खर्च व्यवस्थापन, पुनःप्रयोगयोग्य सामग्री प्राथमिकतामा

साझाकुरा
२०८२ फाल्गुन ५, मंगलवार १५:२५

हेटौंडा-मकवानपुरमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गर्दै तयारी तीव्र पारिएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौंडाले विगतका निर्वाचनमा प्रयोग भएका मतपेटिकालाई पुनःप्रयोगमा ल्याउने प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार मतपेटिका सफाइ, मर्मत तथा प्राविधिक परीक्षणको कार्यलाई अन्तिमचरणमा पु¥याइएको छ । प्रदेश निर्वाचन कार्यालय परिसरमा कर्मचारीहरुपुराना मतपेटिका धुने, सुकाउने, आवश्यक भाग मर्मत गर्ने तथा ताला–सिल परीक्षण गर्ने कार्यमा व्यस्त भएको निर्वाचन अधिकारी ढकालले जनाए । ढकालका अनुसार स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै खर्च व्यवस्थापनलाई ध्यानमा राखी पर्छन् ।

ती सामग्रीलाई केन्द्रअनुसार छुट्टाछुट्टै प्याकेजिङ गरी सूचीबद्ध रुपमा तयार पारिँदै छ । प्रत्यक्षतर्फ ४३ लिटर र समानुपातिकतर्फ ८५ लिटर क्षमताका दुई मतपेटिका प्रत्येक मतदान केन्द्रमा पठाइने छन् भने एक जगेडासहित तीनवटा मतपेटिका व्यवस्था गरिएको छ । यसका अतिरिक्त मतपत्र, मतदाता नामावली, छाप, स्ट्याम्प प्याड, रजिस्टर, फाराम, गोपनीयता पर्दा, सुरक्षा सिल, ट्याग, मसी, स्टिकर, मतदानकक्ष संकेत बोर्ड, निर्देशन पुस्तिकालगायत सामग्री क्रमशः तयारी अवस्थामा रहेको कार्यालयले जनाएको छ ।

मतदानको दिन कुनै सामग्री अभाव नहोस् भन्ने उद्देश्यले प्रत्येक केन्द्रका लागि आवश्यक सामग्रीको पुनःजाँच (क्रसचेक) गरिने व्यवस्था मिलाइएको छ । निर्वाचन आचारसंहिता पूर्णरुपमा कार्यान्वयन भइरहेको र हालसम्म कुनै गम्भीर उजुरी नआएको प्रदेश निर्वाचन अधिकारी ढकालले जानकारी दिए । निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसार, सार्वजनिक सभा, जुलुस, सामाजिक सञ्जाल प्रयोग, खर्चविवरण तथा अन्य गतिविधिमाथि विशेष निगरानी राखिएको उनले बताए । ‘आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना प्राप्त भएमा तत्काल छानबीन गरी आवश्यक निर्देशन वा कारबाही गर्ने संयन्त्र सक्रिय अवस्थामा छ’, ढकालले भने, ‘निष्पक्ष, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गराउन आयोग पूर्णप्रतिबद्ध छ ।’

प्रदेश निर्वाचन कार्यालयले जिल्लाका सबै स्थानीय तह, निर्वाचन फोकल पर्सन, प्रशासन तथा सुरक्षा निकायसँग दैनिक समन्वय बैठक गर्दै अनुगमनकार्य अघि बढाइरहेको जनाएको छ । मकवानपुरका १७६ मतदानस्थलअन्तर्गत् ३७४ मतदान केन्द्रमा स्वयंसेवकसहित तीन हजार ३६६ कर्मचारी परिचालन गरिने भएका छन् । निर्वाचनअवधिभर दुई हजार २४४ कर्मचारी र एक हजार १२२ जना स्वयंसेवक खटिने प्रदेश निर्वाचन अधिकारी ढकालले जानकारी दिए । प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृतसहित आयोगबाट छ जना कर्मचारी खटाइनेछन् । मतदानस्थलमा तीनजना स्वयंसेवक परिचालन गरिने व्यवस्था गरिएको छ ।

जनशक्ति व्यवस्थापनको कार्य अन्तिमचरणमा पुगेको र खटाइने कर्मचारीलाई आवश्यक तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ । निर्वाचन शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन करिब चार हजार २०० सुरक्षाकर्मी परिचालन गरिने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी (जनपथ) तथा करिब दुई हजार २०० निर्वाचन प्रहरी परिचालन गरिनेछन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरीउपरीक्षक श्यामबहादुर खत्रीले जनपथ प्रहरीको एकिन संख्या केही दिनमै टु·ो लाग्ने जानकारी दिए ।

सुरक्षा निकायले संवेदनशील क्षेत्रमा विशेष निगरानी, नियमित गस्ती तथा प्रचारप्रसार गतिविधिको अनुगमन गर्ने जनाएको छ । जिल्लामा कुल १६७ मतदानस्थलमध्ये १९ अतिसंवेदनशील, ६० संवेदनशील र ८८ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । अतिसंवेदनशील सूचीमा २६ मतदान केन्द्र परेका छन् । बकैया गाउँपालिकामा पाँच मतदानस्थल अतिसंवेदनशील रहेका छन् भने राक्सिराङ, बागमती, भीमफेदी, मनहरी र कैलाश गाउँपालिकाका केही स्थल पनि यो सूचीमा समावेश छन् । संयुक्त अनुगमन टोलीले मतदानस्थलको भौतिक अवस्था, पहुँचमार्ग, सञ्चार सम्पर्क, मतदानकक्ष व्यवस्थापन तथा सुरक्षा संवेदनशीलताको मूल्यांकन गरिसकेको छ ।

भीमफेदीको एक मतदानस्थलमा सडक पहुँच नभएकाले पैदलमार्ग प्रयोग गर्नुपर्ने अवस्थारहेको प्रअ अधिकारीले बताए । दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुल तीन लाख १५ हजार ३३४ मतदाता रहेका छन् । मतदाता शिक्षालाई प्रभावकारी बनाउन स्थानीय तह र सरोकारवाला निकायमार्फत् सचेतना कार्यक्रम सञ्चालन भइरहेका छन् । आयोगले स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गराउन सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*