छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु
हेटौंडा-दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी मकवानपुरमा दुईजनाको मृत्यु भएको छ । हेटौंडा–१०, बाइपासमोडमा स्कूटर र हात्तीगाडी ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्कुटर चालक हेटौंडा–५, शान्तिनगरका क्षीतिज रायमाझी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले जानकारी दिएका छन् । सोमबार वाईपास सडकखण्डमा बसपार्कबाट पशुपतिनगर तर्फ जाँदै गरेको बा प्र ०३–००६ प २७१२ नम्बरको स्कुटर र बिपरीत दिशाबाट आउँदै गरेको ना ४ च ६०५३ नम्बरको हात्तीगाडी आपसमा ठोक्किएर दुर्घटना हुँदा घाइते भएका रायमाझीको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीले हात्तीगाडी र चालक बारा जिल्लाको अमलेखगन्जका २० वर्षीय शेरचन बललाई नियन्त्रणमा लिएको छ । स्कुटर पछाडि सवार हेटौंडा–७ का १९ वर्षीय संगम झा घाइते भएका छन् । झाको हात खुट्टामा चोट लागेको छ । झाको सन्चो अस्पताल उपचार भइरहेको छ । त्यसैगरी गत बिहिबार दुर्घटनामा परी घाइते भएका एक निर्वाचन प्रहरीको पनि मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–८, कर्रापुलनजिक योद्धा पिकअप गाडीले ठक्कर दिँदा घाइते भएका निर्वाचन प्रहरी रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–७ का २४ वर्षीय पवन साहको उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।
साह हेटौंडा–८ स्थित इलाका प्रहरी कार्यालय पशुपतिनगरमा कार्यरत थिए । रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०३–००१ च १५६५ नम्बरको पिकअपले ठक्कर दिँदा निर्वाचन प्रहरी साह गम्भीर घाइते भएका थिए । साहको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पिकअप गाडी र चालक रौतहटको चन्द्रपुर नगरपालिका–८ का २५ वर्षीय अर्जुन चौधरी प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।







