रातो बाँदर पुनः कृषि हानिकारक वन्यजन्तु घोषित
हेटौंडा-सरकारले जंगली रातो बाँदरलाई पुनः कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । वन तथा वातावरण मन्त्रालयले दोस्रोपटक जंगली रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो । बिहीबार राजपत्रमा प्रकाशित सूचनाअनुसार प्रकाशन भएको मितिले एक वर्षसम्मका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको हो । कृषि वन्यजन्तु घोषणा भएसँगै जंगली रातो बाँदरले निजीखेत, खला, बारीमा आई क्षति पु¥याउने अवस्था भए त्यस्तो खेत, खला, बारीका धनीले तोकिएको सर्तका आधारमा विनाअनुमति धपाउन, पक्रन र लखेट्न सक्नेछन् । सोहीक्रममा रातो बाँदरको मृत्यु भएपनि कारबाही हुने छैन । तर, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, संरक्षणक्षेत्र वा राष्ट्रिय वनक्षेत्रमा जंगली बाँदरलाई धपाउन, लखेट्न वा पक्रन पाइँदैन ।
सरकारले यसअघि गतवर्ष माघमा जंगली रातो बाँदरलाई पहिलोपटक कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो । अहिले बालीनालीमा जंगली बँदेल र बाँदरको आक्रमण कृषकका लागि टाउको दुखाइको विषय बनेको छ । वन मन्त्रालयका अनुसार जंगली रातो बाँदरले किसानको खेतबारीमा आई बालीनाली वा जनधन हानि नोक्सानी पु¥याए किसान एक्लै वा सामूहिकरुपमा त्यस्तो बाँदरलाई धपाउन, लखेट्न वा पक्रन सक्नेछन् । रातो बाँदर पक्रिए त्यो बाँदर सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, शिकार आरक्ष वा संरक्षणक्षेत्रको कार्यालय, डिभिजन वन कार्यालय वा मातहत नजिक कार्यालयमा बुझाउनुपर्ने छ ।
बाँदर धपाउने क्रममा म¥यो भने सम्बन्धित वडाका कम्तिमा एकजना प्रतिनिधिसहित स्थानीय पाँच व्यक्तिको रोहबरमा गाड्न पाइने भएको छ । त्यसको जानकारी निकुञ्ज वा वन कार्यालयमा गराउनुपर्ने छ । स्थानीय तहको वडामा समेत त्यसको जानकारी गराउनुपर्ने छ । रातो बाँदर मारिएमा कार्यालयले हरेक दुई दुई महिनामा मन्त्रालयमा विवरण पठाउनुपर्ने छ । राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष वा राष्ट्रिय वनक्षेत्रमा भने जंगली रातो बाँदरलाई धपाउन, लखेट्न र पक्रन पाइँदैन ।







