आइतबार रातको १२ बजेदेखि सीमानाका बन्द
हेटौंडा- अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आइतबार राति १२ बजेदेखि सीमानाका बन्द हुने भएको छ ।बिहीवार हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्ररुपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा सीमानाका बन्द गर्न लागिएको हो । निर्वाचन सुरक्षा निर्देशिकामा निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडि सीमानाका बन्द गर्नुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार सीमानाका बन्द गर्न आयोगले सिफारिस गरेको सूचनाअधिकारी सुमन घिमिरेले जानकारी दिए । सोहीअनुसार नै आईतवार राति १२ बजेदेखि मतदान सम्पन्न नहुन्जेल सम्मको लािग अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्न लागिएको हो ।
‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने उद्देश्यले निर्वाचन आयोगले तयार गरेको निर्वाचन सुरक्षा निर्देशिका बमोजिम आइतबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्नको लागि निर्वाचन आयोगले नेपाल सरकारलाई सिफारिस गरेबमोजिम सीमानाकाहरु बन्द रहनेछन् । सोही बमोजिमको व्यवस्था गर्न÷गराउनको लागि सम्बन्धित निकायलाई निर्वाचन आयोगले अनुरोध गर्दछ,’ उनले भने । आयोगले सीमानाका बन्दसम्बन्धी व्यवस्था प्रभावकारीरुपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । निर्वाचनअवधिभर सुरक्षालाई कडा बनाउँदै सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न आयोगले विभिन्न सुरक्षा उपाय अवलम्वन गरिरहेको जनाएको छ ।







