३ हजार ३ सय ७ मतदाताका लागि मकवानपुरमा २ वटा अस्थायी मतदानस्थल
हेटौंडा, ९ फागुन÷ फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरमा दुईवटा अस्थायी मतदानस्थल राखिएको छ । भीमफेदी कारागार र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा एक÷एक वटा मतदानस्थल रहने प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालले बताए । यी मतदानस्थलका लागि मतदाता ३ हजार ३०७ रहेका छन् । भीमफेदी कारागारमा महिला र पुरुष गरेर ९ सय ९५ जना कैदीबन्दी छन् । तर, मतदाता नामावलीमा ७५ जनाको मात्र नाम छ । ३ जना महिला र ७२ जना पुरुष मतदाता रहेका छन् । अरु कैदीबन्दीको मतदाता सूचीमा नाम नै छैन । अस्थायी मतदानस्थलका मतदाताले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउँछन् ।
अस्थायी मतदान केन्द्र बाहेक मकवानपुरमा १६७ वटा मतदानस्थल रहेका छन् । तीमध्ये सुरक्षाको दृष्टिकोणले १९ वटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलताको आधारमा जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा रहेका मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखेको हो । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मकवानपुरका १९ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । सुरक्षा संवेदनशीलताको आधारमा जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा रहेका मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका हुन् ।
जिल्लाभर रहेका कुल १ सय ६७ मतदानस्थलमध्ये १९ वटा अति संवेदनशील, ६० वटा संवेदनशील र ८८ वटा सामान्य श्रेणीमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका प्रहरीप्रवक्ता प्रनाउ पुष्कर बोगटीका अनुसार अतिसंवेदनशील सूचीमा परेका मतदानस्थलमा २६ मतदान केन्द्र रहेका छन् । सबैभन्दा धेरै बकैया गाउँपालिकामा ५ मतदानस्थल र ७ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा रहेका छन् । त्यस्तै, राक्सिराङ गाउँपालिकामा ६ मतदानस्थल र ६ मतदान केन्द्र, बागमती गाउँपालिकामा ५ मतदानस्थल र ६ मतदान केन्द्र, भीमफेदी गाउँपालिकामा १ मतदानस्थल र ३ मतदान केन्द्र, मनहरी गाउँपालिकामा १ मतदानस्थल र ३ मतदान केन्द्र तथा कैलाश गाउँपालिकामा १ मतदानस्थल र १ मतदान केन्द्र अतिसंवेदनशील मानिएको छ ।
यसैगरी, जिल्लामा ६० मतदानस्थल र १ सय २३ मतदान केन्द्र संवेदनशील सूचीमा राखिएका छन् । संवेदनशील मतदानस्थलमा हेटौंडा उपमहानगरका ७ मतदानस्थल र ३१ मतदान केन्द्र, थाहा नगरका ९ मतदानस्थल र १७ मतदान केन्द्र, राक्सिराङ गाउँपालिकाको १३ मतदानस्थल र १७ मतदान केन्द्र, बकैया गाउँपालिकाको ८ मतदानस्थल र १५ मतदान केन्द्र तथा बागमती गाउँपालिकाको ७ मतदानस्थल र १७ मतदान केन्द्र रहेका छन् ।
मकवानपुरगढी गाउँ पालिकाको ४ मतदानस्थल र ७ मतदान केन्द्र, इन्द्रसरोवर गाउँपालिकाको २ मतदानस्थल र २ मतदान केन्द्र, भीमफेदी गाउँपालिकाको ४ मतदानस्थल र ४ मतदान केन्द्र, कैलाश गाउँपालिकाको ३ मतदानस्थल र ५ मतदान केन्द्र तथा मनहरी गाउँपालिकाको ३ मतदानस्थल र ८ मतदान केन्द्र संवेदनशील सूचीमा परेका छन् । प्रतिनिधिसभाअन्तर्गत दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुल १ सय ६७ मतदानस्थल र ३ सय ७४ मतदान केन्द्र तोकिएका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा ६२ मतदानस्थल र १ सय ७८ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नम्बर २ मा १ सय ५ मतदानस्थल र १ सय ९६ मतदान केन्द्र रहेका छन् ।







