मतदानकै दिन साँझदेखि मतगणना सुरु हुने
हेटौंडा- निर्वाचन आयोगले यसपटक मतपेटिका संकलनको समय घटाउने र मतदानकै दिन साँझबाट मतगणना सुरु गर्ने योजना बनाएको छ । मतदाताको प्रतीक्षाको समय छोट्याउन आयोगले यस्तो रणनीति लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन् । निर्वाचन आयोगले मतदान सम्पन्न भएलगत्तै छिटोभन्दा छिटो नतिजा सार्वजनिक गर्नेगरी तयारी तिब्र पारेको उनले बताए । प्रवक्ता भट्टराईका अनुसार विगतका अनुभवलाई ध्यानमा राख्दै यो पटक मतपेटिका संकलन गर्ने समयलाई उल्लेख्यरुपमा घटाइनेछ । आयोगको योजनाअनुसार मतदान सकिएकै दिन साँझबाट मतगणना सुरु गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।
यसका लागि राजनीतिक दलसँगको समन्वयमा मतदान हुनुपूर्व नै मतगणनास्थल र आवश्यक व्यवस्थापन मिलाइसकिने उनले बताए । मतदाताको नतिजा सुन्ने व्यग्रतालाई सम्बोधन गर्न आयोगले यो ‘गुड इन्टेन्सन’ राखेको प्रवक्ता भट्टराईले स्पष्ट पारेका छन् । ‘निर्वाचन आयोगले यो पटक विगतका अनुभवलाई पनि लिएर मतदान पश्चात मतपेटिका संकलन गर्ने टाइम घटाउन थालेको छ । हामी सकेसम्म छिटो मतपेटिका कलेक्सन गर्छौँ । त्यसले ओभरअल रिजल्टको टाइम छोटो बनाउँछ भन्ने हाम्रो विश्वास छ । त्यो बाहेक मतगणनाकै बेलामा पनि त्यसको लागि नेसेसरी एरेन्जमेन्ट मतदानको दिन भन्दा पहिले नै आवश्यक एरेन्जमेन्ट मिलाएर राजनीतिक दलहरूसँग समन्वय गरेर मतगणना मतदान भएकै दिन साँझबाट मतगणना सुरु गर्ने योजना छ ।’
‘मतपेटिका संकलनको समय घटाउने, अनि मतदानपश्चात त्यसै दिन मतपेटिका संकलनको समय घटिसकेपछि त्यसै दिन बेलुकीबाट मतगणना गर्ने कामलाई प्राथमिकतामा राख्ने र मतगणना काम गर्ने काम पनि त्यसलाई अलि छिटोछरितो बनाउने । त्यो हिसावले काम गर्दाखेरि यो नतिजा घोषणाको समय छोट्याउन सकिन्छ भन्ने मान्यताका साथ हामीले त्यो कुरा बोलेका हौँ ।’ उनले भने ‘कतिपय ठाउँमा आउन सक्ने लोकल्ली अप्ठ्यारालाई त हामीले अहिले नै आँकलन गर्न सक्दैनौँ । तर, पनि नर्मल्ली यति समयमा हामी सक्न क्छौँ भन्ने हिसावले आयोगले गुड इन्टेन्सनबाट छिटो नतिजा सार्वजनिक गर्न सकियो भने त्यसले मतदाताको जुन प्रतीक्षा गर्ने व्यग्रतालाई त्यो समयलाई छोट्याउन सक्छ भन्ने हिसावमा यो कुरा प्रोजेक्सन गरिएको हो ।’
‘कतैकतै स्थानीय तहमा त्यस्तो ढिलो हुनेभयो भने त्यतिबेला यहाँहरुले जानकारी नै पाउनुहुनेछ । तर, आयोगले लक्ष्य राख्दाखेरि यसको अप्टिमम काम कसरी गर्न सकिन्छ भन्ने हिसावले लक्ष्य राख्नु आफैँमा नकारात्मक कुरा होइन’ उनले भने । स्थानीयस्तरमा आउनसक्ने प्राविधिक कठिनाइलाई ध्यानमा राख्दै आयोगले अप्टिममरुपमा काम गर्ने लक्ष्य लिएको छ । धेरैजसो निर्वाचन क्षेत्रमा मतगणनास्थल जिल्ला सुरक्षा समितिसँगको समन्वयमा तोकिसकिएको पनि उनले जानकारी दिए ।
मतदानको दिन देशभर मौसम सफा रहने
जल तथा मौसम विज्ञान विभागले बताएअनुसार मतदानको दिन देशभर मौसम सफा रहने निर्वाचन आयोगले बताएको छ । निर्वाचनको दिन मौसमले कस्तो प्रभाव पार्छ भन्ने आम चासोकाबीच निर्वाचन आयोगले जल तथा मौसम विज्ञान विभागसँग निरन्तर समन्वय गरिरहेको शुक्रवार आयोगमा आयोजित पत्रकार सम्मेलनका क्रममा आयोगका प्रवक्ता भट्टराईले बताए । विभागका महानिर्देशकसँगको छलफलपछि आयोगले मतदानको दिन देशभर मौसम सफा रहने बताएको छ । विगत ३० वर्षको तथ्यांकमा आधारित पूर्वानुमानलाई परिमार्जन गर्दै विभागले अहिले एक हप्तासम्मको यथार्थपरक पूर्वानुमान गर्न थालेको छ ।
हाल देशका विभिन्न भागमा, विशेषगरी संखुवासभा लगायतका हिमाली जिल्लामा छिटपुट हिमपात भइरहे पनि यसले मतदान प्रक्रियालाई अवरुद्ध नगर्ने आयोगको निष्कर्ष छ । संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी) मार्फत आयोगले दिनभरको मौसम अपडेट लिइरहेको प्रवक्ता भट्टराईले बताएका छन् । जमेको हिउँमाथि थपिएको नयाँ हिउँले मतदान केन्द्रसम्म पुग्न मतदातालाई खासै समस्या नपार्ने प्रवक्ता भट्टराईले बताए । ‘हिमपातले के असर गर्छ भन्नुभएको छ । हामीले यसको रेगुलर अपडेट लिइराखेका छौँ । मैले हिजो मात्रै पनि जल तथा मौसम विज्ञान विभागको महानिर्देशकसँग उहाँहरूलाई यही आयोगमै आमन्त्रण गरेर छलफल गरेको छु’ उनले भने । नले अगाडि भने–‘त्यसमा उहाँले अब निर्वाचनको मतदानको मिति नजिकिँदै गर्दाखेरि हिजोको पहिला उहाँहरुले गर्नुभएको फोरकास्ट विगत ३० वर्षको डाटालाई आधार मानेर गर्नुभएको छ भनेर मैले यही कार्यक्रममा यहाँहरुलाई जानकारी गराएको थिएँ ।’
‘हाम्रो प्रणालीले एक हप्तासम्मको त धेरै सत्यताको नजिकको फोरकास्ट गर्नसक्छ । मलाई उहाँले हिजो दिनुभएको इन्फर्मेसन अनुसार यसलाई गुड न्युज नै भन्नुपर्छ । २१ गतेको दिन देशभर मौसम सफा रहन्छ भन्नुभएको छ । त्यसकारणले त्यो २१ गतेको सफा छँदैछ । त्यो भन्दा अगाडि आजभोलि विभिन्न ठाउँमा हिमपात भएको, हल्का वर्षा भएको कुरालाई हामीले क्लोजली वाच गरिराखेका छौँ’ उनले भने । ‘सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समिति र निर्वाचनसँग सम्बन्धित अधिकारीसँग आयोगको जेईओसीले संयुक्त निर्वाचन सञ्चालन केन्द्र जहाँ प्रहरीको सञ्चार सेट पनि उपलब्ध छ । उहाँले दिनभर अपडेट लिनुभएको छ र मलाई उहाँहरुले बताउनुभए अनुसार अहिले देशभरिमा छिटपुट हिमपात भइरहेको छ ।’
‘अलिकति बढी हिमपात भएको संखुवासभामा देखिन्छ ।
तर, संखुवासभामा पनि त्यस्तो धेरै मतदान केन्द्रसम्म हिमपातकै कारणले पुग्न गाह्रो हुने पहिलादेखि जमेकै हिउँ त छँदैछ । यो पटक थपिएको नयाँ हिउँका कारणले समस्या हुनेकुरा मेरो रिपोर्टिङमा चुकेको छैन’ प्रवक्ता भट्टराइले बताए । २१ गतेसम्म मौसम सफा हुने भएको हुनाले त्यसले थप सकारात्मक बनाउँछ भन्ने हाम्रो अहिलेसम्मको एजम्सन रहेको आयोगले जनाएको छ । ‘यो हिमपातले धेरै असर पर्दैन ताकि मतदातालाई मतदान गर्ने अवरोध हुनेसम्मको अप्ठ्यारो पर्दैन भन्ने विश्लेषण हामीले गरेका छौँ’ उनले बताए । आयोगले मौसमको अवस्थालाई नजिकबाट नियालिरहेको र अचानक मौसममा कुनै ठूलो परिवर्तन आए थप अपडेट लिने र आवश्यक प्रवन्ध मिलाउने तयारी गरेको बताइएको छ ।







