हेटौंडामा स्थगित रास्वपाको प्रदेश अधिवेशन काठमाडौंमा हुने
हेटौंडा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको चुनावको मिति पुनः तोकिएको छ । बागमती प्रदेशको प्रथम अधिवेशनअन्तर्गतको स्थगित निर्वाचन प्रक्रिया आगामी जेठ ३० गते बुधबार सञ्चालन हुने भएको हो ।रास्वपाको केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गर्दै निर्वाचनको नयाँ कार्यतालिका र मतदानसम्बन्धी विवरण सार्वजनिक गरेको हो । यसअघि जेठ २७ गते प्राविधिक तथा व्यवस्थापकीय कारणले स्थगित गरिएको निर्वाचन प्रक्रिया अन्तर्गतका सम्पूर्ण प्राविधिक कार्य (मतदाता नामावली प्रमाणीकरण, समायोजन सूची व्यवस्थापन र प्राविधिक परीक्षण) सम्पन्न गरेर आयोगले मतदानको मिति तय गरेको हो । आयोगकाअनुसार मतदान जेठ ३० गते बिहान ११ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म काठमाडौँको धुम्बाराहीस्थित ‘स्मार्ट दरबार’ (शङ्खपार्क) मा हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए ।
उनकाअनुसार निर्वाचनको मतदानप्रक्रिया पूर्णरुपमा विद्युतीय मतदान मेसिनमार्फत गरिने छ । निर्वाचन आयोगले मतदानमा सहभागी हुने प्रतिनिधिका लागि मतदानस्थलमा प्रवेश गर्न र मतदान गर्नका लागि पार्टीले उपलब्ध गराएको आधिकारिक फोटोसहितको परिचयपत्र र लेवी बुझाएको प्रमाण अनिवार्य गरेको छ भने तोकिएको समयभित्रै मतदान केन्द्रमा उपस्थित भई मताधिकार प्रयोग गर्न आग्रह गरिएको छ । विद्युतीय मतदान मेसिन प्रयोग गर्ने तरिकाबारे मतदान स्थलमा स्वयंसेवक र निर्वाचन अधिकृतहरुले जानकारी गराउने व्यवस्था गरिएको छ भने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र शान्तिपूर्ण तथा सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न उम्मेदवार तथा प्रतिनिधिलाई अपिल गरेको छ ।
रास्वपा बागमती प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि गत सोमबार हेटौंडामा अधिवेशन आयोजना गरिएको थियो । सोमबारबाट सुरु अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया प्रारम्भ भएर ५ जनाले मतदान गरेसँगै निर्वाचनको कार्यक्रम रोकिएको थियो । प्रतिनिधि तथा मतदाता नामावली र उम्मेदवारका विषयमा विवाद हुँदा निर्वाचन कार्यक्रम स्थगित भएको हो । रास्वपा बागमती प्रदेश समितिको नेतृत्वको लागि ४ जनाको उम्मेदवारी कायम भएको छ । ५ जनाको उम्मेदवारी परेपनि एकजनाले उम्मेदवारी फिर्ता गरेका थिए । रास्वपा बागमतीको सभापतिका लागि सांसद एवम् निवर्तमान सभापति डा.अच्युतम लामिछाने (नुवाकोट), निवर्तमान प्रवक्ता उत्सव अर्याल (मकवानपुर), कृष्णमान श्रेष्ठ (धादिङ) र हरिबहादुर खत्री (रामेछाप)ले उम्मेदवारी दिएका छन् । सांसद बदन भण्डारीले भने उम्मेदवारी दिएर फिर्ता गरेका थिए । रास्वपा बागमती प्रदेशको सदस्य पदका लागि ८८ जनाको उम्मेदवारी परेको छ । विभिन्न क्लस्टर तथा निर्वाचन क्षेत्रअनुसारका सदस्यका लागि ८८ जनाको उम्मेदवारी परेको हो ।







