७६ वटा पासपोर्ट घरसम्मै पुगेर वितरण

साझाकुरा
२०८३ बैशाख ६, आईतवार ०८:५३

हेटौँडा- जिल्ला हुलाक कार्यालय मकवानपुरले वैशाख ४ गते शुक्रबारसम्म ७६ वटा राहदानी (पासपोर्ट) सेवाग्राहीको घरमै पुगेर वितरण गरेको छ ।जिल्ला प्रशासन कार्यालय मकवानपुरसँगको समन्वयमा हुलाक कार्यालयले सेवाग्राहीको घरसम्म पुगेर पासपोर्ट वितरण गरेको हो । तर, यो सेवा हेटौंडा बजारमा मात्रै सीमित छ । हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडाभित्र सेवाग्राहीको घरमै पुगेर राहदानी वितरण कार्य थालिएको जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश लामिछानेले जानकारी दिए । ‘सेवाग्राहीले कार्यालयमै आएर पनि पासपोर्ट लिनु भएको छ । हामीले घरमै पनि पु¥याएका छौं’, लामिछानेले भने । हेटौंडा–१६ हटिया र २ नम्बर वडाको बजार क्षेत्रमा रहेका दुई वटा हुलाक काउन्टरबाट ६ जना जनशक्तिले राहदानी वितरणको काम भइरहेको हो ।

जिल्ला हुलाक कार्यालयमा ४ जना र काउन्टरका दुई जना पत्र वितरण कार्यमा खटिएको प्रमुख लामिछानेले बताए । हुलाक कार्यालयले पहिलो चरणमा ५० वटा राहदानी हेटौंडाका विभिन्न वडा(२, ४, ५, ६, १२, १३, १६ र १७) का सेवाग्राहीको घरमा राहदानी पु¥याएको छ ।मकवानपुरका अन्य ९ वटा स्थानीय तहमा भने हुलाकले सेवा सुरु गर्न नसकेको प्रमुख लामिछाने बताउँछन् । उपमहानगर क्षेत्रमा सेवा सहज भएपनि ग्रामीण भेगमा भने भौगोलिक विकटता र सवारी साधनको अभाव मुख्य चुनौतीका रूपमा देखिएको छ ।

थाहा नगरपालिका, बागमती, बकैया, मनहरी, राक्सिराङ, कैलाश, इन्द्रसरोबर, भीमफेदी र मकवानपुरगढी गाउँपालिकामा पालिकास्तरको हुलाक कार्यालय पनि छ । यहाँ एक खरिदार स्तरका कर्मचारी, हुलाकी र हल्कारा गरेर ४ जनाको जनशक्ति रहेको प्रमुख लामिछानेले बताए ।‘हामीसँग साधन पनि छैन । जनशक्ति पनि थोरै भएकाले विकट क्षेत्रको घरसम्मै पुग्न कठिन हुन्छ । जनशक्ति र स्रोतसाधनको व्यवस्थापन भएपछि गाउँसम्म सेवा बिस्तार गर्न सक्षम हुनेछौं’, उनले भने ।

हुलाकले नागरिकता र लाइसेन्सको वितरण कार्य पनि सुचारु गरेको छैन । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार, आगामी दिनमा यो सेवालाई अझ व्यापक बनाइनेछ ।‘अहिले राहदानीबाट सुरु गरेका छौँ, अब छिट्टै नागरिकता, राष्ट्रिय परिचयपत्र र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समेत हुलाक मार्फत् घरमै पु¥याउने हाम्रो तयारी छ’, प्रजिअ अधिकारीले भने । हाल प्रशासनमा थन्किएर रहेका करिब पाँचसय राहदानीलाई पहिलो प्राथमिकतामा राखेर घरघरमा पठाइने उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*