गृहमन्त्री अर्यालद्वारा मकवानपुरका मतदानस्थलको अनुगमन

साझाकुरा
२०८२ फाल्गुन ११, सोमबार १०:२८

हेटौंडा- गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् ।मकवानपुरको विभिन्न मतदान केन्द्रको स्थलगत निरीक्षण तथा अनुगमनको क्रममा गृहमन्त्री अर्यालले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सबै पक्षको सहयोग रहने विश्वास व्यक्त गर्नुका साथै निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सफल बनाउन आम नागरिकको सक्रियता जरुरी रहेको उल्लेख गरे । सरकारको प्रवक्ता समेत रहेका गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचना तथा खबरबाट सचेत भएर आआफ्नो निर्वाचन क्षेत्रको तयारीमा जुट्न सम्बन्धित सबै पक्षमा अनुरोध गरेका छन् ।

निर्वाचनको तयारी रसुरक्षा व्यवस्थापनसम्बन्धी विषयमा गृहमन्त्री अर्यालसँगै गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव एवं प्रवक्ता आनन्द काफ्ले, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौं प्रहरी प्रमुख (एसएसपी) रमेश थापालगायत उच्चपदाधिकारी सहभागी थिए । मन्त्री अर्यालसहितको टोलीले दक्षिणकाली नगरपालिका–९ फर्पिङस्थित सेतीदेवी माविको मतदान केन्द्रको स्थलगत निरीक्षण गरे । गृहमन्त्री अर्यालले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ को मतदान केन्द्रको अनुगमन गरेका छन् । यसक्रममा मकवानपुर जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारी सहित गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीसहितको उपस्थितिमा अनुगमन तथा निर्वाचन सुरक्षा सम्बन्धी विषयमा छलफल भएको थियो ।

अनुगमनका क्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, जिल्लाको जनपथ, ससस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखको उपस्थिति रहेको थियो । मन्त्री अर्यालसहितको टोलीले इन्द्रसरोवरको चौकी निरीक्षण गरी जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिएको थियो । मकवानपुर जिल्लाका सुरक्षा प्रमुखसहितको संयुक्त टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरेको हो । दुबै जिल्लाका सीमा आसपासका क्षेत्रको सुरक्षा, मतदान केन्द्रलगायत सुरक्षाकर्मीको परिचालन गरिरहेको ब्रिफिङ लिनुकासाथै सुरक्षा व्यवस्थापन र परिचालनसम्बन्धी आवश्यक निर्देशन दिएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*