थाहानगरमा तामाङ भाषाबाट मतदाताशिक्षा प्रदान गरिँदै
हेटौंडा- मकवानपुरको थाहा नगरपालिकामा तामाङ भाषाबाट पनि मतदाताशिक्षा प्रदान गरिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर मत घटाउने उद्देश्यले फागुन ३ गतेबाट मतदाताशिक्षा सुरुगरिएको हो ।थाहा नगरको १२ वटै वडामा मतदाताशिक्षा सुरु भइसकेको जानकारी दिदै थाहा नगरका अनुगमनकर्ता अनिल लामिछानेले भने–‘प्रदेश निर्वाचन कार्यालय हेटौंडाले हामीलाई तालिम दियो र तत्पश्चात् ३ फागुनबाट मतदाता शिक्षा सुरु गरिएको हो ।’ थाहा नगरका निर्वाचन सम्पर्क व्यक्ति रहेका लामिछानेले थाहानगरको १२ वटै वडामा स्वयंसेवकमार्फत मतदाता शिक्षा प्रदान भइरहेको बताए । ‘हाम्रा स्वयंसेवक समुदायअनुसार छनोट गरिएको हुँदा मातृभाषामा समेत मतदाता शिक्षा दिइरहेका छन्, यसले बदर मत घटाउन मद्दत पुग्छ’–लामिछानेले भने । थाहा नगरमा राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार तामाङभाषीको बाहुल्यता रहेको छ ।
प्रदेश निर्वाचन कार्यालय हेटौंडाले प्रत्येक वडाका सबैजसो मतदातालाई घरघरमा पुगेर मतदाताशिक्षा दिइने योजनासहित यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।मकवानपुरका दशवटै पालिकाबाट एकएक जना अनुगमनकर्ता खटाइएको आयोगले जनाएको छ । प्रत्येक वडाका बालविकास सहजकर्ता वा महिला स्वयंसेविकालाई मतदाताशिक्षा कार्यक्रममा परिचालन गरिएको छ । मतदाताशिक्षा कार्यक्रमको अनुगमन निर्वाचन कार्यालयबाट तालिम पाएका अनुगमनकर्ताले गर्नेछन् । मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि निर्वाचन कार्यालयले थालेको मतदाताशिक्षा १७ फागुनसम्म सञ्चालन हुने प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालले बताए । स्वयंसेवकले मतदाताको घरबस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रिया बारेमा जानकारी गराउने उनले बताए ।
मकवानपुरमा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ४ दशमलव ४६ प्रतिशत मत बदर भएको थियो । दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुर १ मा १ लाख ५८ हजार ४३५ मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८९९ मतदाता रहेका छन् । मकवानपुरका कुल मतदाता संख्या ३ लाख १५ हजार ३३४ मा महिला १ लाख ५३ हजार ३७६ र अन्य मतदाता ५ जना रहेका छन् ।







