदेवी माध्यमिक विद्यालयको चौर, इलाका प्रहरी कार्यालय पालुङ, फापरबारी, मनहरी, ठिगन, मकवानपुरगढी, हेटौंडा सानो पोखरा र पशुपतिनगरलगायतका स्थानमा तालिम सुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी पुष्कर बोगटीका अनुसार जिल्लाभर दुई हजार एकसय दुई जना निर्वाचन प्रहरीलाई १० दिनसम्म तालिम प्रदान गरिँदैछ । तालिममा निर्वाचन प्रहरीले सुरक्षाकर्मीसँग समन्वय गरेर गर्नुपर्ने कामको प्रकृति, आचारसंहिता तथा अनुशासनसम्बन्धी प्रशिक्षण दिइनेछ । हरेक १ सय जना निर्वाचन प्रहरीलाई दुई जना प्रशिक्षक प्रहरीले तालिम प्रदान गरिरहेका छन् । तालिमपछि निर्वाचन प्रहरीलाई मतदान प्रक्रिया सुरक्षित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रभावकारी रूपमा परिचालन गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*