बालेन साहको चित्र छापिएको टिसर्ट नियन्त्रणमा
हेटौंडा- निर्वाचन आचारसंहिता अनुगमन समिति मकवानपुरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको प्रचारसामग्री छापिएको टिसर्ट नियन्त्रणमा लिएको छ । होलीपर्वलाई लक्षित गरी प्रचारसामग्रीसहितका टिसर्ट हेटौंडा बजारक्षेत्रका विभिन्न पसलमा बिक्रीका लागि राखिएको भन्ने जानकारी प्राप्त भएपछि प्रशासनको टोलीले अनुगमन गरी ती सामग्री जफत गरेको हो । आचारसंहिता विपरित यस्ता सामग्री बजारमा राखिएको पाइएपछि सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रमुख कोषनियन्त्रकको संयोजकत्वमा रहेको निर्वाचन आचारसंहिता अनुगमन समितिले हेटौंडा बजारक्षेत्रका विभिन्न स्थानमा अनुगमन गरी प्रचार सामग्रीसहितका २ सय २० थान टिसर्ट जफत गरिएको सहायक प्रजिअ मोहनराज जोशीले जानकारी दिए ।निर्वाचन आचारसंहिता अनुसार कुनै पनि उम्मेदवार वा राजनीतिक दलले निर्वाचन चिन्ह अंकित टिसर्ट क्याप ज्याकेट मास्क लकेट झmोला स्टीकर ट्याटु जस्ता सांकेतीक प्रचार सामग्री उत्पादन, प्रयोग, बिक्री वितरण तथा प्रदर्शन गर्न पाइदैन ।
सवारी सञ्चालन र मदिरा बिक्रीमा मकवानपुर प्रशासनको कडाइ
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मकवानपुरमा मतदान अवधिभर सवारीसाधन सञ्चालन र मदिराजन्य पदार्थको बिक्रीवितरणमा कडाइ गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालय, मकवानपुरले जारी गरेको सूचनामा फागुन २० गते मध्यराति १२ बजेदेखि फागुन २१ गते मतदानकार्य सम्पन्न नहुँदासम्म एम्बुलेन्स, खानेपानीको ट्यांकर, दुध ढुवानी, दमकल, दूरसञ्चार, शववाहन, अस्पताल तथा विद्युत् सेवाजस्ता अत्यावश्यक सेवबाहेकका निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइने उल्लेख गरिएको छ । यो समयमा अनुमति प्राप्त सवारीसाधन तथा कूटनीतिक नियोगका सवारी भने सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ ।
त्यस्तै, निर्वाचनलाई मध्यनजर गर्दै फागुन १९ गतेदेखि अन्तिम मतपरिणाम घोषणा नभएसम्म मदिराजन्य पदार्थको बिक्रीवितरण तथा सार्वजनिकरुपमा सेवन गर्न नपाइने सूचनामा उल्लेख छ । प्रशासनले निर्वाचनअवधिभर सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सदभाव कायम राख्न होटेल व्यवसायी, राजनीतिक दल, नागरिकसमाज तथा सर्वसाधारणसँग पूर्ण सहयोगको अपेक्षा गरेको जनाएको छ । सूचना उल्लंघन गरी कानुन तथा निर्वाचन आचारसंहिताविपरीत गतिविधि गरे प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत प्रशासनले दिएको छ ।







