‘लुटिएका हतियारको कारण निर्वाचनमा कुनै असर पर्दैन’

निर्वाचनलक्षित सुरक्षा योजना तयार : प्रहरीप्रमुख रेग्मी
साझाकुरा
२०८२ फाल्गुन २, शनिबार १०:०८

हेटौंडा- बागमती प्रदेश प्रहरीप्रमुख प्रहरी नायवमहानिरीक्षक दीपक रेग्मीले आगामी निर्वाचनलाई लक्षित गर्दै आवश्यक सुरक्षा योजना तयार गरिएको बताएका छन् ।शुक्रबार सञ्चारकर्मीसँग आयोजित परिचयात्मक कार्यक्रममा प्रमुख रेग्मीले शान्तिपूर्णरुपमा मतदान सम्पन्न गराउन मतदानस्थलको सुरक्षा, संवेदनशील क्षेत्रको पहिचान तथा आवश्यक जनशक्ति व्यवस्थापनको तयारी भइरहेको जानकारी दिएका छन् । प्रदेशका निर्वाचनस्थलहरु भौगोलिक अवस्था, सुरक्षा संवेदनशीलता, हेभीवेट उम्मेदवारको क्षेत्र लगायतका आधारमा वर्गीकरण गरी सुरक्षा योजना तयार गरिएको उनले बताए । प्रहरीप्रमुख रेग्मीले जेनजी आन्दोलनको क्रममा लुटिएका हतियार र भागेका कैदीका कारण निर्वाचनमा कुनै असर नपर्ने दाबी गरे । लुटिएका अधिकांश हतियार फिर्ता हुनेक्रममै रहेको उनले जानकारी दिए ।

प्रहरीप्रमुख रेग्मीले प्रदेशमा शान्तिसुरक्षा कायम राख्नु प्रहरीको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै नागरिकसँग सहकार्य गरेर अपराध नियन्त्रण र सेवाप्रवाहलाई अझ प्रभावकारी बनाइने बताएका छन् । मकवानपुरमा बढ्दो लागूऔषध नियन्त्रणका लागि नागरिक सहयोग र राजनीतिक प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ थियो । कानून नमान्नेको संख्या बढ्दा प्रहरीको भूमिका कमजोर देखिने उल्लेख गर्दै प्रमुख रेग्मीले लागूऔषधकै कारण धेरै व्यक्ति कैदीबन्दी हुने अवस्था आएको बताए । यसको नियन्त्रणका लागि नागरिक सहयोग, राजनीतिक प्रतिबद्धता र जनचेतना सबै आवश्यक रहेकोमा उनले जोड दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारुमगर, संस्थापक अध्यक्ष प्रताप विष्ट, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी लगायत विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

२ सय ८४ मतदानस्थलमा सञ्चार सेटबाट सम्पर्क नहुने
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले चालु आर्थिक वर्षको हालसम्म सम्पन्न भएका गतिविधि तथा उपलब्धिहरु सार्वजनिक गरेको छ । कार्यालयप्रमुख प्रहरी नायवमहानिरीक्षक (डीआईजी) दीपक रेग्मीले जिम्मेवारी सम्हालेपछि आयोजित परिचयात्मक कार्यक्रममा विवरण सार्वजनिक गरिएको हो । कार्यक्रममा चालु आर्थिक वर्षमा हालसम्म भएका प्रमुखकार्य, प्रदेशको समग्र सुरक्षा अवस्था, अपराध नियन्त्रणका प्रयास, जनशक्ति परिचालनको अवस्था तथा आगामी प्रतिनिधिसभा निर्वाचनको सुरक्षा तयारी लगायतबारे जानकारी गराइएको हो । कार्यालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन (२०८२) का लागि मतदानस्थलको अवस्थाबारे जानकारी गराएको छ । उपत्यकाका तीन जिल्लाबाहेक बागमती प्रदेशका १० जिल्लाभित्र रहेका मतदानस्थलको अवस्था प्रस्तुत गरिएको हो ।

सूचनाअधिकारी नान्तीराज गुरुङका अनुसार बागमती प्रदेशका १० जिल्लामा रहेका १ हजार २ सय ८८ मतदानस्थलमध्ये सञ्चार सेटबाट सम्पर्क नहुने मतदानस्थल २ सय ८४ रहेका छन् । नेपाल टेलिकमको नेटवर्क नटिप्ने १२ मतदानस्थल र एनसेलको नेटवर्क नटिप्ने २ सय ३५ मतदानस्थल रहेका छन् भने दुवै नेटवर्कबाट सम्पर्क हुन सक्ने मतदानस्थल १ हजार २ सय १८ रहेका छन् । दोलखा र रामेछाप जिल्लाका लागि दुई थान स्याटेलाइट फोन आवश्यक रहेको जनाइएको छ । बागमती प्रदेशका ३ सय १५ मतदानस्थलमा मात्रै हेलिप्याड रहेको र ९ सय ७३ मतदानस्थलमा नरहेको जानकारी दिइएको छ । १९ मतदानस्थलमा सडक नपुगेको र सडक संरचना नभएका कारण १३ मतदानस्थलमा कुनै पनिसवारीसाधन जान नसक्ने अवस्था रहेको बताइएको छ । २ सय ८ मतदानस्थलमा साना चारपांग्रे सवारी पुग्ने र १ हजार ६७ मतदानस्थलमा ठूला सवारीसाधन पुग्ने अवस्था रहेको जनाइएको छ । निर्वाचनका लागि नेपाल प्रहरीबाट ९ हजार ३९ र निर्वाचन प्रहरी १६ हजार ४ सय ३५ परिचालित हुने प्रदेश कार्यालयले जनाएको छ ।

सूचनाअधिकारी गुरुङका अनुसार चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा बागमती प्रदेशमा भेला, जुलुस, तालाबन्दी, विरोध ¥याली, मसाल जुलुस, आमसभा तथा कोणसभा गरी २ सय ३७ पटक विभिन्न कार्यक्रम भएका छन् । यस अवधिमा अन्तरजिल्ला सुरक्षा बैठक ३ पटक, जिल्ला सुरक्षा समितिको बैठक २ सय ५८ पटक तथा नेपाल–चीनबीचको अन्तरसुरक्षा समन्वय बैठक २ पटक बसेको जनाइएको छ । शान्तिसुव्यवस्था कायम राख्न आपराधिक क्रियाकलाप नियन्त्रणका लागि १ हजार ५ सय ८४ जना प्रहरी परिचालन गरी १ सय ८४ पटक गस्ती गरिएको कार्यालयले जनाएको छ ।

लागूऔषध नियन्त्रणतर्फ १ सय १७ कठ्ठा १५ धुरमा गरिएको गाँजाखेती र ३३ विगाहा ७ कठ्ठा ३ धुरमा गरिएको अफिमखेती नष्ट गरिएको छ । जसका लागि १ हजार २ सय ४८ जना प्रहरी परिचालित भएका थिए । ट्राफिक कारबाहीतर्फ ३९ हजार ५ सय २८ सवारीसाधन कारबाही गरी ४ करोड ४ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । भन्सारछलि चोरी निकासी पैठारीबाट ८ करोड ३६ लाख रुपैयाँ तथा अवैध नदीजन्यपदार्थ ओसारपसारमा संलग्न २ सय ३४ सवारीसाधन कारबाहीबाट ३२ लाख ३७ हजार ८ सय रुपैयाँ राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको हालसम्म बागमती प्रदेशमा १ हजार ४ सय ३७ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १ सय २० जनाको मृत्यु भएको छ भने २ हजार १ सय ३९ जना घाइते भएका छन् । यसअवधिमा घरेलुहिंसाका ५ सय ५३ निवेदन दर्ता भएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*