मकवानपुरमा ग्यासको अभाव भएको उपभोक्ताको गुनासो
हेटौंडा- पछिल्लो समय मकवानपुरमा पनि खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । उपभोक्ताले दैनिक आवश्यकता भन्दा कम मात्र ग्यास पाएको गुनासो गरेका छन् । स्थानीय ग्यास बिक्री गर्ने पसलमा पनि ग्यास पर्याप्त मात्रामा ग्यास नआएको गुनासो गरेका छन् । १५ सिलिन्डर माग गर्दा मात्र ४ सिलिन्डर उपलब्ध भएको उनीहरुले बताएका छन् । यता, ग्यास व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष विनोदमान श्रेष्ठले बजारमा ग्यास हाहाकार नभएको दाबी गरे । बजारमा पर्याप्त ग्यास आएको भएपनि उपभोक्ताले आवश्यकता भन्दा बढी भण्डारण गरेकाले अस्थायी अभाव जस्तो देखिएको उनले बताए । अध्यक्ष श्रेष्ठले अनावश्यक रुपमा ग्यास नथुपार्न उपभोक्तालाई आग्रह गरे ।
ग्यास अभावको डरले उपभोक्ता, होटल रेस्टुरेन्ट व्यवसायीले समेत स्टक राख्न थालेका कारण बजारमा कृत्रिम चाप देखिएको बताइएको छ । आपूर्तिमा समस्या परेमा अथवा ग्यास नपाए कार्यालय समयभित्र आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गरी उजुरी गर्न आयल निगमले अनुरोध गरेको छ । निगमले एलपी ग्यासको आयात र बिक्री वितरण नियमित भइरहेको दाबी गर्दै उपभोक्ताले आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न सुझाएको छ । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुगमन तथा निरीक्षणलाई तीव्रता दिएको छ ।
विभागले उपभोक्तालाई अतिआवश्यक तथा दैनिक उपभोग्य वस्तुका उत्पादक, विक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता र सेवाप्रदायक फर्म एवं प्रतिष्ठानमा निरन्तररुपमा अन्य निकायको सहयोग लिइ संयुक्तः बजार अनुमगन अगाडि बढाइएको उल्लेख गरेको छ । सहजरुपमा उपभोक्तालाई राहत दिन, उपभोग्य वस्तुको कृत्रिम अभाव गराउनेलाई कारबाहीको दायरामा ल्याउन विभागले प्रभावकारीरुपमा अनुमगन गरिरहेको उल्लेख गरेको छ । पछिल्ला दिनमा विशेष गरी खाना पकाउने ग्यासको अभाव देखाएर उपभोक्तालाई दुःख दिने काम भइरहको छ ।
कानुनविपरीतका काम गर्नेलाई विभागले कारबाहीको दायरामा ल्याइएको उल्लेख गरेको छ । विभागले प्रचलित कानुनविपरीतका कुनै पनि क्रियाकलाप भएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने स्मरण गराएको छ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको सहज आपूर्ति भएको दाबी गरिरहेको भएपनि उपभोक्ताले सहजरुपमा पाउन नसकेको गुनासो गरेका छन् । अत्यधिक गुनासो बढेपछि विभागले आवश्यक सक्रियता देखाएको हो ।







