मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका शैक्षिक कार्यक्रमलाई व्यवस्थित बनाइँदै
हेटौंडा- मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका शैक्षिक कार्यक्रमलाई व्यवस्थित र स्थायी संरचनाबाट सञ्चालन गर्ने उद्देश्यले हेटौंडामा प्रिफ्याब भवन निर्माणको काम औपचारिकरुपमा सुरु गरिएको छ ।हेटौंडा–१० टिसियन क्षेत्रमा निर्माण हुन लागेको भवनको ठेक्का सम्झौता भएपछि बिहीबारदेखि निर्माणकार्य अघि बढाइएको हो । भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले संयुक्तरुपमा शिलान्यास गरेका हुन् । प्रतिष्ठानको शैक्षिक गतिविधि सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार तयार पार्ने उद्देश्यले निर्माण थालिएको यस भवनको कुल लागत ८ करोड ६१ लाख १७ हजार ९ सय १ रुपैयाँ रहेको प्रतिष्ठानका रजिष्ट्रार भीमसागर गुरागाइँले जानकारी दिएका छन् ।
गुरागाईंकाअनुसार आगामी असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित बिजी साबिरा चन्द्रायण जेभी काठमाडौँसँग सम्झौता गरिएको हो । नयाँ भवननिर्माण भएसँगै प्रतिष्ठानका शैक्षिक कार्यक्रम आफ्नै पूर्वाधारबाट सञ्चालन गर्न सकिने रजिष्टार गुरागाईले बताए । त्यसैगरी निर्माण कम्पनी चन्द्रायण जेभीका प्रोपाइटर राजकुमार अधिकारीले तोकिएको समयभित्र भवनको निर्माण सम्पन्न गरिसक्ने प्रतिबद्धता व्यक्त गरे । अनेपक्षित घटना बाहेक सामान्य अवस्थामा ४ महिनाभित्र कार्य सम्पन्न गरेर हस्तान्तरण गर्ने आपूmहरुको लक्ष्य रहेको उनले बताए । यद्यपि, अन्र्तराष्ट्रियस्तरमा भएको द्वन्द्वको कारण हुने मूल्यबृद्धि चुनौतीको रुपमा रहेको प्रोपाइटर अधिकारीले उल्लेख गरे ।
मुख्यमन्त्री बानियाँले प्रतिष्ठानका शैक्षिक कार्यक्रमलाई एउटै स्थानबाट व्यवस्थित ढंगले सञ्चालन गर्न भवन निर्माण गर्न लागिएको बताएका छन् । तोकिएकै समयमा काम सक्न र सरकारबाट बोनस समेत लिनका लागि निर्माण कम्पनीलाई उनले आग्रह गरे । मुख्यमन्त्री बानियाँले निर्माणकार्यको लागि आवश्यक सामग्रीको मौज्दात राख्न पनि निर्देशन दिए । कुनैपनि बहानामा निर्माणकार्यमा ढिलासुस्ती हुन नदिन पनि उनले निर्माण कम्पनीलाई सचेत गराए । कार्यक्रममा बागमती प्रदेशका पूर्बमुख्यमन्त्री पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेशचन्द्र देवकोटा, स्वास्थ्यमन्त्री किरण थापा, बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, प्रतिष्ठानका उपकुलपति डाक्टर प्रदीप ज्ञवालीलगायतको आतिथ्यता रहेको थियो ।
निर्माण हुने भवन आधुनिक संरचनासहित तयार पारिने योजना रहेको छ । भवनमा कक्षाकोठा, प्रशासनिक कक्ष, प्रयोगशालालगायत आवश्यक पूर्वाधार समावेश गरिने जनाइएको छ । प्राविधिकरुपमा तयार पारिने यस संरचनाले स्वास्थ्य शिक्षासँग सम्बन्धित विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्न सहज वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ । हाल प्रतिष्ठानले शैक्षिक कार्यक्रम सञ्चालन गर्न भाडामा लिइएका कोठा प्रयोग गर्नुपरेको अवस्था छ । स्थायी भवनको अभावका कारण शैक्षिक गतिविधि सञ्चालनमा केही असहजता रहँदै आएको थियो । तर, नयाँ भवन निर्माण भएसँगै प्रतिष्ठानका शैक्षिक कार्यक्रम आफ्फ्नै पूर्वाधारबाट सञ्चालन गर्न सकिने अवस्था सिर्जना हुने बताइएको छ ।
प्रतिष्ठानले पछिल्ला वर्षमा स्वास्थ्यक्षेत्रसँग सम्बन्धित विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको प्रतिष्ठानलाई प्रदेशस्तरको प्रमुख स्वास्थ्य शैक्षिक संस्थाकारुपमा विकास गर्ने योजना बागमती प्रदेश सरकारले अघि सारेको छ । भवन निर्माण सम्पन्न भएपछि प्रतिष्ठानका कक्षा सञ्चालन, तालिम कार्यक्रम, शैक्षिक व्यवस्थापन तथा प्रशासनिक कामकाज एकीकृत रुपमा सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ ।







