बस दुर्घटनामा २२ जना घाइते
हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित पूर्वपश्चिम राजमार्ग खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।आइतबार बिहान करिब ७ बजे वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ००५४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकको बाँया साइडमा रहेको विद्युतको पोलमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरीनिरीक्षक दीपक थापाको कमाण्डमा ट्राफिक प्रहरी सहित १६ जनाको टोली घटनास्थलमा खटिएको थियो ।
दुर्घटनामा बसमा सवार २२ जना यात्रु सामान्यदेखि मध्यम घाइते भएका छन् । घाइते सबैलाई उद्दार गरी उपचारका लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक एवम् प्रवक्ता पुस्कर बोगटीले जानकारी दिए । दुर्घटनास्थल इलाका प्रहरी कार्यालय मनहरीबाट करिब १ किलोमिटर पश्चिममा पर्दछ ।







