जेनजी प्रदर्शन जाँचबुझ प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो
हेटौंडा- जेनजी प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । आयोगका संयोजक गौरीबहादुर कार्कीले प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयनमा नलगे युवाको अर्को आन्दोलन उठ्नसक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन् । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री र मन्त्रीहरुकै अगाडि आफूले प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेको संयोजक कार्कीले बताएका छन् । उनले भने, ‘प्रतिवेदन कार्यान्वयनमा गएन र सार्वजनिक गरिएन भने जेनजी युवाको फेरि अर्को आन्दोलन आउन सक्छ । त्यसकारण त्यो सामना गर्न तयार हुनुहोस् र यो सार्वजनिक गर्नुहोस् भनेर मैले भनिदिएको छु ।’
आयोगले प्रदर्शनका क्रममा २३ र २४ गते भएका घटनाको सुक्ष्म छानबीन गरेको जनाएको छ । २३ गते किशोरहरुको ज्यान जानेगरी भएको घटनामा संलग्न सबैलाई कानूनी कारबाहीको दायरामा ल्याउन सिफारिस गरिएको कार्कीले जानकारी दिएका छन् । दोषीहरुको नाम भने प्रतिवेदन सार्वजनिक भएपछि मात्रै खुल्ने उनले बताए । ‘हाम्रा किशोरहरुको मृत्यु हुनगयो, उनीहरुलाई शहीद बनाउनेलाई कानूनी कारबाही गर भनेर हामीले सिफारिस गरेका छौँ’ कार्कीले भने, ‘त्यो सिफारिसमा गोली हान्ने, हान्न लगाउने र गोलीनरोक्ने सबै परेका छन् । जो–जो जिम्मेवार छन्, सबैलाई कारबाही गर्न भनेका छौँ ।’
प्रतिवेदन बुझाउन ढिलाइ भएको विषयमा सञ्चारमाध्यममा आएका विभिन्न अड्कलबाजीलाई संयोजक कार्कीले खारेज गरे । कसैलाई बचाउन वा चुनावको नतिजा कुरेर प्रतिवेदन बुझाउन ढिला नगरिएको उनले प्रस्ट पारे ।उनले भने, ‘इलेक्सनको रिजल्ट हामीले कुरेको होइन, त्यससँग हामीलाई केही मतलब छैन । कसैलाई कारबाहीबाट बचाउन खोजिएको भन्ने कुरापनि सत्य होइन, जो दोषी देखिएका छन् उनीहरुलाई कारबाहीको सिफारिस गरेका छौँ । अहिले हामीलाई के महशुस भयो भने यदि हाम्रो रिपोर्ट अगाडि नै सकिएको भए त्यसले चुनावलाई नै असर पथ्र्यो कि भन्ने कुरा पनि यहाँ आएको छ ।’देश, जनता र सहिदहरुको पक्षमा काम गरेको भन्दै उनले यस प्रक्रियामा आफूहरुलाई कुनै डर वा अप्ठ्यारो नरहेको र पूर्ण सन्तोषरहेको बताएका छन् । सरकारले जाँचबुझ आयोग ऐनअनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन र दोषीउपर कारबाहीको सिफारिस गर्न आयोग गठन गरेको थियो ।







