महिलाअधिकार सुनिश्चित गर्न मुख्यमन्त्री बानियाँको आग्रह
हेटौंडा- बागमती प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले राष्ट्र निर्माण, सुशासन, सामाजिक रुपान्तरण तथा आर्थिक समृद्धिमा महिलाको योगदान अतुलनीय रहेको बताएका छन् ।१ सय १६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आइतबार शुभकामना दिँदै उनले महिलाको शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तीकरण तथा नेतृत्व विकासमा समान र प्रभावकारी सहभागिता सुनिश्चित गर्नुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय नारी दिवसले लै·िक विभेद, हिंसा र असमानताको अन्त्य गर्दै सम्मानजनक, सुरक्षित र समान अवसरयुक्त समाज निर्माणतर्फ अग्रसर हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । साथै समावेशी तथा न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको उनले स्पष्ट पारेका छन् । सबै महिला र बालिकाका लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने राष्ट्रियनारासहित मनाइँदै आएको ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसले समान अधिकार, अवसर र सम्मानका लागि भएका ऐतिहासिक संघर्ष तथा उपलब्धिको स्मरण गराउँदै लै·िक समानता र सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ गर्ने अवसर प्रदान गर्ने विश्वास उनले व्यक्त गरे ।
त्यसैगरी मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महिलाअधिकार, समानता र सशक्तीकरण सुनिश्चित गर्न राज्यका सबै निकाय तथा सरोकारवाला एकजुट भएर काम गर्नुपर्नेमा जोड दिएका छन् । मुख्यमन्त्री बानियाँले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै यतो आग्रह गरेका हुन् । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मी तथा महिला हकअधिकारको संरक्षण र प्रवद्र्धनमा सक्रिय सबैलाई शुभकामना व्यक्त गरे ।सन्देशमा उनले महिलाको आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा भएको योगदान उल्लेख गर्दै महिलाको प्रविधिमा पहुँच विस्तार, सशक्तीकरण अभिवृद्धि तथा लै·िक असमानता र हिंसा अन्त्य गर्न आवश्यक रहेको बताएका छन् ।
यसवर्ष अन्तर्राष्ट्रिय महिला दिवसको अन्तर्राष्ट्रिय नारा ‘अधिकार, न्याय, कार्य, सबै महिला र केटीहरुको लागि’ रहेको उल्लेख गर्दै उनले सबै महिला र बालिकाका लागि अधिकार, न्याय र अवसर सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए ।समाजमा अझैपनि कायम रहेका कुरीति तथा कुप्रथा–जस्तै बोक्सी आरोप, छाउपडी, बालविवाह, दाइजो र तिलकजस्ता अभ्यासले महिला तथा बालिकामाथि हुनेहिंसा अन्त्य गर्न थप प्रभावकारी कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ ।मुख्यमन्त्री बानियाँले शिक्षा, स्वास्थ्य, रोजगारी, निर्णय प्रक्रिया र राजनीतिजस्ता क्षेत्रमा महिलाको समान पहुँच सुनिश्चित गर्दै लै·िक समानतायुक्त समाज निर्माण गर्न सबैको सहकार्य आवश्यक रहेको पनि बताए । साथै, अन्तर्राष्ट्रिय महिला दिवसले महिला अधिकार, समानता र सशक्तीकरणका लागि थप प्रतिबद्ध भएर काम गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरे ।







