होलीको दिन भीडभाड हुने कार्यक्रम नगर्न अनुरोध
हेटौंडा- जिल्ला प्रशासन कार्यालय मकवानपुरले यस वर्षको फागुपूर्णिमा (होली) पर्वका अवसरमा भीडभाड हुने कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी विज्ञप्तिमा होलीका दिन भीडभाड हुने कार्यक्रम नगर्न अनुरोध गरिएको हो । अत्यावश्यक कारणवश कार्यक्रम गर्नुपर्ने भएमा पूर्वअनुमति लिएर मात्र सञ्चालन गर्नुपर्ने जनाइएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मौनअवधिभित्र फागुन १८ र १९ गते होली पर्व परेकाले निर्वाचनको सुरक्षा संवेदनशीलता र निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ । होली मनाउने नाममा कसैको इच्छाविपरीत जबरजस्ती, अमर्यादित तथा उच्छृंखल व्यवहार नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।
मादक तथा नशालुपदार्थ सेवन नगर्ने, सेवन गरी सवारीसाधन नचलाउने, सार्वजनिकस्थलमा होहल्ला नगर्ने, चर्को आवाजमा बाजा (डिजे) नबजाउने तथा छिमेकीलाई असर पर्ने गतिविधि नगर्न अनुरोध गरिएको छ । पटका पड्काउने, आतिशबाजी गर्ने, कसैको इच्छाविपरीत रङ दल्ने, लोला हान्ने, फोहरपदार्थ छ्याप्ने तथा दुःख हैरानी दिने जस्ता कानुनविपरीतका गतिविधि नगर्न चेतावनी दिइएको छ । निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्न तथाउल्लंघनसम्बन्धी जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय, आचारसंहिता अनुगमन समिति वा नजिकको सुरक्षा निकायमा उपलब्ध गराउन आग्रह गरिएको छ । प्रचलित कानून वा निर्वाचन आचारसंहिता विपरीत कार्य गरे वा गराएमा कडा कारबाही गरिने प्रशासनले जनाएको छ । विज्ञप्तिमा जिल्लास्थित सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, राजनीतिक दलका प्रतिनिधि, मतदाता तथा सर्वसाधारणबीच आपसी सद्भाव, शान्ति र सौहार्दपूर्ण वातावरण कायम रहने अपेक्षासहित शुभकामना व्यक्त गरिएको छ ।







