जनता बिबेकी छन् भन्ने प्रमाण रास्वपाको ‘क्लिन स्वीप ’: ३४ वर्षपछि ‘कम्युनिष्ट गढ’ भत्कियो

साझाकुरा
२०८२ फाल्गुन २५, सोमबार १०:५८

हेटौंडा- मकवानपुर जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीले ‘क्लिन स्वीप’ गरेको छ । २०४६ सालमा बहुदल आएपछि भएका २०४८ यताका निर्वाचनमा कम्युनिस्टहरुले निरन्तर झडा गाड्दै आइरहेको मकवानपुर २०८२ को निर्वाचनमा आइपुग्दा वामपन्थी जनप्रतिनिधिविहीन बन्न पुगेको छ । आइतबार सार्वजनिक मतपरिणामअनुसार मकवानपुरका दुवै प्रतिनिधिसभा क्षेत्र ३ वर्षअघि मात्रै स्थापित नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जितेको छ । मकवानपुरको क्षेत्र नं. १ मा रास्वपाका प्रकाश गौतम बिजयी भए । उनी निकटतम् प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतले विजयी भएका हुन् । ३७ वर्षीय हेटौंडा उपमहानगरपालिका–५ घर भएका गौतम ३६ हजार ३३ मत ल्याएर निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीनाले १४ हजार ३८ मत ल्याइन् । प्रतिस्पर्धामा तेस्रो भएका नेकपा एमालेका रामेश्वर रानाले १२ हजार ७८३ मत प्राप्त गर्दा अघिल्लो निर्वाचनका विजेतासमेत रहेका राप्रपाका दीपकबहादुर सिंह छैठौं स्थानमा खुम्चिँदै ४ हजार ५७४ मतमा चित्त बुझाउन बाध्य भए ।

यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का विजय गौतमले १० हजार ७८८, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १० हजार २०५, श्रमसंस्कृति पार्टीकी विद्या श्रेष्ठले १ हजार २४ मत ल्याएका छन् । १ नम्बर क्षेत्रमा ९५ हजार ३ सय १० मत खसेको थियो । निर्वाचित भएसँगै गौतमले प्रमाणपत्र समेत बुझेका छन् । उनलाई मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले प्रमाणपत्र हस्तान्तरण गरेकी हुन् । गौतमले प्रमाणपत्र बुझेपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मकवानपुरबासीको मतलाई खेरजान नदिने प्रतिबद्धता व्यक्त गरे । उनले जनताको मतमाथि खेलेर भ्रष्ट्राचार नगर्ने उल्लेख गरेका छन् ।

मकवानपुर–१ मा हरेक निर्वाचनमा मतदाताले फरक–फरक दललाई जिताउँदै आएका छन् । यस क्षेत्रलाई कहिले एमाले, कहिले कांग्रेस, कहिले माओवादी र कहिले राप्रपाको प्रभाव क्षेत्रकारुपमा पनि चिनिने गरेको छ । क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रशान्त उप्रेती निर्वाचित भएका छन् । २५ वर्षीय उप्रेतीले ३० हजार ५० मत प्राप्त गर्दै ११ हजार १ सय १ मतान्तरले विजय हासिल गरेका हुन् । आइतबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका महेश वर्तौलाले १८ हजार ८ सय ४६ मत प्राप्त गरे । नेपाली काँग्रेसका बुद्ध लामाले १५ हजार ५६ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका लवशेर विष्टले १२ हजार ४ सय ९२ मत प्राप्त गरेका छन् ।

६२ वडा रहेको यस क्षेत्रमा कुल ९१ हजार २ सय ४१ मत खसेको थियो । सांसद्मा निर्वाचित भएसँगै उप्रतीले प्रमाणपत्र बुझेका छन् । उनलाई निर्वाचन अधिकृत देवेन्द्र आचार्यले प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै उप्रेतीले आफ्नो जीत परिवर्तन चाहने सम्पूर्ण मकवानपुरबासीको जीत भएको बताए । विगतदेखि जनतामा रहेको निराशालाई चिर्दै समाजलाई सकारात्मकतातर्फ अगाडि बढाउने जिम्मेवारी आफ्नो काँधमा आएको उनले उल्लेख गरेका छन् । उप्रेतीले आफ्नो ५ वर्षे कार्यकालमा जनमुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

३४ वर्षपछि कम्युनिस्टको गढ भत्कियो

मकवानपुरमा रास्वपाको विजयसँगै ३६ वर्षपछि कम्युनिस्टको गढ भत्किएको छ । विगतका ७ वटा निर्वाचनमा मकवानपुरले वामपन्थी जनप्रतिनिधि पाइरह्यो । तर, ३४ वर्षपछि अर्थात् २०८२ को निर्वाचनमा भने मकवानपुर वामपन्थी जनप्रतिनिधिविहीन बन्न पुगेको हो । कम्युनिस्ट साम्राज्य भत्किँदा दुवै सिट नयाँ दल रास्वपाले जित्यो । २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा भएको निर्वाचनमा दुईपटक राप्रपाले र एकपटक मात्रै कांग्रेसले जितेको छ । त्यो पनि एउटा निर्वाचन क्षेत्र मात्रै । बाँकीमा वामपन्थी उम्मेदवार विजयी भएका थिए ।

२०५१ को मध्यावधि निर्वाचनमा मकवानपुर–१ मा राप्रपाका कमल थापाले र २०७९ मा राप्रपाकै दीपक सिंहले चुनाव जितेका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा १ नम्बर क्षेत्रबाट पहिलोपटक कांग्रेसका इन्द्रबहादुर बानियाँ विजयी भए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा चारवटै क्षेत्र तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवारले जितेका थिए ।

मकवानपुरमा २०४८, २०५१ र २०५६ को निर्वाचनमा तीनवटा क्षेत्र थिए । २०६४ र २०७० को संविधानसभा निर्वाचनमा ४ वटा क्षेत्र बनाइयो । नयाँ संविधान जारीसँगै राज्य पुनःसंरचना पश्चात् २०७४, २०७९ र २०८२ मा भएका प्रतिनिधिसभा निर्वाचनमा दुईवटा क्षेत्र कायम भयो । २०४८ सालको निर्वाचनमा एमालेका कृष्णप्रसाद दाहाल, विरोध खतिवडा र हिरण्यलाल श्रेष्ठ विजयी भएका थिए । २०५१ सालको मध्यावधि निर्वाचनमा कमल थापा (राप्रपा), विरोध खतिवडा (एमाले) र हिरण्यलाल श्रेष्ठ (एमाले) निर्वाचित भए ।

२०५६ सालको निर्वाचनमा पुनः एमालेकै कृष्णप्रसाद दाहाल, विरोध खतिवडा र वीरबहादुर लामा विजयी भए । थापा, दाहाल र खतिवडा निरन्तर निर्वाचन क्षेत्र १ र २ नम्बरबाट चुनाव लडेका थिए । त्यतिबेला श्रेष्ठ र लामाले ३ नम्बर क्षेत्रबाट जित निकालेका हुन् । ११ वर्ष लामो सशस्त्र युद्ध चरमोत्कर्षमा पुगेपछि एकैपटक २०६४ सालमा पहिलो संविधानसभा निर्वाचन भयो । जसका लागि मकवानपुरमा चारवटा निर्वाचन क्षेत्र कायम गरिएको थियो । चारवटै क्षेत्र तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवारले जिते । निरन्तर चुनाव जित्दै आएका एमालेका उम्मेदवार पराजित भए पनि मकवानपुरले वामपन्थी प्रतिनिधि नै पायो ।

२०६४ मा १ नम्बर क्षेत्रबाट दिलबहादुर घिसिङ, २ नम्बर क्षेत्रबाट प्रेमबहादुर पुलामी, ३ नम्बर क्षेत्रबाट प्रल्हाद लामिछाने र ४ नम्बर क्षेत्रबाट कुमारी मोक्तान निर्वाचित भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा माओवादी उम्मेदवार सबै पराजित हुन पुगे र पुनः एमाले र एउटा निर्वाचन क्षेत्रमा कांग्रेसले पहिलोपटक जित निकाल्यो ।२०७० को निर्वाचनमा १ नम्बर क्षेत्रबाट इन्द्रबहादुर बानियाँ (कांग्रेस), २ नम्बर क्षेत्रमा सुभाषचन्द्र ठकुरी(एमाले), ३ नम्बर क्षेत्रमा अनन्त पौडेल (एमाले) र ४ नम्बर क्षेत्रमा राजाराम स्याङ्तान (एमाले) विजयी भए । बानियाँले मकवानपुरमा पहिलोपटक कांग्रेसलाई जित दिलाए ।

ठकुरीले माओवादीका शीर्ष नेतृत्व भित्रका नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए । २०७२ सालमा संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभा निर्वाचनमा जिल्लाका दुवै क्षेत्र एमालेले जित्यो । १ नम्बर क्षेत्रमा कृष्णप्रसाद दाहाल र २ नम्बर क्षेत्रमा विरोध खतिवडा पुनः निर्वाचित भए । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा १ नम्बर क्षेत्र राप्रपाका दीपकबहादुर सिंह र २ नम्बर क्षेत्र महेशकुमार बर्तौला (एमाले)ले जिते । यो निर्वाचनमा सिंह र बर्तौला उही निर्वाचन क्षेत्रबाट उम्मेदवार थिए तर, चुनाव रास्वपाले जित्यो ।

यसमा तपाइको मत

Your email address will not be published.


*