टिप्परको ठक्करबाट मोटर साइकल चालकको मृत्यु
हेटौंडा-पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१९ सान्नानटारस्थित सडक खण्डमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको लु.३४ प ४६७५ नं. को मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा.प्र.०३–००१ ख ११७९ नं.को टिप्परले मंगलबार दिउँसो ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक जगदीश थारुको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रुपन्देहीका २८ वर्षीय थारुलाई हेटौंडा अस्पतालमा लगिएकोमा डाक्टरले मृतघोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायवउपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि सवार दाङको राप्ती गाउँपालिका–६ का २२ वर्षीय आदित्य चौधरीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकललाई ठक्कर दिने टिप्पर, टिप्पर चालक हेटौंडा उपमहानगरपालिका–१५ भोर्लेका २६ वर्षीय रोहित तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।







