मतदाताशिक्षा सञ्चालनको लागि अनुगमनकर्तालाई तालिम

साझाकुरा
२०८२ फाल्गुन २, शनिबार १०:२२

हेटौंडा- मकवानपुरका १०२ वडामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर मत घटाउने उद्देश्यले मतदाताशिक्षा संचालनका लागि प्रदेश निर्वाचन कार्यालय हेटौंडाले अनुगमनकर्तालाई तालिम दिएको छ ।मकवानपुरका प्रत्येक पालिकाबाट एक÷एक जना अनुगमनकर्तालाई तालिम दिएको हो । तालिम प्राप्त अनुगमनकर्ताले आफ्नो पालिकाको प्रत्येक वडावाट एक÷एक जनालाई तालिम दिएर फागुन ३ गतेदेखि वडातहमा मतदाताशिक्षा कार्यक्रम संचालनगरिन लागेको छ । प्रत्येक वडाका बालविकास सहजकर्ता वा महिला स्वयंसेविकालाई मतदाताशिक्षामा परिचालन गर्न लागिएको हो । मतदाताशिक्षा कार्यक्रमको अनुगमन निर्वाचन कार्यालयबाट तालिम पाएका अनुगमनकर्ताले गर्नेछन् ।

मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि निर्वाचन कार्यालयले फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाताशिक्षा संचालन गर्न लागेको छ । मकवानपुरका १० पालिकाका १०२ वडामा एक÷एक जना मतदाताशिक्षा स्वयंसेवकका रुपमा परिचालन गरिने प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालले बताए ।स्वयंसेवकले मतदाताको घरबस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारेमा जानकारी गराउने उनले बताए । मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने निर्वाचन कार्यालयको अपेक्षा रहेको छ ।

मतदातालाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका बारेमा जानकारी दिने उद्देश्यका साथ मतदाताशिक्षा कार्यक्रम संचालन गरिएको निर्वाचन कार्यालयका प्रमुख ढकालले बताए । मकवानपुरमा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ४ दशमलव ४६ प्रतिशत मत बदर भएको थियो । दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुर–१ मा १ लाख ५८ हजार ४३५ मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८९९ मतदाता रहेका छन् । मकवानपुरका कुल मतदाता संख्या ३ लाख १५ हजार ३३४ मा महिला १ लाख ५३ हजार ३७६ र अन्य मतदाता ५ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*