‘एजि एक्सप्रेस’को अन्तर्राष्ट्रिय कुरियर सेवा हेटौंडामा सुरु

साझाकुरा
२०८२ फाल्गुन २८, बिहीबार १२:१९

हेटौंडा-अन्तर्राष्ट्रियस्तरको कुरियर सेवाप्रदान गर्ने उद्देश्यसहित एजि एक्सप्रेसले हेटौंडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । हेटौंडा–४ स्थित शीतलमहलचोकमा बुधबारदेखि सेवासुरु भएको यो शाखा कम्पनीको १६ औँ शाखा हो । नयाँ शाखाको उद्घाटन पूर्वसांसद दीपकबहादुर सिंहले गरेका हुन् । कार्यक्रममा उनले मकवानपुरमा उत्पादन हुने सामग्रीलाई गुणस्तर कायम राखेर विदेशसम्म पठाउन सके स्थानीय उद्यमीले राम्रो आम्दानी गर्नसक्ने बताए । उनले कम्पनीको टोलीलाई शाखा विस्तारका लागि बधाई तथा धन्यवाद व्यक्त गरे । कम्पनीका ग्लोबल सिइओ तथा अध्यक्ष तुलसी उप्रेतीका अनुसार एजि एक्सप्रेस हङकङ र चीनबाट सुरु भएको संस्था हो, जसले विभिन्न सहरमा सेवा विस्तार गर्दै आएको छ । कम्पनीको मुख्य कार्यालय काठमाडौंको तिनकुनेमा रहेको छ ।

उप्रेतीले एजि एक्सप्रेस केवल कुरियर कम्पनी मात्र नभई विदेशमा रहेका नेपाली र नेपालमा रहेका परिवारबीच भावनात्मक सम्बन्ध जोड्ने सेतु बन्ने लक्ष्यका साथ सेवाविस्तार गरिएको बताए । कम्पनीका अनुसार हेटौंडा शाखामार्फत मकवानपुर तथा आसपासका क्षेत्रका ग्राहकलाई अन्तर्राष्ट्रिय डेलिभरी सेवा उपलब्ध हुनेछ । यसमार्फत स्थानीय उत्पादन (जस्तै हस्तकला, मसला, लत्ताकपडालगायत सामग्री) विदेशमा रहेका नेपालीसम्म सुरक्षितरुपमा पु¥याइनेछ । विदेशबाट आउने उपहार तथा अन्य सामग्री पनि ग्राहकको घरदैलोमै डेलिभरी गरिने कम्पनीले जनाएको छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–४ का वडाअध्यक्ष नवीन सिग्देलले शाखा विस्तारले युवालाई रोजगारीको अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्दै कम्पनीको पहललाई स्वागत गरे । कम्पनीले सेवा सञ्चालन पूर्णरुपमा कानुनी प्रक्रियाअनुसार हुने र नेपाल सरकारलाई लाग्ने मूल्यअभिवृद्धि कर तथा भन्सार शुल्क तिरेर सेवा प्रदान गरिने जनाएको छ । एजि एक्सप्रेसले हाल करिब १० करोड रुपैयाँ लगानीमा देशभरका महानगरपालिका र उपमहानगरपालिकामा एक सय शाखा विस्तार गर्ने योजना रहेको जानकारी दिएको छ ।

हेटौंडा शाखा कम्पनीको १६ औँ शाखा हो । नयाँ शाखा उद्घाटनको अवसरमा कम्पनीले सम्पूर्ण हेटौंडावासीलाई शुभकामना व्यक्त गर्दै ग्राहकको माया, सुझाव र सहयोगको अपेक्षा गरेको छ । यसअघि पनि हेटौंडामा धेरै कुरियर सर्भिस कम्पनी खुल्ने र केही समय संचालनमा आएर बन्द भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*