देश र जनताप्रतिको उत्तरदायित्व हराउँदा प्रजातन्त्रको आत्मा कमजोर हुन्छ :प्रदेशप्रमुख

‘निष्पक्ष निर्वाचन प्रजातन्त्रको मुटु’
साझाकुरा
२०८२ फाल्गुन ८, शुक्रबार ११:५७

हेटौंडा- बागमती प्रदेशप्रमुख दिपकप्रसाद देवकोटाले देश र जनताप्रतिको उत्तरदायित्व हराउँदा प्रजातन्त्रको आत्मा कमजोर हुने बताएका छन् ।राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा बागमती प्रदेश सरकारको आयोजनामा बिहिबार हेटौंडामा आयोजित समारोहमा सम्बोधन गर्दै प्रदेशप्रमुख देवकोटाले प्रजातन्त्रलाई बलियो बनाउन देश र जनताप्रति जिम्मबार बन्नुपर्ने धारणा राखे । प्रजातन्त्रलाई विधिको शासनको रुपमा परिभाषित गर्दै उनले नेतृत्वकर्ताले पारदर्शीता र उत्तरदायित्वलाई भुल्न नहुने बताए । प्रदेशप्रमुख देवकोटाले शिशु प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको आधारशिलाको नाममा धेरै समय गुज्रिसकेको उल्लेख गरे ।

उनले देशमा राजनीतिक स्थायित्व जरुरी भएपनि सुशासन र सामाजिक न्यायबिनाको स्थायित्वको कुनै अर्थ नहुने जिकिर गरेका छन् । राजनीतिक अवरोधबिना देशको विकास अविरल गतिमा अघि बढ्नुपर्ने उनको भनाई छ । इतिहासका राम्रा र नराम्रा कुराबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताउँदै उनले विगतका नराम्रा पक्षमा अल्झिँदा देश समृद्ध नहुने दाबी गरे । प्रदेशप्रमुख देवकोटाले निष्पक्ष निर्वाचन प्रजातन्त्रको मुटु भएको बताएका छन् । मतदाताले डर, त्रास र दबाबबिना गोप्य मताधिकारको प्रयोग गर्नसक्ने वातावरण तयार हुनुपर्ने उनको भनाई छ । अरुको आलोचना भन्दा आपूmले राम्रो गरेर देखाउनुपर्ने बताउँदै उनले सामाजिक सञ्जालमा देखिएका सतही प्रचारमार्फत मतदातालाई प्रभावमा पार्न खोजिनु गलत भएको जिकिर गरे ।

प्रदेशप्रमुख देवकोटाले निर्वाचनपछि राजनीतिक दल, मतदाताबीच मनमुटाव नरहोस् भन्नेतर्फ सचेत रहनुपर्नेमा जोड दिए । विगतको गौरवलाई सम्झिदै वर्तमानलाई सुधार्ने र भविष्यलाई सुरक्षित बनाउने प्रण सबैले गर्नुपर्ने उनले बताए । युवापुस्ताको मनोभावनालाई कदर गर्दै राष्ट्रप्रतिको जिम्मेवारीलाई शीरोपर गर्ने अवस्था सिर्जना हुने कुरामा नागरिकको चासो रहेको उनले उल्लेख गरेका छन् । प्रदेशप्रमुख देवकोटाले फागुन २१ गतेको निर्वाचन सम्पूर्ण राजनीतिक अस्थिरता र अन्योलतालाई चिर्दै समृद्ध नेपाल निर्माणको दिशामा अघि बढ्न कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

त्यसैगरी, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रजातन्त्रमाथि बसेर प्रजातन्त्रलाई कमजोर बनाउने छुट कसैलाई नभएको बताएका छन् । प्रजातन्त्रको नाममा हुने शासनमा जनताको अधिकार मिच्ने काम हुँदा जनताले नसहने विगतका विभिन्न राजनीतिक आन्दोलनबाट पुष्टि भएको उनको भनाई छ । मुख्यमन्त्री बानियाँले सबै जातजाति मिलेर बसेको नेपालमा प्रजातन्त्रको लागि नेपाली जनता जुनसुकै मूल्य चुकाउन तयार रहेको बताए । उनले अब नेपालमा कोही शहिद बन्न नपर्ने बताए ।

पारदर्शी, जवाफदेही, सुशासन प्रदेश सरकारको धर्म भएको उनको भनाई छ । मुख्यमन्त्री बानियाँले शासन चलाउनेदेखि प्रशासन चलाउनेसम्मले जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताए । विगतको कमजोरीलाई सुधार्दै आफ्नो कर्तत्वयप्रति निष्ठ हुनुपर्नेमा उनले जोड दिए । समारोहमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीले प्रजातन्त्र दिवसलाई एकदिनको औपचारिक कार्यक्रममा मात्र सीमित राख्न नहुने बताए । देशको शिक्षा नीति नै कमजोर हुँदा पछिल्लो समय प्रजातन्त्र पनि कमजोर बन्दै गएको उनले उल्लेख गरे ।

कार्यक्रममा नेवा सांस्कृतिक पुचः हेटौंडा र श्री छोर्वाबोन्बो तथा डम्फु सेलो संस्थाले स्थानीय भेषभूषा र संस्कृति झल्कने झाँकी प्रस्तुत गरेका थिए । प्रत्येक वर्ष फागुन ७ गते मनाइने यो दिवस २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिवसको रुपमा मनाउने गरिन्छ । शहीदहरु दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको बलिदानपछि २००७ सालको जनक्रान्तिमार्फत् निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको स्मरणमा यो दिवस मनाइएको हो ।

वि.सं. २००७ फागुन ७ गते तत्कालीन राणा शासनको अन्त्य भई जनताको प्रतिनिधित्वमा आधारित शासन व्यवस्थाको प्रारम्भ भएको थियो । प्रजातन्त्र स्थापनासँगै नागरिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता तथा बहुदलीय राजनीतिक अभ्यासको मार्ग खुलेको थियो । नेपालमा २००७ सालको प्रजातान्त्रिक परिवर्तनपछि विभिन्न राजनीतिक उतारचढाव भएपनि २०६२÷६३ को जनआन्दोलन र त्यसपछिको राजनीतिक प्रक्रियाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापितगरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*