खोकना विवाद सुल्झाएर द्रुतमार्गको काम अघि बढाउन प्रमको निर्देशन
हेटौंडा- प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ–तराई मधेश द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी छिन् ।ललितपुरको खोकनामा धार्मिक–सांस्कृतिक सम्पदा तथा आस्थामा असर पर्ने भन्दै स्थानीय समुदायबाट चासो व्यक्त भइरहेको सन्दर्भमा प्रधानमन्त्री कार्कीले यस्तो निर्देशन दिएकी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उनले आयोजनालाई गतिदिन वैकल्पिक मार्गको विकल्प अघि सारिन् । यसअघि गत माघ १३ गते प्रधानमन्त्री कार्कीले निर्माणाधीन द्रुतमार्गको निरीक्षण भ्रमण गरेकी थिइन् । त्यसक्रममा उनले विकास निर्माणका काम गर्दा स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक लिनुपर्ने बताइन् ।
सुरुविन्दु परिवर्तन गरेर भएपनि राष्ट्रिय गौरवको यो आयोजना चाँडो सम्पन्न गर्नुपर्नेमा उनले जोड दिइन् ।प्रधानमन्त्री कार्कीले अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईँ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ, प्रधानसेनापति अशोकराज सिग्देल सहित द्रुतमार्ग आयोजनासँग सम्बन्धित अधिकारी र सचिवलाई बोलाएर छलफल गरेकी थिइन् । नेपाली सेनाका तर्फबाट आयोजनाको हालसम्मको प्रगति, समस्या र सरकारसँगको अपेक्षाबारे ब्रिफिङ गरिएको थियो ।
प्रधानमन्त्री कार्कीले विकास निर्माणका काममा अनावश्यक ढिलासुस्ती नगर्न र विवादमा मात्र अल्झिएर नबस्न अधिकारीहरुलाई सचेत गराइन् । उनले भनिन्, ‘विकास निर्माणका काममा ढिलासुस्ती गर्नुहुँदैन । सकेसम्म विवाद समाधान गर्ने हो तर, विवाद भयो भन्दैमा अनिश्चितकालसम्म त्यहीँ अल्झिनु हुँदैन । विकल्प खोजेर अघि बढ्नुपर्छ ।’ प्रधानमन्त्री कार्कीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गरी खोकनाको साटो कुरा मिल्ने ठाउँबाटै प्रस्थानविन्दु कायम गर्न निर्देशन दिइन् ।ठूलो लगानीको आयोजना अनिश्चितकालसम्म लम्बिँदै गएमा आर्थिक बोझ थेग्न गाह्रो पर्नसक्ने भएकाले चाँडो सञ्चालन हुने गरी निकास खोज्नुपर्ने उनको धारणा थियो । अब प्रधानमन्त्री कार्कीको निर्देशनबमोजिम खोकनाभन्दा तल फर्सिडोलमा शुल्क संकलनगृह निर्माण गर्ने गरी डीपीआर संशोधन हुने सम्भावना देखिएको छ ।







