बालकविरुद्ध हुने यौनहिंसाबारे प्रदेशस्तरीय छलफल
हेटौंडा- ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने नारासहित बालकविरुद्ध हुने यौनहिंसा, विद्यमान कानुनीप्रावधान र रोकथामसम्बन्धी बागमती प्रदेशस्तरीय छलफल बिहीबार हेटौंडामा सम्पन्न भएको छ ।द भोइस अफ चिल्ड्रेन र बालकल्याण समाज मकवानपुरको संयुक्त आयोजनामा एवम् ओके फाउन्डेशन र फ्यामली फर एभरी चिल्ड्रेनको सहयोगमा आयोजित कार्यक्रममा बालअधिकार सुनिश्चितताका लागि बालन्याय प्रवद्र्धनमा बागमती प्रदेशमा भइरहेका प्रयास र विद्यमान चुनौतीबारे छलफल गरिएको थियो । बागमती प्रदेशका मुख्य न्यायाधीवक्ता अप्सरा बस्नेतले बालअधिकार सुनिश्चितताका लागी बालन्याय प्रवद्र्धनमा बागमती प्रदेशमा भइरहेको प्रयास र चुनौती प्रस्तुतीकरण दिएकी थिइन् ।
बालअधिकार समिति बागमती प्रदेशका सदस्य प्रकाश खतिवडाले बागमती प्रदेशमा बालहिंसा, कानुनी अवस्था र बालविवाहसँगै बालगृहको अवस्थाबारे सहजीकरण गरेका थिए । द भोइस अफ चिल्ड्रेनकी सहजकर्ता कृति भट्टराईले बालकविरुद्ध हुने यौनहिंसा रोकथाम तथा आवश्यक कानुन संशोधनका विषयमा सहजीकरण गरिन् । कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।







