हेटौंडा अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा देशकै उत्कृष्ट

साझाकुरा
२०८३ जेष्ठ ३०, शनिबार १३:०४

हेटौंडा- बागमती प्रदेशको राजधानी हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पताल न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्यांकनमा देशकै उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । सेकेण्डरी ‘बी’ लेभलका अस्पतालमध्ये हेटौंडा अस्पतालले ९५ प्रतिशत अंक प्राप्त गर्दै देशकै प्रथम भएको हो ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आयोजित ‘न्यूनतम सेवा मापदण्ड तथा क्लिनिकल अडिट मापन’ मा सेकेण्डरी ‘बी’ लेभलका अस्पतालमध्ये हेटौंडा अस्पतालले ९५ प्रतिशत अंक प्राप्त गरेको अस्पताल व्यवस्थापन समितका सदस्य एवम् प्रवक्ता उत्सव चौलागाईले जानकारी दिए । सुशासन तथा व्यवस्थापन, चिकित्सकीय सेवा र फोहरमैला लगायत वस्तुको व्यवस्थापनअन्तर्गत पर्ने सहयोगी सेवाका आधारमा हरेक वर्ष न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्यांकन गर्ने गरिन्छ ।

यो वर्ष पनि देशभरका अस्पतालमा गरिएको मूल्यांकनमा सेकेण्डरी ‘बी’ लेभलका अस्पतालमध्ये हेटौंडा अस्पतालले सबैभन्दा बढी ९५ प्रतिशत अंक ल्याएको उनले बताए । प्रदेशको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को पछिल्लो प्रतिवेदन अनुसार बागमती प्रदेशका अन्य मुख्य सेकेण्डरी ‘बी’ लेभलका अस्पतालमध्ये भक्तपुर अस्पताल ९३ प्रतिशत अंकसहित दोस्रो र त्रिशूली अस्पताल ८६ प्रतिशत अंकसहित तेस्रो स्थानमा रहेका छन् । यसैगरी धादिङ अस्पतालले ८० प्रतिशत, सिन्धुली अस्पतालले ७५ प्रतिशत र बकुलहर रत्ननगर अस्पतालले ७१ प्रतिशत अंक प्राप्त गरेका छन् ।

कार्यसम्पादन मापनको निर्देशिकाअनुसार ८६ प्रतिशतदेखि १०० प्रतिशत अंक ल्याउने संस्थालाई ‘उच्च गुणस्तरीय सेवा’ प्रदान गर्नेअस्पतालकारुपमा वर्गीकरण गरिन्छ । बागमती प्रदेश सरकारले हेटौंडा अस्पताललाई ३०० बेडमा स्तरोन्नति गरेपश्चात् सेकेण्डरी ‘बी’ समूह अन्तर्गत गरिएको यो दोस्रो मूल्यांकन हो । अस्पतालले सेवाको दायरा फराकिलो बनाउँदै आधुनिक उपकरण, दक्ष जनशक्ति र चुस्त व्यवस्थापनका कारण स्वास्थ्यसेवाको गुणस्तरमा ठूलो फड्को मारेको उनले जानकारी दिए । गुणस्तरीय सेवामा आफूहरु निरन्तर लागिरहेको भन्दै उनलेअस्पतालको सि·ो टिम निरन्तर सेवा सुधारमा लागेकै कारण पनि यो उपलब्धि हासिल गर्न सफल भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*