मकवानपुरका पालिकालाई समपूरक र विशेष अनुदान : १५ नयाँ र ६ क्रमागत योजना

साझाकुरा
२०८३ जेष्ठ ३०, शनिबार १२:५७

हेटौंडा-राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८३÷८४ मा कार्यान्वयन गरिने समपूरक तथा विशेष अनुदान अन्तर्गतका योजना सिफारिस
गरेको छ । आयोगको सिफारिस अनुसार मकवानपुरका अधिकांश स्थानीय तह विभिन्न पूर्वाधार, सडक, खानेपानी, सिँचाइ तथा सामाजिक विकाससम्बन्धी योजनाबाट लाभान्वित हुने भएका छन् । समपूरक अनुदान तर्फ मकवानपुरका १० स्थानीय तहमध्ये ९ वटा पालिकाका लागि १२ वटा योजना सिफारिस भएका छन् ।

तीमध्ये ८ वटा नयाँ र ४ वटा क्रमागत योजना रहेका छन् । हेटौंडा उपमहानगरपालिकाले भने समपूरक अनुदानअन्तर्गत् कुनै योजना प्राप्त गर्न सकेको छैन । सिफारिस भएका योजनामध्ये इन्द्रसरोवर गाउँपालिकाको बागेश्वरी– खोरङ–टेकर–देउराली सडक निर्माणका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । करिब ३ करोड १२ लाख रुपैयाँ लागत अनुमान गरिएको यो योजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

थाहा नगरपालिकाको सरस्वती बजार–बुढीचौर सडकका लागि १ करोड ३ लाख रुपैयाँ सिफारिस गरिएको छ । ३ करोड ८० लाख रुपैयाँ लागतअनुमान गरिएको यो सडक पनि दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको छ । कैलाश गाउँपालिकाले समपूरकतर्फ दुईवटा योजना प्राप्त गरेको छ । फास्टार–सुकुभन्ज्याङ मोटरबाटो स्तरीकरणका लागि १ करोड ८९ लाख रुपैयाँ विनियोजन गरिएको छ । ४ करोड लागत अनुमान गरिएको यो क्रमागत योजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । त्यस्तै लिक्चे–ध्यान्सीटार–नेवारपानी मोटरबाटो निर्माणका लागि ७० लाख रुपैयाँ बजेट सिफारिस भएको छ । ४ करोड लागतअनुमान गरिएको यो नयाँ योजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा जानेछ ।

राक्सिराङ गाउँपालिकाको घोरकोटे–अठारे–कान्सीराङ–धादिङ सडकका लागि १ करोड २९ लाख रुपैयाँ बजेट छुट्याइएको छ । २ करोड लागतअनुमान गरिएको यो क्रमागत योजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यस्तै रतुवा–गिँगु–वडा कार्यालय–ठूलोटोड्के–गैजुराङ सडक स्तरीकरणका लागि ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ । ३ करोड लागतअनुमान रहेको यो नयाँ योजना हो । मनहरी गाउँपालिकाको वडा नम्बर ६ अन्तर्गत लोथर–पाङथली जोड्ने मोटरबाटो निर्माणका लागि २६ लाख रुपैयाँ बजेट सिफारिस भएको छ । २ करोड लागतअनुमान गरिएको यो योजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइनेछ ।

भीमफेदी गाउँपालिकाले पनि दुईवटा समपूरक योजना प्राप्त गरेको छ । महाभीर–फाप्लाङ सडक स्तरोन्नतिका लागि १ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ । ६ करोड ६६ लाख रुपैयाँ लागत अनुमान गरिएको यो क्रमागत योजना हो । त्यसैगरी रानीखोला–धामीडाँडारानीभञ्ज्याङ सडक स्तरोन्नतिका लागि ८५ लाख रुपैयाँ सिफारिस गरिएको छ । ६ करोड ९५ लाख रुपैयाँ लागतअनुमान रहेको यो नयाँ योजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरी–मक्रामन्चुली हुँदै भञ्ज्याङ–मनकामना पुल तथा पिपलबोट–सोल्टीमोड–लामीडाँडा–शिखरकटेरी सडकका लागि ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ । ४ करोड लागत अनुमान गरिएको यो नयाँ योजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य छ ।

बकैया गाउँपालिकाको पाङदुरे हुँदै विजलडाँडा–महेन्द्र राजमार्ग जोड्ने सडक निर्माणका लागि ७० लाख रुपैयाँ सिफारिस गरिएको छ । ७ करोड लागत अनुमान रहेको यो योजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको छ । बागमती गाउँपालिकाको झुरझुरे कबर्डहल निर्माण योजनालाई निरन्तरता दिँदै ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

१ करोड ६५ लाख रुपैयाँ लागत अनुमान गरिएको यो योजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । यसैबीच विशेष अनुदानतर्फ मकवानपुरका भीमफेदी गाउँपालिका र थाहा नगरपालिका बाहेक अन्य ८ स्थानीय तहका लागि योजना सिफारिस गरिएको छ । विशेष अनुदानअन्तर्गत ९ वटा योजना सिफारिस हुँदा ७ वटा नयाँ र २ वटा क्रमागत योजना रहेका छन् ।

इन्द्रसरोवर गाउँपालिकाको राकशखोला, पौवाखोला, घट्टेखोला तथा महालक्ष्मीखोला क्षेत्रमा तटबन्धन निर्माणका लागि १ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । ३ करोड लागतअनुमान रहेको यो नयाँ योजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य छ । कैलाश गाउँपालिकाको चेपाङ तथा अति विपन्न समुदाय लक्षित पोषण सुधार कार्यक्रमका लागि १ करोड रुपैयाँ सिफारिस गरिएको छ । आगामी आर्थिक वर्षमै सञ्चालन सम्पन्न गर्ने गरी योजना बनाइएको छ । राक्सिराङ गाउँपालिकाको चेपाङ बालबालिकाको लागि गुणस्तरीय प्रारम्भिक बालविकास तथा आधारभूत शिक्षा सुधार कार्यक्रमका लागि ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

३ करोड लागतअनुमान गरिएको यो क्रमागत योजना हो । त्यस्तै किशोरी गर्भवती न्यूनीकरण तथा चेपाङ समुदाय लक्षित पोषण सुधार परियोजनाका लागि ४५ लाख रुपैयाँ बजेट सिफारिस गरिएको छ । १ करोड लागतअनुमान गरिएको यो नयाँ योजना हो । मनहरी गाउँपालिकाको डोठे सिद्धकाली सिँचाइ आयोजनाका लागि ९० लाख रुपैयाँ बजेट सिफारिस गरिएको छ । २ करोड लागतअनुमान रहेको यो नयाँ योजना कृषिउत्पादन वृद्धि र सिँचाइ सुविधाको विस्तारमा केन्द्रित रहने जनाइएको छ ।

हेटौंडा उपमहानगरपालिकाले समपूरक अनुदानमा योजना नपाए पनि विशेष अनुदानअन्तर्गत भोर्ले लिफ्ट सिँचाइ आयोजना प्राप्त गरेको छ । ५ करोड रुपैयाँ लागत अनुमान रहेको यस आयोजनाका लागि आगामी आर्थिक वर्षमा १ करोड ६७ लाख रुपैयाँ विनियोजन गरिएको छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित यो योजना अघि बढाइएको हो ।मकवानपुरगढी गाउँ पालिकाको रानीशेरा खानेपानी योजनाका लागि ७५ लाख रुपैयाँ बजेट सिफारिस गरिएको छ । आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको यो नयाँ योजना हो ।

बागमती गाउँपालिकाले विशेष अनुदानतर्फ दुईवटा योजना प्राप्त गरेको छ । गुन्द्रुकखोला खानेपानी आयोजनाका लागि २ करोड २९ लाख रुपैयाँ सिफारिस गरिएको छ । ४ करोड ९९ लाख रुपैयाँ लागतअनुमान गरिएको यो योजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । बागमती गुणस्तरीय शिक्षा तथा विद्यालय सूचना प्रविधि सहयोग परियोजनाको निरन्तरताका लागि ६१ लाख रुपैयाँ विनियोजन गरिएको छ । १ करोड ३५ लाख रुपैयाँ लागत अनुमान गरिएको यो योजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*