बागमतीका मन्त्रीद्वय देवकोटा र थापाद्वारा निर्माणाधीन मातृशिशु भवन अनुगमन

निर्माण व्यवसायीलाई लिखित प्रतिबद्धता दिन निर्देशन
साझाकुरा
२०८३ बैशाख ६, आईतवार ०८:४९

हेटौँडा- चितवनको रत्ननगर नगरपालिका–२ स्थित बकुलहर रत्ननगर प्रादेशिक अस्पतालको निर्माणाधीन मातृशिशु भवनको काममा ढिलासुस्ती भएपछि बागमती प्रदेशका मन्त्रीहरूले सक्रियता देखाएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा र स्वास्थ्य मन्त्री किरण थापाले अस्पतालको स्थलगत अनुगमन गरी कामको अवस्थाबारे जानकारी लिएका हुन् ।निर्धारित समयसीमा सकिएर पटक–पटक म्याद थप गर्दा पनि भवन निर्माण सम्पन्न नभएपछि मन्त्रीद्वय देवकोटा र थापाले निर्माण पक्ष तथा मन्त्रालयका प्राविधिकहरूसँग ढिलाइ हुनुको कारण सोधपुछ गरे । अनुगमनका क्रममा भौतिक पूर्वाधार विकास मन्त्री डा. देवकोटाले बाँकी समयभित्रै भवन हस्तान्तरण गर्नेगरी निर्माण कम्पनीका मुख्य सञ्चालक (प्रोपाइटर) आफैँ उपस्थित भएर लिखित प्रतिबद्धता जनाउन निर्देशन दिए ।

‘अब कर्मचारीको भर परेर हुँदैन, मुख्य प्रोपाइटरले नै हामीसँग सिधै सम्पर्क गरी काम सक्ने ठोस प्रतिबद्धता दिनुपर्छ,’ मन्त्री देवकोटाले भने, ‘हामी काम तपाईंहरू बाटै सम्पन्न होस् भन्ने चाहन्छौँ, तर प्रगति देखिएन भने अब म्याद थपिने छैन । बरु जरिवाना गर्ने वा कानुनी प्रक्रियामार्फत् अर्को विकल्प खोज्न बाध्य हुनेछौँ ।’अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्माचार्यले भवन अभावकै कारण अस्पतालले धेरै समस्या झेल्नुपरेको बताएका छन् । उनका अनुसार दैनिक करिब १५ सयदेखि १९ सय सेवाग्राही आउने यस अस्पतालमा पूर्वाधार अभावले सेवा विस्तारमा अवरोध पुगेको छ ।
‘हामीसँग डायलासिसका ५ वटा मेसिन छन्, तर ठाउँ नहुँदा ती थन्किएका छन् । सिटी स्क्यान मेसिन आउँदैछ, त्यसलाई राख्ने ठाउँ छैन,’ कर्माचार्यले गुनासो गरे, ‘ओपिडीमा एउटै कोठामा दुई जना डाक्टर बस्नुपर्ने र दुई जनाबिरामीलाई एउटै बेडमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ । एउटा मात्र शल्यक्रिया कक्ष हुँदा चिकित्सकहरूले पालो पर्खिनुपर्छ ।’ नयाँ भवन हस्तान्तरण भएमा २०८३ असारभित्रै बिरामीलाई सहज सेवा दिन सकिने उनको भनाइ छ ।

शहरी विकास तथा भवन कार्यालयका महाशाखा प्रमुख भूपेन्द्र यादवका अनुसार दुई कठ्ठा क्षेत्रफलमा निर्माणाधिन तीनतले भवनको करिब ७० प्रतिशत भौतिक प्रगति भएको छ । भवनको मुख्य संरचना (सिभिल) को काम सम्पन्न भएपनि फिनिसिङ, एचभीएसी, स्यानिटरी र विद्युतीय जडानका कामहरू बाँकी छन् ।दुई पटकसम्म थप भइसकेकाले अब पुनः म्याद नथप्ने पक्षमा कार्यालय छ । महाशाखा प्रमुख यादवले भने, ‘२०७८ चैत २३ मा सम्झौता भई २०८० सालमै सम्पन्न हुनुपर्ने यो आयोजनाको म्याद दुईपटक थपिसकिएको छ । अब म्याद थप गर्ने सुविधा छैन, त्यसैले २०८३ जेठ २९ गतेसम्म काम सक्न निर्माण व्यवसायीलाई कडा दबाब दिनेछौँ ।’

यता निर्माण कम्पनी ‘आशिष योगेश्वर गृह जेभी’ का प्रतिनिधि बिराट गोलले प्रशासनिक र प्राविधिक जटिलताका कारण ढिलाइ भएको दाबी गरेका छन् । सम्झौता भएको लामो समयपछि मात्र कार्यसम्पादन आदेश पाउनु, साइट क्लियर गर्न ढिला हुनु र आयोजना स्थानीय तहबाट प्रदेश सरकारमा हस्तान्तरण हुँदा केही अलमल भएको उनको तर्क छ । ‘अन्तर्राष्ट्रिय बजारबाट आउनुपर्ने सामानहरू केही दिनमै आइपुग्छन्, हामी तोकिएको समयमै काम सक्छौँ,’ उनले प्रतिबद्धता गरे ।२०२४ सालमा स्वास्थ्य चौकीका रूपमा स्थापना भएको यो अस्पताल २०७७ मा प्रदेश सरकार मातहत ५० शैयाको अस्पतालमा स्तरोन्नति भएको थियो ।

२०७३ फागुनदेखि विशेषज्ञ प्रसुति सेवा सुरु गरेको यस अस्पतालले २०७४ मंसिर २० गते पहिलोपटक शल्यक्रियामार्फत् सफल सुत्केरी सेवा प्रदान गरेको थियो । करिब १४ करोड ५८ लाख रुपैयाँको लागत अनुमान गरिएको यस मातृशिशु भवन निर्माणका लागि नौ करोड ५८ लाखमा ठेक्का सम्झौता भएकोथियो । यो भवन सञ्चालनमा आएपछि भरतपुर अस्पतालमा हुने सुत्केरीको चाप कम हुने र स्थानीयले सहजै विशेषज्ञ सेवा पाउने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*