राष्ट्रसेवकका रुपमा सधैं जिम्मेवार भएर उभिन आग्रह
हेटौंडा- प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीले आफ्नो कार्यअवधि पूरा गरेका छन् । निर्वाचनसुरक्षामा खटिन मकवानपुरमा नेपाल प्रहरीतर्फबाट १ हजार ९ सय २३ जना निर्वाचन प्रहरी ४० दिनका लागि भर्ना गरिएको थियो । राज्यले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै उनीहरु बिहीबारबाट बिदा भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा हेटौंडा–४ स्थित हुप्रचौरमा बिदाइ कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, मकवानपुरका प्रहरी प्रमुख श्यामबहादुर खत्री तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारुमगरलगायतको उपस्थितिमा निर्वाचन प्रहरीलाई प्रमाणपत्रसहित बिदाइ गरिएको हो ।
कार्यक्रममा प्रजिअ अधिकारीले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गराउन निर्वाचन प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । निर्वाचन प्रहरीको जिम्मेवारीबाट बिदा भएपनि बिना बर्दी पनि राष्ट्रसेवककारुपमा सधैं जिम्मेवार भएर उभिन उनले आग्रह गरे । प्रजिअ अधिकारीले ४० दिनको अवधिमा सिकेका अनुशासन, जिम्मेवारी र सेवाभावलाई व्यक्तिगत जीवन, परिवार तथा समाजमा समेत लागू गर्न आग्रह गरेका छन् । जिल्ला सुरक्षा समितिलाई कुनै कारणवश थप जनशक्ति आवश्यक परे नेपाल सरकारले निर्णय गरेपछि पहिलो प्राथमिकतामा पुनः खटाइने जनशक्ति निर्वाचन प्रहरी नै हुने उनको भनाइ थियो ।
नागरिककारुपमा रहँदा मस्तिष्कमा समझदारी, हृदयमा इमान्दारी र काँधमा जिम्मेवारी सधैं बोकेर अघि बढ्न पनि उनले आग्रह गरे । यसैबीच निर्वाचनमा खटिएका निर्वाचन प्रहरीले आफूले पाएको जिम्मेवारीलाई राज्यको सेवा गर्ने अवसरकारुपमा लिएको बताएका छन् । निर्वाचन प्रहरी दण्डदिने निकायभन्दा पनि नागरिकलाई जिम्मेवार बनाउँदै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने टोली भएको उनीहरुको भनाइ थियो । तालिममा सिकेका ज्ञान र सीपलाई आफूहरुले कर्मक्षेत्रमा कुशलतापूर्वक प्रयोग गरेको उनीहरुले बताएका छन् । आफूहरुले पाउनुपर्ने सेवासुविधा समयमै उपलब्ध हुनुपर्ने माग पनि गरेका छन् । निर्वाचन सुरक्षाकै क्रममा मकवानपुरमा एकजना निर्वाचन प्रहरीको दुर्घटनामा परी मृत्यु भएको थियो । हेटौंडा–८ कर्रा पुलनजिकै सुरक्षामा खटिएका रौतहटको विजयपुर नगरपालिका–७ का पवन साहलाई फागुन १८ गते योद्धा पिकअप गाडीले ठक्कर दिँदा मृत्यु भएको थियो । मकवानपुरका प्रहरीप्रमुख खत्रीले मृतक साहका परिवारलाई कानूनबमोजिम उपलब्ध हुने क्षतिपूर्ति प्रदान गरिने बताएका छन् ।







