मकवानपुरमा मतदान केन्द्र तयार सबै मतदान केन्द्रमा सुरक्षा निकाय परिचालन

साझाकुरा
२०८२ फाल्गुन २०, बुधबार १४:०७

हेटौंडा-आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लाका मतदान केन्द्र तयार पार्ने काम तीव्रगतिमा भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट खटिएका कर्मचारीले कार्यस्थल व्यवस्थापन र बुथ निर्माण गरिरहेका छन् । मतदान केन्द्रको सुरक्षाका लागि खटिएका प्रहरीको सहयोगमा केन्द्र तयार पारिएका हुन् । सबै मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै प्रवेशद्वार बनाइएको छ । भुटनदेवी माध्यमिक विद्यालय मतदान केन्द्रकी सहायक मतदान अधिकृत शिक्षा विष्टले भनिन्, ‘हामी महिला, पुरुष र ज्येष्ठनागरिकका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गर्दैछौँ । बुधबारसम्म मतदानस्थल निर्माणको कार्य सम्पन्न गरी बिहीबार निर्वाचनका लागि तयारी अवस्थामा रहनेछौँ ।’

भुटनदेवी माध्यमिक विद्यालयमा मात्र ९ वटा मतदान केन्द्र रहेका छन् । मकवानपुरका सबै मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगिसकेका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा एक लाख ५३ हजार ३७६ महिला र एक लाख ६१ हजार ९५३ पुरुष गरी कुल तीन लाख १५ हजार ३३४ मतदाता रहेका छन् । जिल्लाभर १६७ मतदानस्थल तथा ३७४ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर र भीमफेदी कारागारमा अस्थायी मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।

मनहरी गाउँपालिका–मसिनेस्थित पशुपतिनाथ मावि मतदानस्थलमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न गर्न वडाको सर्वदलीय बैठक सम्पन्न गरिएको वडाअध्यक्ष प्रकाश थापाले बताए । पशुपतिनाथ माविमा रहेको तीनवटै मतदान केन्द्रमा खटिएका निर्वाचन कर्मचारीले आवश्यक तयारी गरिरहेको थापाले बताएका छन् । सोमबार मतदानस्थलको चारकिल्ला निर्धारण गरी आवश्यक सूचना प्रकाशन गरिएको थियो । सर्वदलीय बैठकले दलका बुथ प्रतिनिधि चयन गर्ने, मतदान कार्यका लागि स्वयम्सेवक चयन गर्न शिफारिस गर्नेलगायतका सबै कार्य सौहाद्रपूर्ण रुपमा सम्पन्न भएको मतदान हधिकृत ध्रुबप्रसाद घोरासाइनीले जानकारी दिएका छन् ।

मकवानपुरमा राजनीतिक दल तथा स्वतन्त्र गरी ४४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सबै मतदान केन्द्रमा सुरक्षा निकाय परिचालन भइसकेको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने लक्ष्यसहित तयारी गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । निर्वाचनमा दुई हजार २४४ कर्मचारी खटिने छन् । जिल्लामा अति संवेदनशील, संवेदनशील र मतदान केन्द्र सामान्यरुपमा वर्गीकरण गरी सुरक्षा व्यवस्था गरिएको छ । मकवानपुरका १९ मतदानस्थललाई अति संवेदनशील सूचिमा राखिएको छ ।

सुरक्षा संवेदनशीलताको आधारमा जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा रहेका मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका हुन् । जिल्लाभर रहेका कुल १ सय ६७ मतदान स्थलमध्ये १९ वटा अति संवेदनशील, ६० वटा संवेदनशील र ८८ वटा सामान्य श्रेणीमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरीप्रवक्ता पुष्कर बोगटीकाअनुसार अतिसंवेदनशील सूचीमा परेका मतदानस्थलमा २६ मतदान केन्द्र रहेका छन् । सबैभन्दा धेरै बकैया गाउँपालिकामा ५ मतदानस्थल र ७ मतदान केन्द्र अतिसंवेदनशील रहेका छन् ।

राक्सिराङ गाउँपालिकामा ६ मतदानस्थल र ६ मतदान केन्द्र, बागमती गाउँपालिकामा ५ मतदानस्थल र ६ मतदान केन्द्र, भीमफेदी गाउँपालिकामा १ मतदानस्थल र ३ मतदान केन्द्र, मनहरी गाउँपालिकामा १ मतदानस्थल र ३ मतदान केन्द्र तथा कैलाश गाउँपालिकामा १ मतदानस्थल र १ मतदान केन्द्र अतिसंवेदनशील मानिएको छ । जिल्लामा ६० मतदानस्थल र १ सय २३ मतदान केन्द्र संवेदनशील सूचीमा राखिएका छन् । संवेदनशील मतदानस्थलमा हेटौंडा उपमहानगरको ७ मतदानस्थल र ३१ मतदान केन्द्र, थाहा नगरको ९ मतदानस्थल र १७ मतदान केन्द्र, राक्सिराङ गाउँपालिकाको १३ मतदानस्थल र १७ मतदान केन्द्र, बकैया गाउँपालिकाका ८ मतदानस्थल र १५ मतदान केन्द्र तथा बागमती गाउँपालिकाको ७ मतदानस्थल र १७ मतदान केन्द्र रहेका छन् ।

त्यसैगरी, मकवानपुरगढी गाउँपालिकाको ४ मतदानस्थल र ७ मतदान केन्द्र, इन्द्रसरोवर गाउँपालिकाको २ मतदानस्थल र २ मतदान केन्द्र, भीमफेदी गाउँपालिकाको ४ मतदानस्थल र ४ मतदान केन्द्र, कैलाश गाउँपालिकाको ३ मतदानस्थल र ५ मतदान केन्द्र तथा मनहरी गाउँपालिकाको ३ मतदानस्थल र ८ मतदान केन्द्र संवेदनशील सूचीमा परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*