संसद भवन निर्माणाधीन, बैठक अनिश्चित

साझाकुरा
२०८२ फाल्गुन २७, बुधबार १०:५३

हेटौंडा- फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचित जनप्रतिनिधि बस्ने निर्माणाधीन संसद भवन सम्पन्न हुने समय अझै निश्चित छैन । संसद् भवनको निर्माणकार्य समयमा सम्पन्न हुन नसकेपछि प्रतिनिधिसभाको बैठक संसद् परिसरमा रहेको बहुउद्देश्यीय हलमा अस्थायीरुपमा सञ्चालन गर्ने तयारी गरिएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार निर्माणाधीन संसद बैठककक्ष तयार हुन समय लाग्ने भएकाले वैकल्पिक व्यवस्था गर्न लागिएको हो । पटकपटक म्याद थप गर्दै निर्माण गरिएको संसद भवन सरकारले चैत १ मा संसद सचिवालयलाई जिम्मा लगाउने तयारी गरेपनि निर्माणमा ढिलाई हुँदा विकल्प खोज्नुपर्ने परिस्थितिमा सचिवालय पुगेको हो ।

सहरी विकास तथा भवन निर्माण विभाग र ठेकेदारबीच छलफल गरी बहुउद्देश्यीय हललाई अस्थायीरुपमा प्रयोग गर्ने र छिटोभन्दा छिटो मुलभवन सम्पन्न गर्ने तयारी भइरहेको सचिवालयले जानकारी दिएको छ । गिरिले बहुउद्देशीय हलमा नै साँसदहरुलाई शपथग्रहण गराउने र संसदको केही बैठक गर्ने तयारी गरिएको छ । यो भवनमा अहिले काम तीब्ररुपमा नै भइरहेको देखिए पनि सम्पन्न हुन भने नसकेको हो । निर्माण चाँडै सक्न आफूहरुले नियमित अनुगमन र निरीक्षण गरिरहेको संसद सचिवालयले जनाएको छ । पूरानो संसद भवनमा भदौ २४ गते युवाले आगजनी गरी ध्वस्त गरिदिएका छन् ।

सरकार गठनका लागि भने नेपालको संविधानको धारा ९३ (१) अनुसार प्रतिनिधिसभाको निर्वाचनको अन्तिमपरिणाम घोषणा भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया औपचारिकरुपमा सुरु हुनेछ । संविधानको धारा ७६ बमोजिम राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ स्थानमा विजय हासिल गरेको छ भने समानुपातिक तर्फ पनि ५० लाखभन्दा बढी मत प्राप्त गरिसकेकोले एकल सरकार हुने निश्चित छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*