महिला दिवसको अवसरमा अन्तरक्रिया
हेटौंडा- ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मकवानपुरमा महिलासँग अन्तरक्रिया भएको छ । आइतबार ‘सबै महिला र बालिकाका लागिः अधिकार, समानता र सशक्तीकरण’ भन्ने नारासहित कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रम सिआनको आयोजना तथा गैसस महासंघ मकवानपुरको समन्वयमा सिआन क्षति न्यूनीकरण परियोजना अन्तर्गत भएको हो । कार्यक्रमलाई रिकभरिङ नेपाल र भिभ हेल्थकेयर पोजिटिभ एक्सनले सहयोग गरेका थिए भने माइती नेपालले सहजीकरण गरेको थियो । गैरसरकारी संस्था महासंघ मकवानपुरकी जिल्ला अध्यक्ष रमिला सापकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–९ की वडासदस्य कमला पौडेल प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा सिआन पुरुष पुनस्र्थापना केन्द्रका सञ्चालक सौजन डिसी, मानवअधिकारकर्मी विनोद ढकाल, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा करिब ५० जना महिलाको सहभागिता रहेको थियो ।
कार्यक्रममा माइती नेपाल मकवानपुरकी कार्यक्रमसंयोजक माया लामाले लै·िकहिंसा तथा घरेलुहिंसा विरुद्धका कानुनी व्यवस्था, लै·िक हिंसाका प्रकार, त्यसका चुनौती र समाधानका उपायबारे प्रस्तुतीकरण दिएकी थिइन् । महिला दिवसकै अवसरमा महिला पुनस्र्थापना केन्द्रमा उपचाररत महिलालाई भाषणकला तालिम प्रदान गरिएको थियो । यसैबीच, हेटौंडा–९ स्थित लाम्सुरेहाइटमा रहेको महिला सिआन पुनस्र्थापना केन्द्रलाई हेटौंडा लेडी जेसीजले सेनिटरी प्याड वितरण गरेको केन्द्रकी सञ्चालक तान्या अग्रवालले जानकारी दिइन् । हाल पुनस्र्थापना केन्द्रमा २३ जना महिला उपचाररत रहेका छन् । करिब दुई वर्षअघि सञ्चालनमा आएको यो केन्द्र मकवानपुर जिल्लाको एकमात्र महिला पुनस्र्थापना केन्द्र भएको बताइएको छ ।







