मौनअवधिमा सामाजिक सञ्जालको निगरानी बढाइयो
हेटौंडा-यही फागुन २१ गते हुने निर्वाचनका लागि सोमबार रातिदेखि मौनअवधि सुरु भएको छ । निर्वाचन आयोगले यो अवधिमा आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले मंगलबारदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो । निर्वाचन आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखानियन्त्रक कार्यालयका प्रमुखलाई फरकफरक जिम्मेवारी सहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । निर्वाचन आचारसंहितामा समावेश भएका व्यवस्थाअनुसार सोमबार रातीदेखि फागुन २१ गतेसम्म आचारसंहिताले तोकेका सबै पक्षले पालना गर्नुपर्ने आचरणको प्रभावकारी परिपालनाको अनुगमन गर्न आयोगले निर्देश गरेको छ ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणका सम्बन्धमा आयोगले स्मरण गराएको छ । मतदानको दिन पालना गर्नुपर्ने आचरण परिपालनाको सम्बन्धमा अनुगमन गरी यो व्यवस्थाको कार्यान्वयनलाई प्रभावकारी बनाउन आफ्नो जिल्लाभित्र सुक्ष्म अनुगमन गर्न निर्देश गरिएको हो । निर्वाचन आचारसंहिता तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ विपरीतकाकार्य गरेको पाइएमा सोही ऐनको अधिनमा रही जिल्ला आचारसंहिता अनुगमन समितिसमेतको सहकार्यमा प्रभावकारी कार्यान्वयन गर्न गराउन निर्देशन गरिएको छ ।
सोहीबमोजिम प्रचारप्रसार निषेधअवधिमा प्रचलित कानुन र निर्वाचन आचारसंहिताबमोजिम गर्न नहुने भनी तोकिएका कार्य नगर्न र गराउन आयोगले अनुरोध गरेको छ । यसैबीच, मौनअवधि सुरु भएसँगै निर्वाचन आयोगले सामाजिक सञ्जालमा हुने गतिविधिको निगरानी बढाएको छ । यसपटक चुनावको प्रचारको समयदेखि नै सामाजिक सञ्जालको निगरानी र आचारसंहिता विपरीत भएमा कारबाहीलाई तीव्र बनाएको आयोगले मौनअवधिमा सामाजिक सञ्जालको निगरानी बढाएको हो ।
अघिल्ला चुनावमा मौनअवधिका बेला भोजभतेर तथा पैसाको लेनदेन, दबाव जस्ता गतिविधि बढी निगरानीमा पर्ने गरेकामा यसपटक सामाजिक सञ्जालको दुरुपयोग सबैभन्दा मुख्य विषय बनेको छ । कार्यवाहक प्रमुखआयुक्त रामप्रसाद भण्डारी अन्तिमसमयमा उम्मेदवारले विभिन्न हल्ला पनि चलाउन सक्ने, शुभेच्छुक र शुभचिन्तकले त्यस्ता सामग्रीको दुरुपयोग गर्ने सम्भावना धेरै रहेकोले त्यसतर्फ निगरानी बढाएको बताएका छन् । यदि त्यस्तो दुरुपयोग भएको पाइएमा उम्मेदवार र सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पनि सजायको भागिदार हुनुपर्ने उनको चेतावनी छ ।







