सम्पदा र संस्कृति संरक्षणमा लगानी बढाउन पर्यटन मन्त्रीको जोड

साझाकुरा
२०८३ बैशाख ६, आईतवार ०८:४५

हेटौँडा-बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले नयाँ मठमन्दिर निर्माणमा भन्दा विद्यमान सम्पदा र संस्कृतिको संरक्षणमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।शनिबार काठमाडौंमा आयोजित ‘सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धनः समृद्धिको आधार’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।चालु आर्थिक वर्ष २०८२÷८३ को बजेटमा मठमन्दिर निर्माणमा प्राथमिकता दिएको भएपनि मौलिक सम्पदाको संरक्षणमा लगानी न्यून रहेको उनको भनाइ छ । उनले भएका सम्पदाको संरक्षणलाई प्राथमिकता दिन सकेमात्रै सांस्कृतिक धरोहर जोगाउन सकिने बताए । मन्त्री श्रेष्ठले संस्कृति र सम्पदा संरक्षणप्रति नवयुवा पुस्तामा चासो नहुनु चिन्ताको विषय भएको बताएका छन् । उनले सांस्कृतिक पर्व एवम् सम्पदाको महत्वबारे आउने पुस्तालाई बुझाउन आवश्यक रहेको पनि बताए ।

‘अहिले आर्थिक वर्ष २०८२÷८३ को बजेट हेर्दा हामीले धेरै मठमन्दिरहरु बनाइरहेका छौँ । तर, हामीसँग भएका सम्पदाहरुको संरक्षणमा कम लगानी भएको मलाई चाहीँ महशुस भएको छ । हामीले बनाउनेभन्दा पनि भएको कुरालाई संरक्षण गर्न सक्यौँ भने राम्रो हुन्छ ।काठमाडौं उपत्याकाको ठाउँठाउँमा हामीसँग सम्पदा छन् । तर, हामीलाई ती सम्पदाको महत्व बुझिसकेका छैनौँ । अर्को कुरा यी सम्पदाहरुको संरक्षण गर्न सक्छौँ कि सक्दैनौँ भनेर मलाई चाँही एकदमै चिन्ता लागेको छ । हाम्रो पुस्ताले संस्कृति र सम्पदाको संरक्षण गर्न लागि परेका छौँ । तर, पछाडिको पुस्ताले त्यसमा ध्यान दिने हो कि नदिने हो, एकदमै चिन्ताको विषय बनिरहेको छ । अहिले काठमाडौं उपत्यकामा हुने विभिन्न जात्राहरुमा समेत नयाँ पुस्ताको उपस्थिति एकदमै कम देखिन्छ । रथ जात्राहरु हुन्छन् । हामलिे रथ तान्ने कुरामा युवापुस्तालाई प्रेरित गर्न सकेनौँ भने हाम्रो सम्पदा र संस्कृति जोगिन्छ त ?’ मन्त्री श्रेष्ठको प्रश्न थियो ।

उनले काठमाडौं उपत्यकामा सञ्चालन हुने विभिन्न जात्रा तथा रथयात्रामा युवापुस्ताको सहभागिता घट्दै गएको उल्लेख गर्दै यसले सम्पदा संरक्षणमा चुनौती बढ्दै गएकोसमेत बताए । त्यसैगरी, संस्कृति तथा पर्यटन प्रदेश सचिव दिपेन्द्र सुवेदीले नेपालमा प्राकृतिक र सांस्कृतिक सम्पदा रहेको र त्यसको संरक्षणमा सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।सरकारले मात्र सम्पदाको संरक्षण गर्न नसक्ने भन्दै उहाँले आमनागरिकलाई यस अभियानमा लाग्न उनले आग्रह गरे । नेपालमा अथाह प्राकृतिक र सांस्कृतिक सम्पदा भएकाले पर्यटक भिœयाउने आधार बलियो रहेको उनको भनाइ छ । सम्पदाविद् प्राडा. सुदर्शनराज तिवारीले हाँडीगाउँका प्राचीन पोखरी, पँधेरा, पोखरी र मठमन्दिर लोप हुन लागेको बताए । किराँतकालीन पोखरीहरूको अस्तित्व जोगाउन नसकिएको र भएका पोखरीको अस्तित्व पनि फेरिएको उनको भनाइ छ । प्राचीन सम्पदा नेपालीको पहिचान भएकाले त्यसको संरक्षणमा राज्यले लगानी बढाउनुपर्ने उनले सुझाव दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*