सुनचाँदी व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीको पदस्थापना तथा प्रमाणपत्र वितरण
हेटौँडा- मकवानपुर सुनचाँदी व्यवसायी संघको पाँचौँ अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको पदस्थापना तथा प्रमाणपत्र वितरण गरिएको छ । हेटौँडामा आयोजित कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष गोपीलाल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य प्रकाश गहतराजको प्रमुख आतिथ्यता थियो ।कार्यक्रममा प्रमुख अतिथि गहतराजले जिल्लामा सुनचाँदी व्यवसायीहरूले भोगिरहेका समस्यालाई महासंघमार्फत् समाधानका लागि पहल गरिने बताए ।
उनले वर्तमान अवस्थामा सुनको आपूर्ति तथा मूल्यसम्बन्धी समस्या प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै सरकारको कडाइका कारण व्यवसायीहरूले पारदर्शी हिसाबकिताब राख्नुपर्नेमा जोड दिए । नेपाल सुनचाँदी व्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष ज्योतिरत्न बज्राचार्यले अन्तर्राष्ट्रिय द्वन्द्वका कारण सुनको मूल्य निरन्तर बृद्धि भइरहेको बताए । उनले नेपाल सरकारले १० लाख रुपैयाँभन्दा बढी मूल्यका गरगहना तथा हिरा–मोती जडित गहनामा लगाएको २ प्रतिशत विलासिता करबारे व्यापक छलफल आवश्यक रहेको धारणा व्यक्त गरे ।
संघका पूर्व अध्यक्ष केशव रसाइलीले सरकार र व्यवसायी बीचको दूरी घटाउन नवनिर्वाचित कार्यसमितिले सक्रिय भूमिका खेल्नुपर्ने बताए । उनले व्यवसायसँगै सीप विकासका लागि विभिन्न तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिए । संस्थापक अध्यक्ष पूर्ण शाक्यले सरकारी नीतिनियमका कारण व्यवसाय सञ्चालनमा समस्या रहेको उल्लेख गर्दै केन्द्रमार्फत् सरकारसँग संवाद गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा निवर्तमान अध्यक्ष पवनराज शाक्य तथा निवर्तमान सल्लाहकार एवम् निर्वाचन समितिका सदस्य कमल विश्वकर्माले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष राजकुमार रसाइलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
तीन वर्षे कार्यकालका लागि संघको पाँचौँ अधिवेशनबाट गोपीलाल विश्वकर्माको नेतृत्वमा २८ सदस्यीय नयाँ कार्यसमिति चयन भएको थियो । संघको वरिष्ठ उपाध्यक्षमा राजकुमार रसाइली, प्रथम उपाध्यक्षमा विजय विश्वकर्मा, उपाध्यक्षमा प्रेम शाक्य, महासचिवमा राजकुमार विश्वकर्मा, सचिवमा उत्तमराज बज्राचार्य, कोषाध्यक्षमा कमल सिन्चुरी, सहसचिवमा विवेक रसाइली र सहकोषाध्यक्षमा लालुराम दुधराज रहेका छन् । यसैगरी, सदस्यहरूमा शोभालक्ष्मी बज्राचार्य, राजकुमार घिमिरे, महारथ बज्राचार्य, शम्भु गहतराज, रामकृष्ण विश्वकर्मा, विश्वराज शाक्य, राहुल सुनार, भीमप्रसाद विश्वकर्मा, गोपाल सुनार, सर्जल बज्राचार्य, भरत विश्वकर्मा, निश्चल शाक्य, विकास सुनार, प्रकाशबहादुर सुनार, भीमबहादुर विक, जीवन खाती, सौभाग्यदुधराज, विवेक सुनार र शर्मिला खाती छन् ।







