माडी घोषणापत्र जारी गर्दै सालक सम्मेलन सकियो
माडी-७ बुँदे माडी घोषणापत्र जारी बागमती प्रदेश सरकारको प्रथम सालक सम्मेलन सकिएको छ ।बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजना एवम् डिभिजन वन कार्यालय चितवनको संयोजनमा नेपालमै पहिलोपटक चितवनको माडीमा सालक सम्मेलन भएको हो । सम्मेलनको प्रदेशका वन तथा वातावरण मन्त्री भरत केसीले उद्घाटन गरेका हुन् । उनले सालक संरक्षणलाई वन संरक्षणसँग जोड्नु पर्ने बताए । ‘सालक मानव र वन्यजन्तुबीचको सारथी रहेको छ’ मन्त्री केसीले भने । सालकको आहारा (धमिरा) नष्ट हुँदै गएकोले सालकमैत्री वातावरण बनाउने कार्ययोजना बनाएर अघि बढ्ने उनले बताए । पारिस्थिक प्रणाली सन्तुलित राख्न सबैको सहकार्य आवश्यक भएको मन्त्री केसीको धारणा थियो ।
प्रदेशको निवर्तमान वनमन्त्री कृष्णप्रसाद सिलवालले सालकको पहिलो शत्रु डढेलो भएका कारण वनडढेलो नियन्त्रण गर्नुपर्ने बताए । सालकको तस्करी रोक्न कानुनी कारबाहीलाई सफल कार्यान्वयन तथा प्रभावकारी बनाउनु पर्ने सिलवालले बताए । बागमती प्रदेशका डिभिजन वन कार्यालय प्रमुखहरु, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय निकुञ्ज, सामुदायिक वनका प्रतिनिधि र संरक्षणकर्मीको सहभागितामा सालक सम्मेलन गरिएको हो । सम्मेलनमा संरक्षित वन्यजन्तु सालकको अहिलेको अवस्था, संरक्षण गर्नुपर्ने कारण, चुनौतीलगायतका विषयमा छलफल गरिएको थियो ।
सालक किसानको साथी भएकाले यसको संरक्षण अपरिहार्य रहेको डिभिजन वन कार्यालय चितवन प्रमुख विष्णुप्रसाद आचार्यले जनाकारी दिए । राष्ट्रिय निकुञ्ज ऐन २०२९ ले संरक्षित वन्यजन्तुका रुपमा सालकलाई राखेको र सालक अहिले लोपोन्मुख अवस्थामा पुगेको पाइन्छ । यसको संरक्षणका लागि सबैको हातेमालो आवश्यक रहेको आचार्यको कार्यपत्रमा समाबिष्ट थियो । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव केदार बरालले प्रदेश सरकारले सालकको संरक्षणका लागि नीति तथा कार्यक्रम नै बनाएर काम अघि बढाएको बताए ।
आगामी वर्षदेखि नियमितरुपमा सालक संरक्षणका लागि काम गरिने सचिव बरालले बताए । केही वर्षपछि सालक हेर्नका लागि बागमती प्रदेश जाउँ भन्ने बनाउनका लागि यो कार्यक्रम महत्वपूर्ण रहेको बरालको भनाइ थियो । सामुदायिक वन र सालक संरक्षणमा लागेका सबैलाई एकीकृत गर्न यो कार्यक्रम फलदायी हुने बताइएको छ । स्थानीय समुदाय, सामुदायिक वन उपभोक्ता समितिसँग सालकको बासस्थान, खानेकुरा संरक्षणलाई अभियानकारुपमा अघि बढाइने भएको छ ।
कार्यक्रममा डिभिजन वन चितवनका प्रमुख आचार्य, त्रिवि जीवविज्ञान बिभागका सहप्राध्यापक डा. हरि शर्मा, डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेश चन्द्रबंशीले कार्यपत्र प्रस्तुत गरेका थिए । बागमती प्रदेशको जिल्ला वन, डिभिजन वन, भू तथा जलाधार, सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधि, संचारकर्मी, स्थानीयको सहभागिता रहेको थियो ।
यस्तो छ माडी घोषणापत्रः
१. सालक पाइने वन र संरक्षित क्षेत्रमा संरक्षण तथा वासस्थान व्यवस्थापन, संरक्षण शिक्षा अभिवृद्धिलगायतका कार्य सरोकारवाला निकायको पहलमा कार्यान्वयन गर्ने गराउने ।
२. चोरीशिकार तथा अवैध व्यापार नियन्त्रणका लागि तीनै तहका सरकार, संरक्षण साझेदार संघ संस्थाहरु, स्थानीय समुदायको सहयोगमा सामूहिक पहल गर्ने ।
३. नेपाल सरकारले तर्जुमा गरेको सालक संरक्षण कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्न प्रदेशस्तरीय योजना बनाइ सोको लागि आवश्यक साधनस्रोत जुटाइ लागू गर्ने ।
४. स्थानीय समुदायको सहभागितामा राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय संघसंस्था, विश्वविद्यालय, तीनै तहका सरकारको सहकार्यमा सालक संरक्षणका लागि आवश्यक अध्ययन अनुसन्धान अगाडि बढाउने ।
५. सालक संरक्षणका लागि स्थानीयको सक्रिय सहभागिताागिता र अपनत्व हुने गरी संरक्षण कार्ययोजना निर्माण तथा प्रभावकारी कार्यान्वयन गर्ने ।
६. अन्य सबै प्रदेश तथा राष्ट्रियस्तरमा सालक सम्मेलन गर्न वागमती प्रदेश सरकारमार्फत अनुरोध गर्ने ।
७. सम्मेलनमा मुख्यमन्त्रीज्युको सन्देशमा सालकलाई प्रदेश गौरवको जनावर घोषणा गरी यसको संरक्षणमा नीति कार्यक्रम सहितको उचित बजेट व्यवस्थापनको प्रतिवद्धता जाहेर गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै सोको वैधानिकता प्रदान गर्न आवश्यक पहल गर्ने ।
सालकको परिचयः
सालक लोपोन्मुख वन्यजन्तु हो । यो जनावर प्रायः नेपाल, भारत, चीन लगायतका दक्षिण एसियाली राष्ट्र तथा अफ्रिकाका उष्ण भू–भागमा पाइन्छ ।यसको शरीरमा ठुलाठुला कत्लाले ढाकेको हुन्छ । खबटा मुनि पहेँला जगरजस्ता रौं उम्रेका हुन्छन् । यी रौं कत्लाको बीचबाट बाहिर निस्केको देखिन्छ र रौं धेरै हुँदा सालक सुनौलो पहेँलो रंगको देखिन्छ । यसले पुच्छरको सहायताबात रुखको हाँगामा झुन्डिन सक्छ । समुद्री सतहदेखि करिब दुई हजार मिटरसम्मको उचाइका वनजंगलमा सालक पाइन्छ । अति लजालु, संवेदनशील एवं शान्त वातावरणमा बस्न रुचाउने सालकले मानिसलाई कुनै क्षति गर्दैन । एक बेतमा एउटा मात्र बच्चाको जन्मदर हुन्छ ।
यो जनावरले आफूलाई खतरा महसुश भएमा त्यसबाट जोगिन गुँडुल्किएर भकुण्डो जस्तै डल्लो पर्छ । यसरी जोगिन आफ्ना बलिया मांसपेशीको पकडले एकै ठाउँमा टाँसिएर गुँडुल्किरहन सक्छ । विश्वभर आठ जातिका सालक पाइन्छन् । नेपालमा भने संकटग्रस्त कालो सालक र लोपोन्मुख तामे सालक मात्र पाइन्छन् । तर, पनि धादिङको थाङसिङ बेसी, काभ्रेको बलथली, काठमाडौंको नागार्जुन, रामेछापका केही स्थानमा सेतो सालक पनि पाइने वन्यजन्तुविज्ञ बताउँछन् ।
२ हजार ५ सय मिटर उचाइको सालको जंगलमा भेटिने सालकको दाँत हुँदैन । ६० देखि ७० सेन्टिमिटरसम्म फैलने यस्ले जिब्रोले धमिरा र कमिलाको प्रायः धमिरा र कमिला खान्छ । राति आहार खोज्न निस्कने सालक माटोकै रंगको भएकाले छुट्टयाउन मुस्किल पर्छ ।0लो1प हुनुका कारणः सालकको मासु तथा खपेटा परम्परागत औषधिउपचारमा प्रयोग गर्न मिल्छ भन्ने अन्धविश्वास सालक संरक्षणको एउटा महत्पूर्ण चुनौती हो । यही कारण सालक अवैध चोरीशिकारको उच्च जोखिममा छन् ।
अत्याधिक वन फँडानी, अव्यवस्थित पूर्वाधार विकास र व्यापक कृषि विस्तारको कारणले गर्दा सालकको बासस्थान पनि घट्दैछन् । स्थानीय तहमा संरक्षण शिक्षा कार्यक्रम र जनचेतनाको कमी पनि सालक संरक्षणको महत्पूर्ण चुनौती हो । सालकको यथाशीघ्र संरक्षण नगरे यो प्रजाति विश्वबाट नै लोप हुने अवस्था देखिन्छ ।
सालकको संरक्षण किन गर्ने ?
एउटा वयस्क सालकले प्रतिवर्ष अन्दाजी ७ करोड कमिला तथा धमिरा खाने गर्छँ । यसरी वन तथा कृषिक्षेत्रमा पाइने हानिकारक कीराको सेवन गरी वार्षिकरुपमा सालकले करौडौ रुपैयाँको क्षति रोकथाम गर्न मद्दत गर्छँ । यी कीराबाट वनजङ्गलमा पुग्ने अतुलनीय क्षतिलाई कम गर्दै सालकलेपारिस्थितिकीय प्रणालीलाई चुस्त बनाई वनको प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्दछ । फलस्वरुप प्राकृतिक प्रकोपबाट हुने क्षति न्युनीकरण गर्न मद्दत पनि गर्छ । यसले माटोलाई खन्नेर खुकुलो पार्दछ र माटोको उर्वराशक्ति बढ्न मद्दत गर्छ । यसले खनेका दुलामा अरु जीवले पनि आश्रय लिने हुदा वनको जैविक विविधता बढाउन पनि उल्लेखनीय योगदान गर्छ । यतिमात्र नभई स्थानीय सामूदायले सालकलाइ मुख्य आकर्षण गरी पर्यटन ब्यवस्थापन गर्न सकिन्छ ।







